• २० असोज २०८१, आइतबार

नयाँ सरकार गठनमा सहजता प्रदान गर्न सांसद गैरेको आग्रह

blog

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २४ गते । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार अल्पमतमा परेकाले नयाँ सरकार गठनमा सहजता प्रदान गर्न आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो । 

प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहनुभएको उहाँले टिप्पणी गर्नुभयो । ‘प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको बताउनुभयो । उहाँले बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको कुरा के गर्नु, हामीले बेला–बेलामा सुन्दै आएको, पढ्दै आएको आज पनि उद्धरण हुँदैगरेको कुरा रोम जलिरहेका बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेजस्तै देशमा सरकार घोर अल्पमतमा परेको छ । तर बाँसुरी बजाइरहेको छ ।’

सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले–कहिले भनेर गीत गाएर बसिराखेको छ । बरु उडायो सबै सपनाहरू हुरीले भन्ने गीत गाए हुने उहाँले भन्नुभयो, ‘आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारापानी खोज्दै हुनुहुन्छ । संविधानमा प्वाल खोज्दै हुनुहुन्छ । सरकारलाई अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ ।’

देशमा उत्पन्न भएका समस्या समाधान गर्न लोकतान्त्रिक शासन व्यवस्थामा सरकार अल्पमतमा परिसकेपछि, सरकारले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कुनै कारण नभएको उहाँको भनाइ छ ।