• २० असोज २०८१, आइतबार

साढे २८ हजार बिरुवा वितरण

blog

नर्सरीमा उत्पादन गरिएका विरुवाहरु ।

अर्जुन काफ्ले

स्याङ्जा, असार २३ गते । डिभिजन वन कार्यालय स्याङ्जाले २८ हजार ६१० फलफूलका बिरुवा वितरण गरेको छ । 

वन कार्यालय अन्तर्गतको जिल्लामा रहेका विभिन्न सवडिभिजन वन कार्यालयबाट बहुउपयोगी तथा डालेघाँसका बिरुवा राइखनियो, निमारो, इपिलिपि, खयर, फलफूलजन्य कटहर, बडहर, चिउरी जडीबुटी तथा मसलाजन्य तेजपात, टिमुर, अमला, सित्तलचिनि, कुरिलोलगायतका बिरुवाहरू वितरण गरेको डिभिजन बन कार्यालय प्रमुख नवराज बरालले बताउनुभयो । 

असार १६ गतेदेखि अहिलेसम्म कार्यालय तथा मातहतका सवडिभिजन कार्यालयबाट बिरुवाहरू वितरण गरेको हो । बाडखोला सवडिभिजन वन कार्यालयबाट बहुउपयोगी कटहर, बडहर, राइखनियो जातका ६ हजार १२२ बिरुवा, जडीबुटीजन्य तेजपात एक हजार ४१६ वितरण गरेको छ । 

सबडिभिजन वन कार्यालय पुतलीबजारबाट निमारो, इपिलिपि, बडहर, राइखनियोजस्ता बिरुवा १० हजार ७२३, टिमुर, तेजपात, सित्तलचिनि, कुरिलो, अमलाजस्ता बिरुवा नौ हजार ५७६ बिरुवा वितरण गरेको बरालले बताउनुभयो । 

त्यस्तै, खयर, इपिलिपि, बडहरजस्ता बिरुवा गल्याङ कालीगण्डकी सवडिभिजन वन कार्यालयबाट ४६६ वटा वितरण गरेको छ । चिउरी, कुरिलो, टिमुरजस्ता बिरुवा ३०६ वटा वितरण गरेको छ । 

पछिल्लो समय विभिन्न राजमार्ग तथा सडक छेउछाउलाई हराभरा बनाउन समेत डिभिजन वन कार्यालयबाट बिरुवाहरू लग्नेगरेको कार्यालयले जनाएको छ ।  विद्यालय परिसर र कार्यालय परिसरमा समेत जडीबुटीजन्य बिरुवा लगाउनेक्रम बढेको छ ।

जिल्लामा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयले समेत वन कार्यालयबाट बिरुवा लगेका छन् । त्यस्तै, विभिन्न कृषक समूह, वडा तथा पालिका, सङ्घ संस्था, आमा समूह क्लबहरूले समेत वन कार्यालयबाट बिरुवा लगेका छन् । 

समूह बाहेक व्यक्तिगत रूपमा पनि र कृषि तथा पशुपालन गरेका कृषकले घाँसका बिरुवाहरू कार्यालयमा माग गरेर लैजाने गरेका छन् ।