• २१ असार २०८१, शुक्रबार

पोखरा स्पोर्टस् अवार्ड वर्षका उत्कृष्ट खेलाडीलाई स्कुटर हस्तान्तरण

blog

सन्तोष सुवेदी
कास्की, असार १९ गते ।
 नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौँ पोखरा स्पोर्टस् अवार्ड’ मा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।

अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरूप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर प्रदान गरिएको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उहाँको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट सङ्घका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गर्नुभयो ।

उहाँहरूलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले संयुक्त रूपमा स्कुटर हस्तान्तरण गर्नुभएको हो ।

गत वैशाख २८ गते पोखरा सभागृहमा सम्पन्न भएको स्पोर्टस अवार्डअन्तर्गतको वर्ष उत्कृष्ट पुरुष तथा महिला विधाको पुरस्कार सम्पूर्ण प्रक्रियागत तरिकाले गर्दा केही समयपछि पुरस्कार वितरण गरिएको मञ्चका अध्यक्ष एवम् पोखरा स्पोर्टस् अवार्ड मूल आयोजक समितिका संयोजक दिननाथ बरालले जानकारी दिनुभयो ।

वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।