• ७ कात्तिक २०८१, बुधबार

मेलम्ची आयोजनाको हेडवर्क्स सारेपछि मात्रै काठमाडौँमा बाह्रै महिना पानी आउने

blog

काठमाडौँ, असार २६ गते । मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स सारेपछि मात्रै काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानीको हेडवर्क्स सारेपछि मात्रै काठमाडौँमा बाह्रै महिना पानी आउन सक्ने बताउनुभएको हो ।

२०७८ साल असार १ गतेको प्राकृतिक विपद्का कारण मेलम्चीको खानेपानी आयोजनाको हेडवर्क्स क्षति गरेको थियो । त्यसयता हेडवर्क्सको मर्मतसम्भारको काम भइरहेको छ । वर्षातको समयमा पानी पठाउँदा थप क्षति हुनसक्ने भन्दै गत असार १० गतेदेखि मेलम्चीको पानी काठमाडौँ ल्याउन बन्द गरिएको छ ।

बैठकमा बोल्नुहुँदै सचिव आचार्यले काठमाडौँमा दीर्घकालसम्म पानी खुवाउनका लागि हेडवर्क्स सार्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले साबिककै हेडवर्क्सबाट वर्षातको समयमा पानी खुवाउन नसकिने स्पष्ट पार्नुभयो । उहाँले एडिबीले मेलम्ची खानेपानी आयोजनाका लागि दुई अर्ब रुपियाँ अनुदान दिन लागेको जानकारी पनि दिनुभयो ।

‘‘मेलम्चीको कुल लागत ६६/६७ अर्बभन्दा बढी छैन अहिलेसम्म । एडिबिले दिएको हो ऋण । जसले यो ऋण दिएको हो उपनि उत्तिकै चिन्तित छ नि । आफूले दिएको ऋण सबै खेर गयो भने भनेर ऊ पनि चिन्तित छ नि त । उसले पनि अध्ययन गराएकै हो । ०५६ सालदेखि ५९ सालसम्म । अहिले पनि मेलम्चीका लागि एडिबिले अध्ययन गराइरहेको छ । अहिले त्यहाँको हेडवर्क्स  नसारीकन काठमाडौँमा बाह्रै महिना पानीको आपूर्ति गर्न सकिँदैन ।,’’ सचिव आचार्यले भन्नुभयो, ‘‘क्यानेडियन कल्सल्टेन्टको रिर्पोटमा, पुल्चोक क्याम्पसको इन्जिनियरिङ अध्ययन संस्थानका सबै विधाका गुरुहरूले रिभ्यु गरेर दीर्घकालसम्म पानी खुवाउने हो भने मेलम्चीको हेडवर्क्स सार्नैपर्छ भन्नुभएको छ । एडिबिले पनि झण्डै दुई अर्ब रुपियाँ अनुदान दिने भएको छ । मेलम्चीको पानी ६/७ महिना खुवाइरहेका छौँ । विपद्को तीन महिना नसकेको हो ।’’

त्यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स कडा चट्टान भएको स्थानमा सार्नुपर्ने बताउनुभयो । उहाँले हेडवर्क्स सार्नका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराउनुभयो । उहाँले मेलम्चीबाट कुनै प्रशोधनबिना पानी काठमाडौँ पठाइरहेको अवस्थामा वर्षातको समयमा पानी पठाउँदा टनेलमा ग्रेगर र माटो जमेर क्षति हुनसक्ने भएकाले वर्षात्को समयमा पानी नपठाइएको बताउनुभयो । उहाँले बाढी घटनासाथ भदौबाट मेलम्चीको पानी काठमाडौँ पठाइने बताउनुभयो ।

‘‘अहिलेको हेडवर्क्स प्रयोग गर्न सक्ने अवस्था नभएका कारणले गर्दा हेडवर्क्सलाई रिलोकेट गर्नका लागि अहिले भएको भन्दा माथिल्लो क्षेत्रको करिब ८०० देखि १००० मिटरको दुवैपटी जहाँ हार्डरक छ, त्यस्तो उपयुक्त स्थानमा हेडवर्क्स सार्ने भनेर मन्त्रिपरिषदबाट पनि सैद्धान्तिक सहमति प्राप्त भइसकेको अवस्था छ । अहिले हामीले काठमाडौँमा पानी हेडवर्क्सको निर्माणका लागि नदीलाई फर्काएर तल हेडवर्क्सको काम गर्न बनाएको अल्टरनेट डाइभर्सन टनेल थियो त्यो टनेलमा १६ सय एमएमको पाइप जोडेर अस्थायी रूपमा पानी पठाइरहेका छौँ ।,’’ प्रमुख लामिछानेले भन्नुभयो, ‘‘ वर्षातको बेलामा हामीले पानी पठाउन किन सक्दैनौँ भने डाइरेक्टर हामीले नदीबाट टनेलमा पानी हाल्नुपर्ने अवस्था छ । माथिबाट आएको ग्रेगर, माटो सबै टनेलमा जान्छ । त्यसरी पानी हाल्दा लेदो सबै काठमाडौँ नआईकन बिचमा जम्मा हुन्छ । त्यसकारण वर्षाको बेलामा हामी पूर्णरुपमा पानी बन्द गर्छौ । बाढी घट्ने बित्तिकै भदौको केही समय पछाडि पानी काठमाडौँमा पठाउन सक्ने अवस्था छ ।’’

त्यस्तै बैठकमा बोल्नुहुँदै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले भूमिगत र सतह स्रोतबाट १० करोड लिटर पानी सङ्कलन गरेर ६ देखि १२ दिनको अन्तरालमा काठमाडौँ उपत्यकामा पानी वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘भूमिगत स्रोतबाट चार करोड लिटर पानी सतह स्रोतबाट ६ करोड लिटर बराबर गरी १० करोड लिटर पानी सङ्कलन गरेर ६ देखि १२ दिनको अन्तरालमा पानी वितरण गर्दै आएको अवस्था छ ।’’

उहाँले वर्षातको समयमा स्थानीय स्रोतहरूबाट समेत पानी धमिलो आउने हुनाले पानी वितरणलाई निरन्तरता दिन नसकेको बताउनुभयो ।