• ७ कात्तिक २०८१, बुधबार

देशका समस्या सम्बोधन गर्न कांग्रेस-एमाले एक भयौँ : सांसद महत

blog

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महत

काठमाडौँ, असार २५ गते । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि कांग्रेस र नेकपा (एमाले) एक भएको बताउनुभएको छ । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस एमाले मिल्नुपरेको बताउनुभयो । उहाँले वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको जिकिर गर्नुभयो ।

सांसद महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताउनुभयो । उहाँले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएका बताउनुभयो ।

‘‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठुला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ । बाँकी समयलाई स्थिरतातर्फ लैजान, संविधानमा रहेका समस्या, खासगरी निर्वाचन पद्धति, समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न सकिन्छ ।,’’ सांसद महतले भन्नुभयो, ‘‘त्यसले अस्थिरताका बिन्दुलाई कम गर्न सकिन्छ भनेर हामी एक ठाउँमा आएका हाैँ । हाम्रो देशमा सबैलाई जिम्मेवारी दिऊँ भन्ने मानसिकता छ । यद्यपि त्यसमा अनुभव र क्षमतालाई पनि त्यत्तिकै महत्त्व दिनुपर्छ । सबैकुरालाई ध्यानमा राखेर सभापतिज्यूले निर्णय लिनुहुनेछ ।’’ उहाँले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँट हुने बताउनुभयो ।