• २० असोज २०८१, आइतबार

खेतका फाँट (फोटो फिचर)

blog

जुम्ला पुग्नेहरूका लागि पहिलो पर्यटकीय गन्तव्य हो, तातोपानी गाउँ । तस्बिर : विशाल सुनार

विशाल सुनार
जुम्ला, असार २४ गते ।
 जुम्ला पुग्नेहरूका लागि पहिलो पर्यटकीय गन्तव्य हो, तातोपानी गाउँ । तिला नदिको किनारमा रहेको तातोपानीको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरूको बाक्लै भिड लाग्छ ।

तातोपानीको मुहानकै नामबाट नामकरण गरिएको तातोपानी गाउँपालिका आफैँमा निकै सुन्दर र आकर्षक पनि छ । पालिकालाई दुई भागमा विभाजन गर्ने गरी तिला नदी बगेको छ । तिला नदिको दुवै किनाराहरू अति उब्जाउ छन् । अधिकांश लेकाली खोरियानहरुमा स्याउका ठुलाठुला बगानहरु छन् भने फेदीमा सुन्दर बस्तीहरू अवस्थित छन् । बिस्तारै आधुनिकीकरणमा प्रवेश गर्दै गरेको जुम्ला तीव्ररुपमा बदलिँदो छ ।


हिउँदमा जौ खेती र वर्षायाममा काली मार्सी धानको खेती गरिन्छ । जुम्लामा पहिलो अधिक खेती गरिने बालीहरूमा धान, जौ, कोदो, फापर र गहुँ खेती गरिन्छ । वर्षायाम लागेपछि एकातिर किसानहरूलाई जौ काट्ने चटारो हुन्छ भने अर्कातिर मार्सीधानको रोपाइँको चटारोले छपक्क छोपेको हुन्छ । यतिवेला कर्णाली राजमार्गको पट्यार लाग्दो जोखिमपूर्ण यात्रा गरेर जुम्ला पुग्नेहरूका लागि हिमा र तिला नदी किनारमा देखिने मार्सीधानका फाँटहरूले यात्राका सम्पूर्ण कष्टहरूलाई भुलाइदिन्छ ।