अर्जुन काफ्ले
स्याङ्जा, असार २६ गते । मनसुन सुरु भएसँगै स्याङ्जामा नौ जनाले ज्यान गुमाएका छन् भने सात जना बाढी पहिरोले घाइते भएका छन् । तीन घर पूर्णरूपमा क्षति भएको छ भने ११२ घर पहिरोको जोखिम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
त्यस्तै ११ गोठ पूर्णरूपमा क्षति हुँदा ३७ पशुचौपाया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ चौपाया घाइते भएका छन् भने २७ गोठ पहिरोको जोखिममा छन् ।
११ पालिका रहेको जिल्लामा पुतली बजारमा दुई जनाले ज्यान गुमाएका थिए भने ६÷६ घर र गोठ जोखिममा रहेका छन् भने दुई घरमा सामान्य क्षति पुगेको छ ।
त्यस्तै बिरुवा गाउँपालिकामा तीन जनाले ज्यान गुमाएका छन् भने पाँच जना मानिस घाइते भएका छन् । दुई घर पूर्णरूपमा क्षति भएको थियो भने एक घर जोखिममा छ ।
त्यस्तै गल्याङमा २४ घर र एक गोठ जोखिममा छन् भने ३ चौपाया मरेका छन् । त्यस्तै वालिङमा विपदबाट एक जना घाइते हुनुका साथै सात घर र छ गोठ जोखिम रहेको प्रहरीले जनाएको छ ।
वालिङमा चार चौपाया मरेका छन् भने तीन चौपाया घाइते भएका छन् । त्यस्तै भीरकोटमा एक जनाले ज्यान गुमाएका थिए भने एक घर पूर्ण क्षति हुँदा ३२ घर र ६ गोठ जोखिम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भीरकोटमा एक गोठ पूर्ण क्षति भएको थियो भने २० चौपाया मर्नुका साथै एक घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै आँधीखोला गाउँपालिकामा एक जना मानिसले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका छन् ।
आँधीखोलामा दुई गोठ पूर्णरूपमा क्षति हुँदा दुई चौपाया मरेका थिए भने एउटा चौपाया घाइते भएका छन् । त्यस्तै १९ घरमा सामान्य क्षति भएको छ भने एक गोठ जोखिममा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै फेदीखोलामा दुई मानिसले ज्यान गुमाएका थिए भने एक घर जोखिममा छ । कालीगण्डकीमा ६ घर र दुई गोठ जोखिममा छन् । त्यस्तै हरिनासमा दुई गोठमा क्षति हुँदा ३ चौपाया मरेका छन् भने दुई घर जोखिममा छन् ।
त्यस्तै अर्जुनचौपारीमा एक गोठमा पूर्ण रूपमा क्षति हुँदा पाँच चौपाया मरेका छन् भने ७ चौपाया घाइते भएका छन् । त्यस्तै ३३ घर र छ गोठ पहिरोको जोखिममा छन् ।
समाज भवन, स्वास्थ्य केन्द्र भवन र सवारी साधन गरी ११ वटामा क्षति भएको प्रहरीले जनाएको छ ।