• २० असोज २०८१, आइतबार

नाबालिका अपहरण गरी सामूहिक बलात्कार अभियोगमा दुई पक्राउ

blog

लेखनाथ, असार २३ गते। नाबालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीले धनुषा जिल्लाको क्षिरेश्वरनाथ गाउँपालिका वडा नम्बर १० गोपालपुर घर भई हाल पोखरा–११, रानीपौवा बस्ने वर्ष २१ का अरुणकुमार दास र भारतको बिहार सीतामणि घर भएर हाल पोखरा–११, रानीपौवा बस्ने वर्ष १९ का सुनिल दासलाई पक्राउ गरेको हो ।

अरुण र सुनिलले असार १७ गते दिउँसो तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४, थर्पुबाट एक नाबालिकालाई ललाइफकाइ र त्रास देखाई ग ८ प ४२८० नम्बरको मोटरसाइकलको बिचमा राखी पोखरा ल्याएका थिए।उनीहरूले ती बालिकालाई रानीपौवा स्थित डेरामा बन्धक बनाई असार १८ गते बिहान सामूहिक बलात्कार गरेको खुलेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो।

सामूहिक बलात्कारपछि नाबालिकालाई मोटरसाइकलमै तनहुँ लैजाने क्रममा प्रहरीले पोखरा–३०, पावरहाउसमा उनीहरूलाई पक्राउ गरेको थियो।

पृथ्वी राजमार्गमा प्रहरीको चेकिङ देखेपछि भाग्न खोजेका दुई जनालाई नियन्त्रणमा लिइएको प्रवक्ता शर्माले जानकारी दिनुभयो।उनीहरूलाई कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा असार १८ गतेबाट लागू हुने गरी आठ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।