• १३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन : अध्यक्ष केसी

blog

संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा समसायिक विषयमा बोल्दै सांसद चित्रबहादुर केसी । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार २५ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ । नेकपा (एमाले) सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उहाँको जिकिर थियो ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष केसीले एमालेप्रति सङ्केत गर्दै बालकोटले प्रधानमन्त्रीलाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताउनुभयो ।

‘‘प्रधानमन्त्रीले पुस १० गते जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा सुरु भएको थियो । त्यो उहाँले बुझ्नु भएन । अब यसो भन्दाखेरी नराम्रो लाग्ला । तपाईँले चाहिँ कति पटक बालकोट धाउनुभयो, कति पटक बुढानीलकण्ठ पुग्नुभयो ? यसरी चल्छ राजनीति ? तपाई पाँच वर्ष सरकारमा राख्न संसद् भित्रको दोस्रो पार्टी मिसिएको थिएन । लाटो खान्छ एक बल्डयाङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईँले बल्ल भोग्नु भयो ।,’’ अध्यक्ष केसीले भन्नुभयो, ‘‘तपाईँहरूको मन्त्रिमण्डल गठन हुँदै तपाई भन्दा ठुलो पार्टीले अर्थ मन्त्रालय किन लिएन ? गृह मन्त्रालय किन लिएन ? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिए –दालका काला हेय । बुढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगिरहनुभएको छ । अब दुई वटा ठुलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो ।’’

अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गर्नुभयो । दुवै दलसँग आफूले लामो समयदेखि सङ्गत गरेकाले उनीहरूले पनि मुलुकको हितमा काम गर्न नसक्ने उहाँले बताउनुभयो ।