• ७ कात्तिक २०८१, बुधबार

मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याउने सुझाव पेश गर्न निर्देशन

blog

काठमाडौँ, असार २६ गते । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मूलभूत समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समितिसमक्ष पेश गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले बैठकमा खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीसँग काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवम् सहज आपूर्तिका लागि देखिएका समस्या चुनौतीलगायतका विषयमा छलफल भएको थियो । सोही छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

त्यस्तै समितिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी निर्वाध आपूर्तिका लागि उक्त निकुञ्जसम्बन्धी नियमावलीको अनुसूचीमा उल्लेखित रोयल्टी लगायतका आवश्यक विषयमा तत्काल आवश्यक संशोधन गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी खानेपानी आपूर्तिका लागि ईआईएसम्बन्धी प्रक्रिया टुङ्ग्याई सहजीकरण गरिदिन पनि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

‘‘काठमाडौँ उपत्यकामा स्वच्छ खानेपानी व्यवस्थापन गर्न स्थानीय सहायक स्रोतको रुपमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी निर्बाध आपूर्तिका लागि उक्त निकुञ्जसम्बन्धी नियमावलीको अनुसूचीमा उल्लेखित रोयल्टीलगायतका आवश्यक विषयमा तत्काल आवश्यक संशोधन गरी गर्न र ईआईएसम्बन्धी प्रक्रिया टुङ्ग्याई सहजीकरण गरिदिन वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउने ।,’’ बैठकको निर्णयबारे जानकारी दिनुहुँदै विकास, आर्थिक मामिला तथा सुशासन समितिका उपसचिव लक्ष्मण अर्यालले भन्नुभयो, ‘‘मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मूलभूत समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समिति समक्ष प्रस्तुत गर्न खानेपानी मन्त्रालयको ध्यानाकर्षण गराउने ।’’

समितिले उपयुक्त समयमा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ ।