• २० असोज २०८१, आइतबार

प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने एमाले सांसदको माग

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार २४ गते । नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमालेका सांसदहरुले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन् । सांसदहरुले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकाले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेका बताउनुभयो ।

सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनर्स्थापनामा प्रभावकारी ढङ्गले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको सांसदहरुको भनाइ छ । बैठकमा बोल्दै एमालेका सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो,‘‘बाढी पहिरो र डुबानबाट विस्थापित भएका तथा जोखिममा रहेका पीडित र प्रभावितहरुका लागि आवश्यक संरक्षण, राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्छ । तर आज सरकार कहाँ छ ? के छ भन्ने कुरामा हामी सबै प्रश्न र मौन भएर बस्ने स्थिति बनेको छ । सरकारलाई काम गर्न सक्ने बनाउनका लागि अब नयाँ सरकारलाई जिम्मेवारी दिनका लागि हामी तयार हुनुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’’

यसैगरी, एमालेका सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरु भइरहेका भए पनि सरकार कानमा तेल हालेर बसेको बताउनुभयो । उहाँले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘तमाम समस्याका बाबजुद आज सरकार कानमा तेल हालेर बसेको छ । म प्रधानमन्त्री तथा गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव पेश गर्छु । गृहमन्त्रीलाई तत्काल सदनमा आएर यी सबै घटनाको बारेमा जानकारी दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिन चाहन्छु ।’’

एमालेका सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिनुभयो । उहाँले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको बताउनुभयो । बलियो सरकारले मात्रै प्रभावकारी ढङ्गले बाढी, पहिरो र अन्य प्रकोपहरुको सामना गर्न सक्ने उहाँले बताउनुभयो ।

‘‘जलवायु परिवर्तनको असर र प्राकृतिक प्रकोपहरुको सामना गर्दा दीर्घकालीन योजना र तत्परताको आवश्यकता छ । सरकारको तर्फबाट जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनलाई समावेश गर्ने नीतिहरुको निर्माण र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ । तर अहिले सङ्कटको समयमा हामीले नेतृत्वमा पनि नैतिकताको आवश्यकता महसुस गरेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘वर्तमान प्रधानमन्त्रीले आफ्नो बहुमत गुमाइसकेका छन् । जसले देशलाई थप अस्थिरता र अन्येलमा पुर्‍याएको छ । सङ्कटको घडीमा बलियो र स्थिर सरकारको आवश्यकता छ । जसले प्रभावकारी ढङ्गले बाढी, पहिरो र अन्य प्रकोपको सामना गर्नसक्छ । प्रधानमन्त्रीले नैतिकताको जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ ।’’

अर्का सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार राहत र पुनर्स्थापनाको काम सरकारले अगाडि बढाउन नसकेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको भन्दै अविलम्ब राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गर्नुभयो ।

उहाँले निर्माण व्यवसायीलाई रोकिएको भुक्तानी समयमै दिन पनि सरकारलाई आग्रह गर्नुभयो ।