• ४ साउन २०८१, शुक्रबार

मातृभाषाको शक्ति

blog

मातृभाषा जीवन्त अभिव्यक्तिको सायद सबैभन्दा सुन्दर माध्यम हो । यस्तो भाषा केवल सहज शिल्प मात्रै होइन, सबैभन्दा अर्थपूर्ण सम्भावना पनि हो । कट्टरता नहुनु र जनपक्षधर हुनु मातृभाषाको विशिष्ट चरित्र हो ।

आफ्ना मातापिताबाट प्राप्त भाषा नै मातृभाषा हो । त्यसको जरा हुन्छन्, स्मृति र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ तर अरू कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन्, जसले यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरूका लागि अधिक मार्मिक हुन्छ । यो प्रश्न इतिहास तथा संस्कृतिको वहनसँग पनि सम्बद्ध छ, जुन कुरा सम्प्रेषणका व्रmममा निर्मित हुन्छ । 

यद्यपि संस्कृतिको कार्य विश्वलाई केवल विम्बमा व्यक्त गर्नु मात्रै होइन । बरु ती विम्बको माध्यमबाट संसारलाई नयाँ दृष्टिले हेर्ने तरिका विकसित गर्नु हो तर औपनिवेशिक दबाबले गर्दा विश्वलाई यस्ता भाषामा हेर्न र व्याख्या गर्न विवश पारिएको थियो÷छ, जुन अरूकै भाषा रहेका थिए । त्यसमा मानिसका वास्तविक सपना आउन पनि सक्दैनथे । साम्राज्यवादले सबैभन्दा पहिला सांस्कृतिक धरातलमा आक्रमण गर्ने गर्छ । उसले अन्य भाषालाई अवमूल्यन गर्न थाल्छ । स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषा भन्ने गर्छ । त्यस क्रममा मानिस आफ्नै मातृभाषा बोल्न पनि हिचकिचाउन थाल्छन् र विश्वका अपरिचित भाषाको प्रभुत्वको महिमामण्डन गर्न थाल्छन् । त्यस्तै भाषामा अभिव्यक्त गर्न थाल्छन् र त्यस्ता भाषामा बाँधिन पुग्छन् । अन्ततः यसरी मातृभाषालाई नै परित्याग गर्न थाल्छन् र अनि गर्वका साथ भन्न थाल्छन्, “हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !”

संसारमा हैकम जमाउन चाहने साम्राज्यवादले सबैभन्दा पहिला सांस्कृतिक धरातलमा आव्रmमण गर्ने गर्दछ । उसले अन्य भाषालाई अवमूल्यन गर्न थाल्छ । स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषा भन्ने गर्दछ । हुन पनि मातृभाषामै आआफ्ना उखानटुक्का, लोककथा, सूक्ति आदि हुने गर्छन्, जो मानिसका आफ्ना स्मृतिको धरतीसँग जोडिएका हुन्छन् । त्यसमा किसानको शक्ति रहेको हुन्छ । त्यसमा एउटा बेग्लै बनावट हुन्छ । एउटा विशिष्ट सामाजिक तथा मनोवैज्ञानिक बनावट, जसमा अस्मिताको रचना भएको हुन्छ । आत्मअन्वेषणको जुन गहिराइ मातृभाषासँग जोडिएको हुन्छ, त्यो अरू भाषासँग हुँदैन । हो, अन्य भाषामा पनि कुरा गर्न या भन्न सकिन्छ तर त्यो मातृभाषामा भनेजस्तो मार्मिकता त्यसमा सम्भव हुँदैन । यो भाषाको वैज्ञानिक तथा सांस्कृतिक तथ्य पनि हो ।

निश्चय नै मातृभाषाबाट आफ्नो परिवेश तथा पर्यावरणको बोध हुने गर्दछ । यो समृद्धीकरणका प्रव्रिmयामा सुदृढ हुन्छ । मातृभाषाबाट यस्तो मौखिक लय प्रस्तुत हुन्छ, जसमा प्रकृति र परिवेशसँग समाजिक सङ्घर्ष पनि प्रकट हुन्छ । त्यसबाट साहित्य र संस्कृतिका सकारात्मक, मानवीय र लोकतान्त्रिक तŒव पनि प्रकट हुन्छन् । आफ्ना संस्कृतिको जरामा नै गएर हामीलाई आफ्नो आत्मीयताको अनुभूति हुन्छ । उधारो लिइएको भाषाले सम्पूर्णतः हाम्रा साहित्य र कलाको विकास गर्न सक्दैन किनभने तिनको चिन्ता र चासो हाम्रो रागात्मक रूपसँग जोडिएकै हुँदैन । यस्तो उधारो भाषाको सत्ताकेन्द्र अन्यत्रै कतै हुन्छ र त्यो मातृभाषाजस्तो जनआकाङ्क्षाको परिपूर्तिको संवाहक हुन पनि सक्दैन । मातृभाषामा धरतीको जुन सुगन्ध हुन्छ, कल्पनाशीलताको जुन पारम्परिक शृङ्खला हुन्छ, त्यो अन्य भाषामा सम्भवै हुँदैन । त्यसमा पनि औपनिवेशिक हिसाबले थोपरिएको भाषामा त बिलकुलै हुँदै हुँदैन । कुनै पनि सच्चा लेखकले आफ्नो मातृभाषामा जति तीव्रता र तीक्ष्णताका साथ आफ्नो कुरा भन्न सक्दछ, त्यसरी अन्य भाषामा भन्न कदापि सक्दैन ।

वास्तवमा मातृभाषाले जनताको सङ्घर्ष बोल्दछन् । मातृभाषाको महत्व बुझेको कुनै पनि व्यक्तिलाई थाहा हुन्छ, आन्दोलन, लोकछवि, आत्मविश्वास र परिवर्तनका लागि यसभन्दा राम्रो अर्को कुनै माध्यम हुँदैन किनभने उसको सरोकार ती भाषासँग हुन्छ, जसलाई त्यहाँका जनताले बोल्ने गर्छन् । यसको सेवाका लागि उसले कलम उठाएको हुन्छ । यसरी उसले त्यही गीत गाउँछ जुन जनताले चाहेका हुन्छन् । मातृभाषाको सोझो सम्बन्ध जनसरोकारसँग हुन्छ । यस माध्यमबाट सामाजिक तथा राजनीतिक निहितार्थको समेत बोध हुन्छ ।

मातृभाषाबाटै मानिसका वास्तविक आवश्यकतालाई गीत, नृत्य, नाटक, कविताबाट अभिव्यक्ति दिन सकिन्छ र नयाँ चेतनाको आकाङ्क्षालाई वाणी प्रदान गर्न सकिन्छ । श्रमिक वर्ग तथा जनसामान्यलाई मूलतः उनीहरूकै मातृभाषामा राम्रोसँग सम्बोधित तथा सम्प्रेषित गर्न पनि सकिन्छ । मातृभाषामा संरचनात्मक रूपान्तरणको प्रक्रियामा शिक्षा, संस्कृतिको एउटा निर्णायक भूमिका हुन्छ, जुन साम्राज्यवादको आजको नयाँ औपनिवेशिक चरणमा विजयका लागि अत्यावश्यक हुन्छ । शिक्षा र संस्कृतिमा आवश्यक सम्बन्ध हुन्छ र यसले सामाजिक–राजनीतिक–आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्दछ । त्यसै कारण त्यहाँ मातृभाषाको प्रभावकारी भूमिका हुन्छ ।

सत्य के हो भने संस्कृति स्वयम्मा इतिहासको अभिव्यक्ति र उत्पादन पनि हो । यसको निर्माण प्रकृति तथा मानिसबिचको सम्बन्ध र अन्तव्रिर्mयामा आश्रित हुन्छ । त्यसैले त्यहाँ मातृभाषाको अन्तरङ्ग प्रवेश हुन्छ । यसरी मातृभाषालाई आधार बनाइयो भने सामुदायिकतामा आबद्ध जनसमुदायले आफ्नो भाषा, साहित्य, कला, नृत्य तथा एउटा यस्तो शिक्षा प्रणाली विकसित गर्दछन्, जसले इतिहास र भूगोललाई एउटा पिँढीबाट अर्को पिँढीसम्म पु¥याउने गर्दछ । शिक्षा र संस्कृतिले वर्गीय विभेदलाई समाजको आर्थिक आधारमा व्यक्त गर्दछन् । वास्तवमा वर्गीय समाजमा दुई किसिमका शिक्षाबिच सङ्घर्ष चलिरहेको हुन्छ । यसले वास्तवमा दुई परस्परविरोधी संस्कृतिको प्रसार गर्दछ र ती दुई परस्परविरोधी चेतना अर्थात् विश्व दृष्टिकोण तथा विचारधाराको वाहक बन्दछ । निश्चितै रूपले औपनिवेशिकताले आक्रान्त सांस्कृतिक पक्षहरूका लागि मातृभाषाको आवश्यकता हुँदा पनि हुँदैन । तिनले आफ्ना लागि त्यस्तो भाषाको चयन गर्दछन्, जुन भाषाले उनीहरूको वर्गको प्रतिनिधित्व गर्दछ । यस्तो समाजमा मातृभाषा बोल्ने बालबच्चाले समेत दण्ड पाउँछन् भने त्यसको यथार्थ के हो आज बुझिनु र बुझाउनु अत्यावश्यक छ । 

निश्चय नै यसको मूल त्यो सौन्दर्यबोध हो, जुन हाम्रा लोककथा, हाम्रा सपना, हाम्रो ज्ञान विज्ञान, हाम्रो भविष्यको कामना आदिमा लुकेको छ । त्यसको सौन्दर्य वास्तवमा आफ्नै धरतीको सुगन्धबाट उत्पन्न भएको हुन्छ । अन्य भाषालाई अपनाउने या तिनका माध्यमद्वारा अभिव्यक्त गर्ने कुरामा कुनै खराबी अवश्य पनि छैन । त्यस्ता भाषामा ज्ञानविज्ञान या सामाजिक विज्ञान सिक्ने वा ज्ञानार्जन गर्नमै कुनै सङ्कोच गर्नुपर्ने जरुरी पनि छैन । मूल कुरा के हो भने जुन शक्तिहरू मातृभाषाको रचनात्मकतालाई हीन तुल्याउन सव्रिmय छन्, तिनको पहिचान गर्न, तिनका क्रियाकलापबाट सतर्क र सावधान रहनु आवश्यक छ । हाम्रो अस्मिता, साहित्य, सिर्जनात्मकताको सर्वोच्च वैभव मातृभाषामै सम्भव छ । त्यो असीम छ, कल्पनाको त्यो किनारा हो । 

त्यो हाम्रो मातृभूमिको रङ हो । त्यसमा हाम्रा स्वदेशी र स्थानीय मूल्य छन् । ती हाम्रा लागि भविष्यकामी छन् ।

मातृभाषामा परम्पराको जीवन्तता हुन्छ । त्यो कुनै अरू देशको वा अन्य धारको मुखापेक्षी पनि हुँदैन । त्यो हाम्रो आफ्नै मुखबाट आउँदछ । हाम्रा नसा र कोषिका त्यसबाट रोमाञ्चित हुने गर्दछन् । त्यसले हाम्रा बर्सौंदेखि स्थापित सभ्यताको केन्द्रीयता कायम राख्छ । त्यो हाम्रो गहन आकर्षण, प्रीति तथा मुक्ति पनि हो । हाम्रा लागि त्यसमा गहन आवेग हुन्छ । त्यसले हाम्रो परम्परामा हामीलाई परिष्कृत पार्न चाहन्छ । त्यसले हामीलाई जुन मिठास दिन्छ, अरू कुनै भाषाले त्यस्तो दिन सक्दैनन् । मातृभाषा जीवन्त अभिव्यक्तिको सायद सबैभन्दा सुन्दर माध्यम हो । यस्तो भाषा केवल सहज शिल्प मात्रै होइन, सबैभन्दा अर्थपूर्ण सम्भावना पनि हो । कट्टरता नहुनु र जनपक्षधर हुनु मातृभाषाको विशिष्ट चरित्र हो । त्यसमा मानिसका स्मृतिविम्ब बढी सुरक्षित र पल्लवित हुन्छन् । त्यसमा जति पारम्परिक अर्थगर्भ हुन्छ, त्यत्तिकै वैज्ञानिकता तथा मनुष्यताको मुक्तिगामी सम्भावना पनि हुन्छ भन्ने तथ्यलाई आत्मसात् गरौँ ! 

Author

लोकनारायण सुवेदी