• १५ कात्तिक २०८१, बिहिबार

बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल

blog

चितवन समाचारदाता

चितवन, असार २० गते  । चितवन निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ तर यस वर्ष भने बर्सातको समय ‘अफ सिजन’ नभएको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । जङ्गल सफारीका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा यही असार १६ देखि जिप सफारीका लागि जङ्गल प्रवेशमा रोक लगाइएको छ । निकुञ्जभित्र प्रवेश रोक लगाए पनि मध्यवर्ती क्षेत्रमा भने पर्यटकको गतिविधि रोकिएको छैन । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले भन्नुभयो,“निकुञ्जमा जिप सफारी बन्द हो, अन्य गतिविधि बन्द होइन । त्यसैले पर्यटकको सङ्ख्यामा गत वर्ष जस्तो कमी आएको छैन । अफ सिजन भए पनि २५ प्रतिशत पर्यटक अहिले सौराहा क्षेत्रमा आएका छन् ।” उहाँका अनुसार हिउँद जस्तो धेरै भिड नभए पनि व्यवसाय चलायमान भएको छ । 

निकुञ्जभित्र जङ्गल ‘वाक’, डुङ्गा सयर, सौराहाको कुमरोज, बाघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वनमा आउने पर्यटकका लागि हात्ती सफारी सञ्चालन भइरहेको छ । डुङ्गा सफारी जनकौली, बाघमारा र चित्रसेनमा भइरहेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष तिजु तामाङले जानकारी दिनुभयो । 

बर्सातमा रुख ढलेर बाटो बन्द हुने, जिप यात्रा जोखिम हुने, साना खोला बढेर बाढी आउनेलगायतका कारणले जिप सफारी बन्द गर्दै आएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । “हामीले हरेक वर्ष जिप सफारी बन्द गर्दै आएका छौँ, अहिले पनि तीन महिना बन्द गर्छौं,” निकुञ्जको ‘कोर’ क्षेत्रबाहिरका मध्यवर्ती सामुदायिक वनमा सधैँ हात्ती, जिप र डुङ्गा सफारी हुने जानकारी उहाँले दिनुभयो ।

पूर्वी चितवन, पश्चिम चितवन, माडी, नवलपरासीलगायतका निकुञ्जका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि नरोकिने उहाँले बताउनुभयो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले निकुञ्जको भित्री क्षेत्रबाहेकमा सफारी बन्द नभएको बताउनुभयो । सौराहा र यस आसपासमा अहिले पनि पर्यटकले जङ्गलका गतिविधि गर्दै आएको उहाँको भनाइ छ । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष तामाङले बाघमारा क्षेत्रमा एक वर्षमा एक लाख ५० हजारभन्दा बढी पर्यटकले सफारी गरेको जानकारी दिनुभयो । 

सौराहा आएका पर्यटक सबैभन्दा धेरै यसै क्षेत्रमा सफारी गर्दछन् । यस वनमा हात्ती सफारी, ‘जङ्गल वाक’, जङ्गलमा बनाइएको मचानमा बासलगायतका गतिविधि गर्दै आएका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पाइने दुर्लभ एकसिङे गैँडा, पाटे बाघलगायतका वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । 

प्रवेश पुलमा सौन्दर्यीकरण 

सौराहा क्षेत्र प्रवेश गर्ने चित्रसारी पुलमा सौन्दर्यीकरण गरिएको छ । रत्ननगर नगरपालिकाको सात लाख र रेवान सौराहाको तीन लाख गरी १० लाख रुपियाँको लगानीमा सौराहा सौन्दर्यीकरणको काम गरिएको हो ।

गन्तव्य अवलोकनका लागि आएका पर्यटकलाई सौराहा आइपुगेको अनुभूति दिलाउन चित्रसारी पुलबाट सौन्दर्यीकरणको काम सुरु गरिएको रेवान सौराहाका अध्यक्ष धु्रव गिरीले जानकारी दिनुभयो । 

चित्रसारी पुललाई सजावट गरी गैँडा, हात्ती र बाघको प्रतिमा निर्माण गरिएको छ । झिलिमिली बत्तीसहित पुलमै गमलामा फूल राखिएको छ । सौराहा हाम्रो मात्र नभएर विश्वमा परिचित भएकाले यसको सौन्दर्यमा सक्दो प्रयन्त गर्ने रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले बताउनुभयो । सौराहाको विकासका लागि बजेट अभाव हुन नदिने बताउँदै उहाँ भन्नुहुन्छ, “सौराहा प्रकृतिले दिएको सुन्दर उपहार हो, यसलाई जोगाउने जिम्मेवारी हाम्रो हो । यसलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने अठोट छ ।”

क्षेत्रीय होटल सङ्घका केन्द्रीय सदस्य सुमन घिमिरेले सेवाको गुणस्तर सुधार्ने जिम्मा दिएर तिनै तहको सरकार पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । सौराहालाई फरक तरिकाले चिनाउन ‘स्ट्रिट नम्बरिङ’ को काम गरिएको जानकारी दिनुभयो ।