• १२ साउन २०८१, शनिबार

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ् सेन्टरको स्थापना

blog

काठमाडौँ, असार २५ गते । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ् सेन्टर सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ् सेन्टर सञ्चालनमा ल्याएको हो ।

कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको हो । यो लर्निङ् सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

मङ्गलबार बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बिच बैंकका सञ्चालक समितिका अध्यक्ष  प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ् सेन्टरहरुको उद्घाटन गर्नुभएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ्ग सेन्टरमा कार्यक्रमहरु सञ्चालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवम् सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लस्टर प्रमुखलगायत शाखा प्रमुखहरु गरी २६५ जना कर्मचारीको उपस्थिति थियो ।

आज लर्निङ् सेन्टरहरुको उद्घाटनकै दिनमा देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३, मधेशमा २०, बागमतीमा ४०, गण्डकीमा ९, लुम्बिनीमा २३, कर्णालीमा पाँच र सुदूरपश्चिममा १० जना गरी १३० कर्मचारीले प्रशिक्षण पनि लिएका छन् । बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमको आयोजना गर्दै आएको छ र सबै प्रदेशमा लर्निङ् सेन्टरको स्थापनाले आगामी दिनमा अझ सशक्त ढङ्गले कर्मचारीहरूलाई आफ्नो कार्यस्थलमा कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ् एकाइहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५७ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षमा थप तीन शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।