• ७ कात्तिक २०८१, बुधबार

वन क्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको हाइटेक नर्सरी निर्माण

blog

बाँकेको ढकेरीमा निर्माण गरिएको हाइटेक नर्सरी । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असार २६ गते । 
बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मा गरिएको वन क्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको नर्सरी निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालय बाँकेले करिब एक हेक्टरमा रहेको वन अतिक्रमण हटाएर उच्च गुणस्तरीय बिरुवा उत्पादनका लागि हाइटेक नर्सरी निर्माण गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले बताउनुभयो ।

उहाँले राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर सो हाइटेक नर्सरी निर्माण गरिएको जनाउनुभयो ।

सो नर्सरी एकीकृत भूपरिधि परियोजनाको ३५ लाख रुपियाँको बजेट लगानीमा तयार गरिएको हो । अहिले निर्माण भएको नर्सरीमा अझै दुई–तीन तह स्तरवृद्धि गरेर पूर्ण हाइटेक नर्सरी बनाउने योजना रहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

ढकेरी हाइटेक नर्सरीलाई लक्षित गरी यो वर्ष शम्शेरगञ्जमा १६ हजार बिरुवा उत्पादन गरिएको छ । आगामी भदौमा ती बिरुवालाई शम्शेरगञ्जबाट ढकेरी हाइटेक नर्सरीमा सारिने र अर्को वर्षदेखि उक्त नर्सरीमै बिरुवा उत्पादन गरिने शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सुशील सुवेदीले बताउनुभयो ।

“गाउँपालिका, वडा कार्यालयलगायतको सहयोगमा अतिक्रमण हटाएर हाइटेक नर्सरी निर्माण गर्न सफल भएका छाैँ”, उहाँले थप्नुभयो, “हाइटेक नर्सरीको टर्मिनेशन च्याम्बरमा बहुवर्षीय ठुला जातका बिरुवा आठ हजार र साना जातको बिरुवा २० हजार हुन्छन्, बाहिर सामान्य नर्सरीमा ५० हजार बिरुवा उत्पादन गर्ने क्षमता रहेको छ ।”

हाइटेक नर्सरी निर्माणकार्यले वनक्षेत्र संरक्षण र बिरुवा उत्पादनको दोहोरो फाइदा भएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा पनि हाइटेक नर्सरीको संरचना निर्माण भएको छ । आगामी वर्षदेखि ढकेरी र नरैनापुर हाइटेक नर्सरीबाटै बिरुवा उत्पादनको काम हुनेछ ।

चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनेका २७ घरटहरा हटाएर १३ जनामाथि मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

अन्य स्थानको वनक्षेत्रमा विगतमा भएको अतिक्रमण हटाउने र नयाँ अतिक्रमण हुन नदिने योजनाका साथ काम भइरहेको सो कार्यालयले जनाएको छ ।