लीलाधर वली
घोराही, असार २५ गते । तीन दिनदेखि अवरुद्ध घोराही–मुर्कुटी–प्युठान सडक खुलाउनका लागि पहिरो हटाउने कार्य भइरहेको छ । अविरल वर्षाका कारण शनिबार पहिरो खस्दा घोराही–मुर्कुटी–प्युठान सडक अवरुद्ध हुन पुगेको थियो ।
वर्षा रोकिएसँगै घोराही–मुर्कुटी–प्युठान सडकअन्तर्गत बङ्गलाचुली गाउँपालिका–५ कालोढुङ्गा भन्ने स्थानमा खसेको पहिरो सोमबारदेखि हटाउने काम भइरहेको बङ्गलाचुली गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लीलाबहादुर घर्तीले जानकारी दिनुभएको छ । वडाध्यक्ष घर्तीका अनुसार अन्य स्थानमा ससानो पहिरो भएपछि कालोढुङ्गामा ठुलो पहिरो खसेको थियो ।
वर्षा रोकिएसँगै सोमबारदेखि सडकमा खसेको पहिरो हटाउने काम भइरहेको वडा अध्यक्ष घर्तीले भन्नुभयो, ‘‘गाउँपालिकाको जेसीवीले मात्र सडकमा खसेको पहिरो हटाउने काम नसकिने भएपछि यान्त्रिक कार्यालय घोराहीबाट लोलर मगाएर हिजोबाट काम भइरहेको छ । आज साँझसम्म सकिन्छ कि भन्ने हो ।’’ ठुलो पहिरो हटाइसकेपछि सडकको अन्य स्थानमा खसेको पहिरो हटाएर यातायातका साधनहरु सञ्चालन गरिने छ ।
सडक अवरुद्ध भएपछि घोराही–मुर्कुटी–प्युठान अवरुद्ध सडकमा यातायातका साधनहरु सञ्चालन हुन सकेका छैनन् । त्यसैगरी पहिरोका कारण अवरुद्ध घोराही–रामपुर–मुलाबारी–हासीपुरअन्तर्गतको बिपी मार्ग पनि शनिबारदेखि अवरुद्ध छ । घोराही उपमहानगरपालिका– १ को सिमलतारादेखि बङ्गलाचुली गाउँपालिकाको कोइरालेसम्म सडकको विभिन्न खण्डमा पहिरो खसेपछि सडकसँगै विद्युत् सेवा अवरुद्ध भएको बङ्गलाचुली गाउँपालिका– ४ का अध्यक्ष डाँसबहादुर डाँगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिलेसम्म सिमलतारादेखि सुकाखोलासम्मको सडकमा खसेको पहिरो हटाउने काम सकिएको बाँकी सुकाखोलादेखि कोइरालेसम्मको सडकखण्डमा खसेको पहिरो हटाउने काम भइरहेको जानकारी दिनुभएको छ ।