• २० असोज २०८१, आइतबार

उत्कृष्ट कृषक सम्मानित

blog

सम्मानित हुनुभएका कृषकहरु ।

मीना कंडेल

कावासोती, असार २३ गते । कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाका उत्कृष्ट चार जना कृषकलाई सम्मान गरेको छ । कृषि क्षेत्रका योगदान गरेका किसानलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको हो । 

सम्मानित हुनेमा मत्स्यपालन, धान, मकै, तरकारी फर्म, मौरीपालक र अत्याधुनिक च्याउ खेती गर्ने एक–एक जना कृषक रहेका छन् । कावासोती –१५ स्थित गोडारका पाण्डे मत्स्य फर्मका नीराजन पाण्डे, धान, मकै, बेमौसमी तरकारी खेती गर्ने प्रेमपिण्ड तरकारी फर्म हुप्सेकोट –१ सीमाबारीका ग्यामबहादुर रजाली मगर, एनसि एग्रो टेक इण्डट्रिज प्रालि गैँडाकोट –१४ का किसानराज तिवारी अत्याधुनिक च्याउ खेती गर्ने र एन्जिला मौरीपालन फर्म देवचुली –७ शुकबहादुर गुरुङ रहनुभएको छ । 

कृषकलाई जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजाल र कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले संयुक्त रूपमा दोसल्ला ओढाइ नगद १०–१० हजार रुपियाँ र सम्मानपत्र प्रदान गर्नुभयो । 

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले कृषिप्रधान देश भनिए पनि ठुलो परिमाणबाट भारतबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता भएकाले यसलाई कम गर्न नेपाल सरकारले अनुदानको व्यवस्था गरेको  बताउनुभयो । 

कार्यक्रम अन्तर्गत कृषकलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको तिवारीले जानकारी दिनुभयो । ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

मेसिन खरिदमा ५० प्रतिशत, धानको बीउमा ७५ प्रतिशत अनुदान र सिँचाइ अन्तर्गत कुलो निर्माण तथा मर्मतका लागि ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।

कृषकलाई अनुदानको व्यवस्थाले गर्दा लागत मूल्य घट्ने हुँदा जमिन बाँझो राख्नेक्रम कम हुने अपेक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।