• ७ कात्तिक २०८१, बुधबार

पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला घोषणा

blog

कार्यक्रममा प्रमाणपत्र प्रदान गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, असार २६ गते । पाल्पालाई ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दश वटै स्थानीय तहका १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लक्ष्यअनुसार खोप लगाएपछि पाल्पालाई पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो । 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (वसन्त)ले खोप समन्वय समितिका संयोजक टंकनाथ खनाललाई पूर्ण खोप जिल्ला घोषित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । दश स्थानीय तहका ८१ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिनामुनिका तीन हजार ३०८ जना बालबालिका र १६ महिना देखि पाँच वर्षमुनिका १० हजार ५६० जना बालबालिकालाई खोप लगाइएको छ । तीमध्ये ६ जना बालबालिका ड्रप आउट भएकाले पनि पूर्ण खोप पाएको सुनिश्चित गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले बताउनुभयो । 

सरकारले तोकेको सूचकाङ्क पूरा गरेपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो । पाल्पालाई तीन वर्षयता लगातार पूर्ण खोपयुक्त जिल्लाको रुपमा स्थापित गरिएको डा. गिरीले बताउनुभयो । 

कार्यक्रममा सभामुख घर्तीमगरले घोषणा गर्नु ठूलो कुरा नभई त्यसलाई दिगो बनाइराख्नु महत्वपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्र संवेदनशील विषय भए पनि तीनै तहका सरकारको प्राथमिकतामा नपरेको उहाँले बताउनुभयो । सभामुख घर्तीमगरले लुम्बिनी प्रदेश सरकारले अहिले पनि भौतिक पूर्वाधार मन्त्रालयमा १२ अर्ब बजेट विनियोजन गरे पनि शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा दुई अर्ब मात्र बजेट लगानी गरेकोमा दुःख व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर रानाले घोषणा गर्नुलाई अभियानका रुपमा लिनुपर्ने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य खेमबहादुर सारुले शिक्षा र स्वास्थ्य एक अर्कोका परिपूरक भएकाले यी दुवै सुनिश्चितता नहुँदा बसाइँसराइ बढ्दो रहेकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।