• २९ कात्तिक २०८२, शनिबार

नेपाली सेनाको स्वास्थ्य शिविरमा झण्डै दुई सय लाभान्वित

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक २९ गते ।
म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेकको अग्रसरतामा भएको स्वास्थ्य शिविरबाट झण्डै दुई सय सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा भएको स्वास्थ्य शिविरमा एक सय ८४ जनाले स्वास्थ्य सेवा लिएका हुन् । नेपाली सेनाको गुरु गोरख गुल्मको संयोजकत्वमा सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाको श्री नं.२३ फि.ए. गुल्म, स्वास्थ्य कार्यालय म्याग्दी, प्रदेश अस्पताल बेनी, धौलागिरी गाउँपालिका तथा ताकम स्वास्थ्य चौकीले समेत प्राविधिक रुपमा सहयोग गरेको थियो ।

उक्त स्वास्थ्य शिविरमा दन्त चिकित्सा, आँखा, कान, जनरल चेकजाँचलगायतको सेवाहरु प्रदान गरिएको थियो । जिल्ला सदरमुकाम बेनी बजारबाट करिब ४५ किलोमिटर पश्चिमको दूरीमा रहेको धौलागिरी गाउँपालिकाको ताकम क्षेत्र जनघनत्वको हिसाबले जिल्लाकै अग्रणी गाँउहरु मध्येको एक हो ।

स्वास्थ्य शिविरबाट स्थानीय जनताहरुलाई साधारण स्वास्थ्य उपचार प्रदानका साथै विभिन्न औषधीहरु निःशुल्क वितरण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको गुरु गोरख गुल्मका मेजर रामभोला खड्काले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा महिला ११३ र पुरुष ७१ गरी जम्मा १८४ जना स्थानीय बासिन्दाहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य सुविधा हासिल गरेका छन् ।