• १० मंसिर २०८१, सोमबार

जलन उपचारको अवस्था

blog

नेपालमा जलनको समस्या जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बर्सेनि विश्वमा एक करोड १० लाख मानिस गम्भीर प्रकारका जलनमा पर्छन् । नेपालमा प्रत्येक वर्ष झन्डै ६५ देखि ७५ हजारको हाराहारीमा आगो र एसिड जलनका घटना हुने गरेको तथ्याङ्क छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्कमा सन् २०२३ मा मात्रै ७६ हजारभन्दा धेरै मानिस आगो र एसिडको जलनबाट प्रभावित भएको उल्लेख छ । जलनको उपचार गर्ने अस्पतालको कमीका कारण घाइतेहरूले समयमा उपचार पाउन सकेका छैनन् । आगो, तातो तेल, विद्युत्को करेन्ट, एसिड प्रहार, तातोपानी, तातो दुध वा अन्य तातो तरल पदार्थका कारण जलन भएका छन् । नेपालमा जलनको उपचारमा निकै सास्ती बेहेर्नु परेको छ । अस्पतालको कमीका कारण दुर्गम क्षेत्रका घाइतेले समयमा उपचार पाउन नसग्दा जीवनभर अङ्गभङ्ग हुनुपर्ने तथा ज्यानै गुमाउनुपर्ने अवस्था छ । 

देशका आठ वटा अस्पतालमा मात्र जलनको उपचार हुन्छ । यीमध्ये चार वटा अस्पताल त काठमाडौँमा मात्रै छन् । जलनको घाइतेको पूर्ण उपचार कीर्तिपुर, सुष्मा कोइराला मेमोरियलमा हुने गरेको छ । त्यस्तै त्रिवि शिक्षण (टिचिङ), पाटन र वीर अस्पतालमा सामान्य जलनको मात्र उपचार हुन्छ । त्यहाँ छ वटा शय्याको जलन विभाग छुट्याइएको छ । दुर्गमका नागरिकलाई जलनलको उपचार गराउन निकै नै सास्ती छ । कीर्तिपुर अस्पतालमा बर्सेनि छ सय बिरामी अस्पताल पुग्ने गर्छन् भने टिचिङमा तीन सय र सुष्मा मेमोरियलमा तीन सय बिरामी पुग्ने गरेको ती अस्पतालको तथ्याङ्क छ । जलनमा परेपछि काठमाडौँ आउनेमध्ये ९० प्रतिशतभन्दा बढी बिरामी काठमाडौँ बाहिरका हुने कीर्तिपुर बर्न अस्पतालको तथ्याङ्कमा उल्लेख छ । तत्काल प्राथमिक उपचार नपाउँदा बिरामीको अवस्था जटिल हुन गई उपचारमा पनि थप जटिल हुन सक्छ । 

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ । पन्ध्रौँ योजनाले पनि सबै तहमा सबल स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै जनस्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ । काठमाडौँ महानगरपालिकाले जनस्वस्थ्य सेवा ऐन, २०८० जारी गरी आधारभूत स्वास्थ्य सेवामध्ये सामान्य आकस्मिक अस्वस्थताको सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र स्थापना र सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाले कुल शय्याको १० प्रतिशतमा नेपालको जुनसुकै स्थानका विपन्न, असहाय, बेवारिसेलगायतका लक्षित वर्गका व्यक्तिलाई अनिवार्य रूपमा निशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

जनलका बिरामीको अवस्था निकै जटिल हुने र उपचार पनि सहज हुँदैन । यसको उपचारमा सरोकारवालाले पनि प्राथमिकता दिएको पाइँदैन । विपत्का घटनामा परी घाइते हुनेहरूलाई जिल्ला विपत् व्यवस्थापन समितिमार्फत सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च भुक्तानी गरी दिने र एक हजार यातायात खर्च दिने व्यवस्था छ तर आगलागी वा जलनकै घटनामा परी घाइते भएकाको बारेमा भने स्पष्ट नीतिगत व्यवस्था छैन । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपत् व्यवस्थापनका सम्बन्धमा गत वैशाख तेस्रो साता छलफल गरेको थियो । छलफलमा आगलागीबाट क्षति भएका परिवारलाई १५ हजारदेखि २० हजार रुपियाँसम्म राहत दिने व्यवस्था गर्ने भनियो तर अग्निजन्य घटनामा परी घाइते भएकालाई उपचारको व्यवस्था कतैबाट हुन सकेको छैन । सांसद विन्ध्यवासिनी कंसाकारले जलन उपचारका लागि जलन उपचार कोषको स्थापना गर्न एक वर्षअघि नै सरकारसँग माग गर्नुभएको थियो तर हालसम्म पनि सो विषय प्राथमिकतामा परेको छैन । जलनसम्बन्धी उपचार गर्ने बेग्लै अस्पताल सरकारको प्राथमिकतामा अब पर्नु पर्छ । 

जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्न लागिएको भन्ने समाचार सुनिएको छ । यसले केही आशा जगाएको छ तर तदारुकताका साथ कार्य अगाडि बढ्न नसक्दा ढुक्क हुने अवस्था भने छैन । कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रूपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको भन्ने पनि छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ को बजेटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपियाँ विनियोजन गरिएको छ, जसमा विभिन्न रोगको उपचारका लागि अनुदानको व्यवस्था छ तर जलनको उपचारका लागि कुनै सहुलियत वा अनुदानको व्यवस्था हुन सकेको छैन । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने तथा कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गरिने उल्लेख छ ।

यस्ता नीतिगत व्यवस्था तत्काल कार्यान्वयन भए मात्र जलन प्रभावितले केही राहत पाउन सक्छन् । २० प्रतिशतभन्दा कम जलेका बिरामीलाई सामान्य, त्यसभन्दा बढी जलेको बिरामीलाई नाजुक अवस्था मानिन्छ । चिकित्सकका अनुसार स्रोतसाधन उपलब्ध भए र समयमै अस्पतालमा पुग ९५ प्रतिशतसम्म जलेको बिरामीलाई पनि निको पार्न सकिन्छ । आगलागीका घटनामा गम्भीर घाइते भएकाले प्राथमिक उपचार नपाउँदा अवस्था जटिल बन्दै जान्छ । यस्तो अवस्थामा नेपालमा उपचारसमेत सम्भव नहुने चिकित्सकहरू बताउँछन् । त्यसैले जलनबाट प्रभावितको उद्धारका लागि प्राथमिक उपचारको व्यवस्था प्रभावकारी बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । आमनागरिक विदेशमा पुगेर उपचार गर्ने अवस्थामा छैनन् । नेपालमै सहज उपचार गराउन आवश्यक प्रविधिसँगै पूर्वाधारयुक्त अस्पताल आवश्यक छ ।  

Author

तारा वाग्ले