• २१ असार २०८१, शुक्रबार

संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : सचिव अधिकारी

blog

सभामुख देवराज घिमिरे प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारी शपथ ग्रहण गराउनुहुँदै ।

काठमाडौँ, असार १९ गते । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।

बुधबार सभामुख देवराज घिमिरेबाट प्रतिनिधि सभा सचिवको रुपमा शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले संसदको कामलाई व्यवस्थित गर्न भूमिका खेल्ने बताउनुभएको हो ।

उहाँले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले संसदको काम, कारबाहीलाई पारदर्शी बनाउनका लागि पनि आफ्नो सहयोग र भूमिका रहने बताउनुभयो ।

सचिव अधिकारीले भन्नुभयो,  ‘‘मेरो मुख्य भुमिका भनेको प्रतिनिधि सभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पुर्‍याउनु हो । र सम्माननीय सभामुखज्युको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेण्डाहरुको बारेमा अध्ययन गर्ने र पेश गर्ने लगायतका कामहरु पर्छन् । सभामुखलाई सहयोग गर्ने, संसदका काम, कारबाहीलाई व्यवस्थित गर्नु, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भुमिका रहनेछ ।’’

सचिव अधिकारीले बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो । उहाँलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार प्रतिनिधि सभा सचिवमा नियुक्त गर्नुभएको हो । सचिव अधिकारी कोशी प्रदेश, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. २ स्थायी निवासी हुनुहुन्छ ।