• १० मंसिर २०८१, सोमबार

प्रेमको प्रतीक यार्तुङ मेला सुरु

blog

यदुप्रसाद भट्ट

मनाङ, असार २६ गते । मनाङमा यार्तुङ मेला सुरु भएको छ । जम्मा सात टिमले भाग लिएको तारा हान्ने खेललाई ग्राण्ड यार्तुङ २०८१ नाम दिइएको छ । यसलाई यार्तुङ मेलाको नामले पनि चिनिन्छ।

मेलाको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले र संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विनोद गुरुङबाट उद्घाटन गरी सुरु गरिएको हो । तारा हान्ने खेलमा जनप्रिय युवा क्लब मुक्तिनाथ मुस्ताङबाट ए र बी गरी दुई टिम, मनाङ ङिस्याङ गाउँपालिकाको तिलिचो युवा क्लब, खाङसार युवा क्लब, ङिस्याङ युवा क्लब मनाङ, भ्राका युवा क्लब, पिसाङ युवा क्लब गरी जम्मा साता टिमले भाग लिएका छन् । 

टंकी मनाङ, मनाङ समाज र ङिस्याङ युवा क्लबको संयुक्त आयोजनामा संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङ, टंकी मनाङ र पर्यटन व्यवस्थापन उपसमिति मनाङको संयुक्त सहयोगमा ग्राण्ड यार्तुङको आयोजना गरिएको हो । यार्तुङलाई घोडेजात्रा पनि भनिन्छ । यस पर्वमा मनाङीहरू घोडा कुदाएर मनोरञ्जन लिने दिने गर्छन् । पर्यटकीय क्षेत्र भएकाले मनाङमा यार्तुङको विशेष महत्व र रौनक हुन्छ । यो मनाङीहरूको मुख्य पर्वमध्ये एक भएकाले विशेष गरी युवाहरू परम्परागत भेषभूषामा सजिएर एक ठाउँमा जम्मा हुन्छन्, परम्परागत बाजागाजा र मौलिक गीत गाउँदै गाउँ परिक्रमा गर्ने चलन छ । यसबीचमा यार्तुङ पर्वको शुभकामना आदानप्रदान गर्ने तथा घोडा कुदाएर मनोरञ्जन लिने गरिन्छ।


पुरुषहरू घोडा कुदाएर फर्कंदा महिलाहरू सगुन, खादा लिएर उनीहरूको स्वागतमा तम्तयार भएर बसेका हुन्छन् । घोडा कुदाउने काम सकिएपछि सबै भेला भएर सगुन खाएर नाचगान गरी रमाइलो गर्ने चलन छ । केही वर्ष अघिसम्म मनाङमा घोडा नै यातायातको साधन थियो । सडक सञ्जालसँग नजोडिँदा एक ठाउँबाट अर्काे ठाउँ जान मनाङीहरू घोडा नै प्रयोग गर्थे । अझै पनि मनाङमा घोडाको प्रयोगमा भने कमी छैन । यातायातमा घोडाको प्रयोग बढी हुने र सुखदुःखमा घोडाको साथ हुने हुनाले मनाङीहरू घोडालाई निकै प्रेम गर्छन् । यार्तुङ पर्व त्यही प्रेमको प्रतीक पनि हो ।


यार्तुङ कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि मनाङीहरू परम्परादेखि नै यो पर्व मनाउने गरिएको बताउँछन् । कतिपयलाई किन मनाइन्छ भन्ने पनि थाहा छैन । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्नुहुन्छ, "किन मनाइन्छ भन्ने त थाहा छैन, परम्परादेखि मनाउने चलन हो । परम्परा मर्न नदिन हामीले पनि मनाउँदै आएका छौं ।"

यार्तुङ मनाङीहरूको धार्मिक, सामाजिक र सांस्कृतिक धरोहर हो । वर्षायाम सकिन लाग्दा मनाइने भएकाले यस पर्वमा खेतीपाती, बालीनाली राम्रो होस् र रोगव्याधि नलागोस् भन्ने कामनाका साथ यो पर्व मनाइने मनाङ ङिस्याङका पर्यटन व्यवसायी तथा समाजसेवी विनोद गुरुङ बताउनुहुन्छ ।


मनाङका विभिन्न भागमा छुट्टाछुट्टै रूपमा यार्तुङ मनाउने गरिन्छ । पछिल्लो समय तल्लो मनाङमा यार्तुङ हराउन थाले पनि माथिल्लो मनाङमा भने यो पर्व जीवितै छ । माथिल्लो मनाङका टंकी, खाङसार, घ्यारू, ङावल, हुम्डे, भ्राका, पिसाङलगायतका स्थानमा हर्षाेल्लासका साथ यो पर्व मनाइन्छ ।