• २४ असार २०८१, सोमबार

छ महिनामा ५६ वटा मानव अधिकार उल्लङ्घनका घटना

blog

धनकुटामा आयोजीत इन्सेकको कार्यक्रम । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले (धनकुटा), असार २१ गते ।
धनकुटामा गत छ महिनाको अवधिमा ५६ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको पाइएको छ । बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानवअधिकार वर्ष पुस्तकका लागि ६ महिना सङ्कलन गरेर आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

कार्यक्रममा इन्सेकले जनवरीदेखि हालसम्मको अवधिमा मानव अधिकारसँग सम्बन्धित विभिन्न घटनाहरु प्रस्तुत गरीएको थियो । जसमा एक जनाको हत्या, दुई जनाको हत्या प्रयास, तीन महिला र पाँच जना बालबालिका बलात्कृत, एक महिलाको बलात्कृतपछि हत्या, दुई बालबालिका माथि यौन दुर्व्यवहार, एक जनामा जातीय विभेद, दुईजना आत्महत्या दुरुत्साहन र ३९ जना घरेलु हिंसामा पीडित भएको तथ्याङ्क सङ्कलन गरिएको इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाले जानकारी दिनुभयो ।

त्यस्तै, यस अर्धवार्षिक घटनाको तथ्याङ्क हेर्दा गत वर्षभन्दा यो वर्ष अझै मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि हुने देखिएको थापाले बताउनुभयो । सन् २०२३ मा धनकुटामा एक सय घटनामा एक सय तीन जना पीडित रहेको भए पनि सन् २०२४ को पहिलो ६ महिनामै ५६ जना पीडित भएको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका बढ्दै गएको पाइएकाले आगामी दिनमा यस्ता घटना न्यूनीकरणमा लागिपर्ने बताउनुभयो । उहाँले कुनकुुन विधि र कसरी प्रचारप्रसार गरेर मानव अधिकारका घटना न्यूनीकरण गर्न सकिन्छ सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयले धनकुटाका सबै सुरक्षा निकाय र स्थानीय तहसँग छलफल गरी सचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले धनकुटामा घटना बढ्दै गइरहेकाले मानव अधिकार उल्लङ्घनका घटनालाई दृष्टिगत गर्दै न्यूनीकरणका लागि आफ्नो तर्फबाट लाग्ने बताउनुभयो । उहाँले कुन तरिकाले सहजीकरण गर्न सकिन्छ त्यसरी अगाडि बढ्न साथ सहयोग गर्ने जानकारी दिनुभयो ।