• १९ असोज २०८१, शनिबार

सोडारीले राजीनामा नदिने, विश्वासको मत लिने

blog

मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।

प्रकाशविक्रम शाह

धनगढी, असार २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा नदिने बताउनुभएको छ । सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका सोडारीले राजीनामा नदिएर साउनमा विश्वासको मत लिने निर्णयमा पुग्नुभएको छ ।  

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री सोडारीले गोरखापत्रसँगको कुराकानीमा पछिल्लो राजनीतिक परिस्थितिमा आफूले राजीनामा नगर्ने बताउनुभयो । एमालेले सरकारको साथ छाडेर बिहीबार समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी नेतृत्वको प्रदेश सरकार सङ्कटमा परेको छ ।

बहुमत गुमाइसकेको अवस्थामा मुख्यमन्त्री सोडारीले साउन २० गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ  । सो अवस्थामा विश्वासको मत प्राप्त गर्न नसके उहाँ नेतृत्वको सरकार ढल्नेछ । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री हुनु भएको थियो । 

कांग्रेस र एमालेबिच नयाँ सहमति भएर सरकार गठनका लागि नयाँ समीकरण बनेपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन र सरकार टिकाउनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्छ । 

अल्पमतमा पर्नुभएका मुख्यमन्त्री सोडारीलाई माओवादीका १०, उहाँको आफ्नै पार्टी नेकपा (एकीकृत समाजवादी) का चार, नागरिक उन्मुक्ति पार्टीका सातमध्ये दुई र एक स्वतन्त्रगरी जम्मा १७ जनाको समर्थन रहेको देखिन्छ ।  

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले पटक–पटक विभिन्न कार्यक्रममा सोडारीले राजीनामा दिएर निकास दिनु पर्ने सुझाव दिनुभएको छ ।