• २० असोज २०८१, आइतबार

विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम

blog

सोमबार बसेको प्रतिनिधिसभा बैठक बोल्नुहुँदै नेपाली कांग्रेस सांसद प्रतिमा गौतम । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार २४ गते । नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताउनुभयो ।

सांसद गौतमले विपद्का कारण ठुलो जनधनको क्षति भएको जानकारी दिनुभयो । उहाँले गत सालका पीडितलाई राहत दिन नसक्दा यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको जिकिर गर्नुभयो ।

उहाँले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्ने बताउनुभयो । उहाँले विपद्का कारण भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘‘विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु । नेपालमा कुनै पनि समय विपद् आउनसक्ने सम्भावना रहेको मुलुक भएकाले नेपालको परिप्रेक्ष्यमा कहाँ यदि भन्ने भन्दा पनि कहिले आउँछ भन्ने कुरा प्रश्न गर्नुपर्छ ।,’’ सांसद गौतमले भन्नुभयो, ‘‘यो उच्च जोखिम रहेको क्षेत्र हो । बाढी पहिरोका बारेमा सांसदज्युहरुले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्छ । प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महसुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ ।’’

सांसद गौतमले वर्षे विकासको रणनीतिबाट सरकार पछि हट्न आवश्यक रहेको बताउनुभयो ।