• ४ जेठ २०७९, बुधबार

मजदुरले अधिकार पाएको दिन

blog

मेमहिनाको पहिलो दिनलाई सबै मजदुर वर्गले लामो सङ्घर्ष र ठूलो बलिदानबाट आफ्नो अधिकार स्थापित गरेको एक ऐतिहासिक दिनका रूपमा स्मरण गर्छन् । अठारौँ शताब्दीको प्रारम्भसँगै अमेरिकाको विभिन्न भागमा उद्योगधन्दा खुलिरहेका थिए । अमेरिका एक औद्योगिक मुलुकका रूपमा अघि आइरहेको थियो । त्यहाँको कारखानामा काम गर्ने मजदुरको सङ्ख्यामा हरेक दिन वृद्धि भइरहेको थियो तर मजदुरले अनेक शोषण, अन्याय र अव्यवस्थालाई बेहोरिरहन परेको थियो ।

कतिपय मजदुरले बिहान उज्यालो भएदेखि साँझको अँध्यारोसम्म अनवरत् रूपले एघार–बाह्र घण्टाभन्दा बढी समयसम्म काम गरिरहनु पथ्र्यो । उनीहरूले काम गरेअनुरूप ज्याला पाउँदैनथे । उनीहरूले प्रत्येक दिन कति घण्टा काम गर्नुपर्ने हो, त्यसको निर्धारण गरिएको थिएन । कारखाना फोहोर, अस्वस्थकर र असुरक्षित थिए । उनीहरू बिरामी परे वा कारखानामा काम गर्दागर्दै दुर्घटनामा परे, उपचारको कुनै व्यवस्था थिएन । कारखाना सञ्चालकले प्रशस्त मुनाफा कमाइरहेका थिए । मुनाफा, तिनै मजदुरको श्रम र मेहनतबाट प्राप्त भएको हो र मजदुरप्रति उदार हुनुपर्छ भन्ने सोचाइ उनीहरूमा थिएन । 

मजदुरले न्यायोचित रूपले पारिश्रमिक पाउन तथा कारखानालाई स्वस्थकर बनाउन र अरू आवश्यक सुधार गर्न कारखाना सञ्चालकलाई पटक–पटक आग्रह गरे तर उनीहरूले मजदुरको कुनै पनि मागलाई ध्यान दिएनन् । यी अन्याय र अव्यवस्थालाई अरू सहन गर्न नसक्ने अवस्थामा मजदुर पुगे । उनीहरूका बीचमा एकता कायम हुन सके मात्र सबै शोषण र अव्यवस्थालाई निराकरण गर्न सकिन्छ भन्ने वस्तुपरक सोचाइ मजदुरमा बढ्दै गयो । उनीहरू सङ्गठित हुँदै गए । अस्वस्थकर एवं असुरक्षित अवस्थामा रहेका कारखानाको स्थितिमा शीघ्र सुधार गरियोस् भन्ने आदि माग राखेर सन् १८८४ को मे महिनाको पहिलो दिनदेखि मजदुरले अमेरिकाको धेरै कारखानामा आन्दोलन प्रारम्भ गरे । त्यसमा हजारौँ मजदुर सम्मिलित थिए । त्यसले मजदुरलाई उत्साह, साहस र आत्मविश्वास बढायो । उनीहरू अझ सङ्गठित हुँदै गए । 

कारखाना सञ्चालकले मजदुरको मागलाई ध्यान दिएनन् । त्यसपछिको पूरै दुई वर्षलाई मजदुरले आफ्नो सङ्गठन सशक्त पार्न उपयोग गरे । मजदुरले युनियन गठन गर्न पाउनुपर्ने तथा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्नेसमेतका कतिपय माग राखेर, सन् १८८६ को मे महिनाको पहिलो दिनदेखि फेरि आन्दोलन प्रारम्भ गरे । यस पटकको आन्दोलन निकै सशक्त भएर मजदुरको बलियो सङ्गठनको आधारमा अघि बढ्यो । यो सुरुमा सिकागो सहरमा मात्र केन्द्रित थियो । छिटै आन्दोलन अमेरिकाको अरू धेरै भागमा पनि सशक्त रूपमा फैलँदै गयो । यस पटक पनि कारखाना सञ्चालक र सरकारले मजदुरको मागमा कुनै सहानुभूति देखाएनन् । 

वि.सं. २००३ को फागुन २१ देखि विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ भयो । त्यसलाई पनि यही मे महिनाको पहिलो दिनदेखि सुरु भएको मजदुर आन्दोलनले उत्साह र प्रेरणा दिएको थियो । विराटनगर दक्षिणको डेढ माइल क्षेत्रफलको भूभागलाई औद्योगिक क्षेत्रमा परिणत गरिएको थियो । त्यहाँ विभिन्न कारखाना सञ्चालन गरिएका थिए । त्यहाँको कटन मिलमा केही महिनादेखि गिरिजाप्रसाद कोइरालाले काम गर्न थाल्नुभएको थियो । जुट मिलमा तारणीप्रसाद कोइराला, गहेन्द्रहरि शर्मा, युवराज अधिकारी तथा केमिकल कारखानामा मनमोहन अधिकारी काम गर्नुहुन्थ्यो ।

विराटनगरको कारखानाको अवस्था अठारौँ शताब्दीको अमेरिकाको कारखानाको भन्दा पनि दयनीय थियो । मजदुरले दस–बाह्र घण्टासम्म लगातार काम गरिरहन पथ्र्यो । कारखाना सञ्चालकले, उनीहरू जसलाई जहिले पनि बर्खास्त गर्न सक्थे । उनीहरू उचित ज्याला पाउँदैनथे । काम गर्नुपर्ने ठाउँहरू फोहोर र अस्वस्थकर थिए । यी सबैको उचित सुधार गरेर, मजदुरको हक र हितको रक्षा गर्न गिरिजाप्रसाद कोइराला प्रयत्नशील रहनुभएको थियो तर 

कारखाना सञ्चालकको धारणा उदार थिएन । उनीहरू मजदुरको हितलाई सहानुभूतिपूर्ण तवरले हेर्न तयार थिएनन् । वि.सं. २००३ को माघ १२ र १३ मा कोलकाताको भवानीपुरमा सम्पन्न सम्मेलनले नेपाली राष्ट्रि«य काँग्रेसको स्थापना ग¥यो । देशबाट एकतन्त्रीय राणा शासनलाई समाप्त पारेर, प्रजातान्त्रिक परिपाटी कायम गर्न प्रतिबद्ध राजनीतिक पार्टीको गठन र यसको अहिंसात्मक पद्धतिमूलक उद्देश्यले गिरिजाप्रसाद कोइरालालाई उत्साहित पा¥यो । उहाँ मजदुरको हक र हित सम्बद्र्धनको आन्दोललाई अघि बढाउन अझ सक्रिय भएर लाग्नुभयो । विराटनगरमा हुने मजदुर आन्दोलन नेपाली राष्ट्रिय काँग्रेसको उद्देश्यअनुरूप अहिंसात्मक पद्धतिमा नै आधारित थियो । यसले नेपाली राष्ट्रिय कांँग्रेस र मजदुरलाई एकअर्काको सहयोगी भएर रहने स्थितिमा आबद्ध गर्नेछ भन्नेमा पनि गिरिजाबाबु विश्वस्त हुनुहुन्थ्यो । 

त्यसबेला विराटनगरको कारखानामा कार्यरत मजदुरको सङ्ख्या २५–३० हजार पुगेको थियो तर उनीहरू सङ्गठित थिएनन् । शोषण, अन्याय र असुविधालाई उनीहरू एक्लाएक्लै बेहोरिरहेका थिए । गिरिजाप्रसाद कोइरालाको निकै दिनको प्रयत्नपछि उनीहरूलाई सङ्गठित गर्ने गुरुत्तर कार्य पूरा भयो । २००३ को फागुन २० को साँझसम्म आइपुग्दा विराटनगरका सम्पूर्ण मजदुर आफ्ना माग राखेर हडतालमा सम्मिलित हुने निर्णयमा पुगे । अन्ततः भोलिपल्ट फागुन २१ गते बिहानै सबै मजदुर जुट मिलको प्राङ्गणमा जम्मा भए । उनीहरूको माग पूरा नभएसम्म काममा नफर्कने अठोटका साथ उनीहरूले हडताललाई सशक्त रूपमा अघि बढाए । त्यसै दिन मजदुरले आफ्नो युनियनको गठन गरे । सर्वसम्मतिले गिरिजाप्रसाद कोइरालालाई युनियनको अध्यक्षमा चुनियो । 

मजदुर आन्दोलन प्रभावकारी रूपमा अघि बढ्दै गयो । बीपी कोइरालालगायत नेपाली राष्ट्रि««य काँग्रेसका अरू नेताहरू पनि मजदुर आन्दोलनलाई सहयोग गर्न विराटनगर आउनुभयो । २००३ को चैत १२ का दिन बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारी र मनमोहन अधिकारीलाई पक्राउ गरियो ।

आफ्नो युनियनका अध्यक्ष गिरिजाप्रसाद कोइरालालगायत हडताललाई सहयोग पु-याइरहेका नेताहरूलाई पक्राउ गरेकोमा मजदुर आक्रोशित भए । पक्राउ गरिएकाहरू सबैको तत्काल रिहाइको माग गर्दै चैत १४ का दिन मजदुरले विशाल जुलुस प्रदर्शन गरे । त्यसमा अरू नागरिकको पनि सहभागिता थियो । यो शान्तिपूर्ण जुलुसमा सेनाले क्रूरतापूर्वक गोली चलायो । मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए । अरू दर्जनौँ घाइते भए । त्यसै दिन आमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरी, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई र केही मजदुर नेतालाई पक्राउ गरियो । 

नेपालमा निरङ्कुश शासनको विरोधमा नेपाली जनताले गरेको यो पहिलो आन्दोलन थियो । यसैसँग सम्बद्ध देशव्यापी सत्याग्रह र अरू आन्दोलनबाट अघि बढ्दै, २००७ को ऐतिहासिक जनक्रान्तिसम्म पुगेर नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । विराटनगरको तुलाराम तामाङ मारिएको स्थानलाई शहीद तुलाराम तामाङ नगर भनिन्थ्यो । वि.सं. २०१४ को जेठमा नेपाली कांँग्रेसको विशेष महाधिवेशन त्यही शहीद तुलाराम तामाङ नगरमा भएको थियो । विशेष महाधिवेशनले शहीद तुलाराम तामाङको सम्मान गर्दै उनलाई नेपालको पहिलो मजदुर शहीदका रूपमा श्रद्धाञ्जलि अर्पण गरेको थियो ।

२०१६ को जेठमा बीपी कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकारको गठन भयो । त्यो सरकारले मजदुरको हित र अधिकारलाई व्यवस्थित गर्न २०१६ को असारमा कारखाना र मजदुरको व्यवस्थाको निमित्त बनेको ऐन २०१६ को निर्माण ग-यो । यो नेपालकोे मजदुर र कारखानाबारेको पहिलो ऐन थियो । यसका सातवटा परिच्छेद र ४१ वटा धारा थिए । यसमा मजदुरलाई हप्तामा ४८ घण्टाभन्दा बढी र प्रतिदिन आठ घण्टाभन्दा बढी काम गर्न बाध्य गर्न नपाइने, लगातार पाँच घण्टाभन्दा बढी समयसम्म काम लगाउन नपाइने, काम रोक्न नमिल्ने भए आलोपालोबाट काम गराउनुपर्ने, महिलालाई बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र काम लगाउन पाउने आदि प्रावधान थिए । 

नेपालका मजदुरको हक र हितको उचित व्यवस्था गर्न बनेको यो ऐनमा मे महिनाको पहिलो दिनबाट लामो सङ्घर्ष गरेर मजदुरले स्थापित गरेको अधिकारको सुनिश्चितता प्रतिविम्बित थियो । यसमा आफ्नो हितका प्रति मात्र होइन, कारखानाका हितप्रति पनि सचेत रहन तथा कारखाना सुव्यवस्थित रूपमा सञ्चालन हुन सके मात्र सबैको हित सुनिश्चित हुन्छ भन्ने यथार्थप्रति पनि मजदुरलाई सजग गराइएको थियो । 


Author

पुरुषोत्तम बस्नेत