• १३ मंसिर २०८१, बिहिबार

पूर्व सांसदलाई सरकारले निःशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्छः सांसद ढकाल

blog

प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल

काठमाडौँ, असार २५ गते । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरुलाई निःशुल्क औषधी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।

औषधी उपचार गर्न नसक्ने पूर्वसांसदहरुलाई सरकारी अस्पतालहरुमा निःशुल्क औषधीसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद ढकालको भनाइ थियो । उहाँले पूर्वसांसदहरुले देशका लागि धेरै योगदान गरेकाले उनीहरुको पनि स्वास्थ्य सुरक्षाका लागि सरकारले केही राहत दिँदा फरक नपर्ने बताउनुभयो ।

सांसद ढकालले भन्नुभयो, ‘‘हामीले ६६ औं संसद् दिवस मनायौँ । पूर्वसांसद मञ्च र सङ्घीय संसदको संयुक्त आयोजनामा यो मनाइएको हो । पूर्वसांसदहरुले देशका लागि धेरै योगदान गर्नुभएको छ । उहाँहरुले केही मागहरु पनि राख्नुभएको छ । त्यो मध्य कम्तीमा नेपालको सरकारी अस्पतालहरुमा पूर्वसांसदहरु जो आफैँ औषधी उपचार गर्न सक्षम हुनुहुन्न । उहाँहरुका लागि उपचार गर्ने व्यवस्था मिलाइयोस् भनेर म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

सांसद ढकालले पूर्वसांसदहरुले राखेका माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताउनुभयो ।