• २१ असार २०८१, शुक्रबार

प्रशासनमा युगबोध

blog

हिजोआज निजामती प्रशासनका विषयमा प्रश्नहरू लगातार ओइरिएका छन् । कर्मचारीको आचारण र व्यावसायिकतामाथि अनुमान नै नगरिएका प्रश्न उठिरहेका छन् । कर्मचारीले माया पाउने वा आलोचना खाने विषय उसको काम हो । कामभन्दा पर न उसको नाम छ, न पहिचान नै । निजामती कर्मचारीबाट सर्वसाधारणले धेरै कुराको अपेक्षा गरेका छन् । ऊ सधैँ उपलब्ध होस्, पेसागत व्यावसायिकतामा रहोस्, निष्पक्ष होस्, सदाचारी होस् र विविधता संवोधी होस् भन्ने आमचाहना उसमाथि छ । निजामती प्रशासन समाजको सबैभन्दा जीवन्त संस्था भएकाले उसप्रति यति धेरै अपेक्षा गरिएको हो । अपेक्षा आफ्नै मानिससँग हुन्छ, अपेक्षा पूरा नहुँदा आलोचना पनि उसैको हुन्छ । 

विश्वभरि नै निजामती सेवाको प्रभावकारितामा स्खलन आएको छ । निजामती प्रशासनको व्यावसायिक इमानदारीमा कुनै पनि मुलुकको शासन र विकासको स्तर निर्धारण हुन्छ । भन्ने गरिन्छ प्रशासनले अनुमति दिएभन्दा बढी मुलुकको विकास हुँदैन । लोकतान्त्रिक मुलुकहरू निजामती सेवाको प्रभावकारिता विकासका लागि निरन्तर प्रयत्न गरिरहेका छन् । निजामती सेवाको प्रभावकारिता मापनका लागि अक्सफोर्ड विश्वविद्यालय र इन्स्टिच्युट अफ गभर्नमेन्टले प्रचलनमा ल्याएको ‘इन्साइज इन्डेक्स’ मा क्यानडा, बेलायत, न्युजिल्यान्ड आदि देशको स्तर माथि रहँदै आएको छ । इन्साइजका मानकमा नीति निर्माण, वित्त र वित्तीय व्यवस्थापन, नियमन, जोखिम व्यवस्थापन, कर परिचालन, सामाजिक सेवा, खुलापन, सक्षमता, सदाचार, सूचना प्रविधि उपयोग र समावेशी व्यवहारलाई लिने गरिएको छ । यी सूचकको एकीकृत जोड (कम्पोजिट भ्यालु) १ मा ०.६ भन्दा कम स्तरका मुलुकका निजामती सेवाले सुधारको माग गरिरहेको हुन्छ, जति स्तर कम भयो त्यति आक्रामक सुधार चाहिन्छ भन्ने बुझिन्छ तर जुन मुलुकको स्तर कम छ, त्यहाँ नै सुधारको क्षमता र तत्परता कम हुन्छ । नेपाल इन्साइज सर्वेक्षणमा समावेश नभए पनि यसमा रहेका सूचकका अन्य अन्तर्राष्ट्रिय प्रतिवेदनहरू जस्तो कि भ्रष्टाचार अनुभूति, सदाचारिता, सुशासन, सूचना प्रविधि सूचकहरूका आधारमा नेपालको स्तर न्यून छ । नेपालका आन्तरिक प्रतिवेदन र सेवाग्राहीको पृष्ठपोषणले पनि निजामती सेवामा ठुलो परिवर्तन (सुधार मात्र होइन) को आवश्यकता देखाएको छ । निजामती सेवाभित्र व्यावसायिक क्षमता भए पनि त्यसको उपयोग संस्थामा नभएको र सदाचारिताको स्तर गिर्दै गएको अनुभूति पछिल्ला दिनमा गरिएको छ । यसले निजामती सेवाको तत्काल पुनर्बोधको आवश्यकता देखाएको छ । 

निजामती सेवा शासन व्यवस्थाको मियो हो । यसको उपस्थितिबिना राज्य व्यवस्थाले गति नै पाउँदैन । संविधानका अक्षर क्रियाशील गराउने काम यसैबाट हुने भएकाले निजामती सेवालाई जीवित संविधान पनि भन्ने गरिन्छ । यसले सम्मति दिएर नै कानुनका अक्षर, योजनाका लक्ष्य र सर्वसाधारणका आवश्यकताले कार्य रूप पाउँछन् । प्रशासन क्रियाशील हुँदा नागरिक भावना परिचालित भएको अनुभूति हुनु पर्छ । त्यसैले कर्मचारीको भर्ना छनोट, क्षमता विकास र वृत्ति पद्धतिलाई अति नै ध्यान दिइन्छ । कर्मचारी वृत्ति सेवामा प्रवेश गर्छ र राष्ट्रसेवाको जिम्मेवारीमा रहन्छ । राष्ट्रसेवा नगर्ने वृत्ति सेवक हुँदैन भन्ने मान्यता राखिन्छ । राष्ट्रसेवा नगर्ने कर्मचारी वा जागिरेले लिन्छ मात्र दिँदैन भन्ने गरिन्छ । प्राचीन भारतमा यस्तो कर्मचारीतन्त्रप्रति व्यङ्ग्य गर्दै कविहरूले भन्ने गरेका थिए– बहुत ज्यादा लिया, दिया बहुत कम; मर गया देश अरे जीवीत रहेगे तुम् ।’ यो तत्कालीन सामन्ती शासनको उपज थियो तर आज पनि निजामती सेवा अनुभूत तहको सेवा दिन सकेको छैन, सक्षम भइकन इमानदार छैन । अलग सामाजिक वर्गको सदस्य हुँ भन्ने भावनामा छ । परिवेशमा आएका चुनौतीलाई सम्बोधन गर्न, आफ्ना कमीकमजोरीप्रति उदार बनेर सच्चिन र सधैँ सिकिरहने संस्था बन्न तयार भएको छैन । कामबाट आफूप्रति उठेको प्रश्नको जवाफ दिने प्रवृत्तिमा छैन । राजनीतिक कार्यकारीलाई व्यावसायिक क्षमताबाट चित्त बुझाउन सकेको छैन । त्यसैले समाजले चाहेको, समयले मागेको र सेवाग्राहीले विश्वास गरेको निजामती सेवा निर्माण हुन सकेन । हिजोको पुस्ता र नेतृत्व त कमजोर थियो थियो, अहिले चेतना र ‘एक्स्पोजर’ पाएको, प्रविधिले औधी सघाएको निजामती सेवा यो वा त्यो बहानामा रहनु हुँदैन । युगबोध, अन्तरचेत र नागरिक दायित्वले निजामती सेवा कर्तव्यको स्वचालित संस्था बन्नु पर्छ । 

आधुनिक राज्य प्रणाली व्यक्तिबाट नभई विधि र व्यावसायिकताबाट सञ्चालित हुन्छ । निजामती सेवा त्यसको मियो हो । यसले समाजले सम्मति दिए अनुरूप व्यवहार गर्नु पर्छ, ऊ विवेकशील हुनु पर्छ । वाक् संयमतामा रहनु पर्छ । आस्था र आग्रहमा बाँडिनु हुन्न । इमानदारी उसको मूल्य हो । सेवा उसको आदर्श हो । असल राज्यको जीवित संयन्त्र भएकाले घर घरमा न्याय दिन अग्रसर हुनु पर्छ । आदर्श, आस्था र आचरणमा नरहने व्यक्ति निजामती कर्मचारी बन्न सक्दैन । निजामती कर्मचारीलाई मानमर्दन गर्ने राजनीतिले यसको अभिभावकत्व लिन सक्दैन र निजामती कर्मचारीबाट असंलग्न नागरिक दैनिकी बन्न सक्दैन । राजनीति र निजामती प्रशासन अन्तरआबद्धतामा सेवग्राही नागरिक रहन्छन् । कर्मचारीले समाजको संस्कृति बोकेर निजामती सवामा प्रवेश गर्छ । राजनीतिले समाज सुधारको नेतृत्व लिने वाचा गरेर राज गर्छ । साठीको दशकमा फ्रेडरिक रिग्सले प्रतिपादन गरेको प्रशासनको पर्यावरण सिद्धान्तले प्रशासन समग्र प्रणाली प्रशासनिक इकोसिस्टममा बदलिएको छ र यसका पात्रको अन्तक्रिया प्रवृत्ति निकै गतिवान् भएका छन् । त्यसैले बहुसिपयुक्त र सधैँ अग्रसरतामा रहने कर्मचारी आहिले चाहिएको छ । 

७० को दशकबाट प्रशासनिक अग्रसरताको माग बढ्दै आयो । सानो, छरितो र प्रभावकारी सरकार बनाउने अभियान निरन्तर छ । ९० को दशकको सेवा वडापत्रले एक प्रकारको तरङ्ग नै ल्यायो । यसले सेवाग्राहीको अधिकार र सेवाप्रदाताको दायित्वलाई जनस्तरमा पु¥यायो । यसै समयबाट सेवा मात्र दिएर नपुग्ने भयो, सेवाग्राहीप्रति विनम्र व्यवहारले मन जित्नुपर्ने आचरणको माग भयो । कर्मचारी नतिजाप्रति जवाफदेही भएर नपुग्ने भयो । सेवा व्यवहार पनि सर्वसाधारणको मन जित्ने हुनु पर्छ भन्ने निष्कर्ष निकालियो । नेपाललगायतका मुलुकले पनि संरचना परिवर्तनको अभियान नै चलाए तर कर्मचारीतन्त्रको स्वभाव परिवर्तनको कार्यसूची बाँकी रह्यो । स्वभाव परिवर्तन नभए त्यसले कसरी सेवा दिन सक्थ्यो ? अग्रसरता कसरी लिन सक्थ्यो ? त्यसैले प्रशासनिक कार्यप्रक्रियामा सेवाग्राही संलग्नता, नागरिक विवेचना पद्धति र एजेन्सीकरणका विधि प्रचलनमा ल्याइए । क्यानडा, बेलायत र न्युजिल्यान्ड आदि देश यही अवधारणामा प्रभावकारी भएका हुन् तर नेपाललगायतका मुलुकमा अझ पनि प्रशासन जनतामा पुगेन । जनताको भावना र संवेग बुझ्न सकेन । सुधार र परिवर्तनलाई अन्तरबोध गरिएन । राजनीतिक कार्यकारी न प्रशासनलाई मार्गदर्शन गर्न सक्षम रह्यो न प्रशासनका आर्जित स्वायत्तता र मूल्य आदर्शप्रति संवेदनशील रह्यो । परिणामतः निजामती सेवा निजामती सेवा जस्तो भएन । 

फेरि पनि कसैलाई आरोप लगाएर समय खेर फालियो भने न प्रशासन न राजनीति दुवैले नैतिक जिम्मेवारी लिएको मानिँदैन । आरोप असक्षमको काम हो, जो अहिलेसम्म हुँदै आयो । मुलुक रूपान्तरणको सही भूमिकाका लागि दुवै वर्गले इमानदार कठोरतामा रहनै पर्छ । प्रशासनिक औपचारिकता र राजनीतिक कारणले ऊर्जा भरिएका युवा मुलुकमा आशा देख्न छाडिसकेका छन् । यहाँ बसेर के गर्ने भन्ने कुण्ठा तोड्न पनि आफ्नो कमजोरीको शल्यक्रिया गर्नु परेको छ । सार्वजनिक पदले जिम्मेवारी बोकेका हुन्छ र त्यसलाई कार्य रूप दिने तत्परता मागेको हुन्छ । नागरिक सेवा दिने क्रममा अरूभन्दा आफू उम्दा, हिजोभन्दा आज उम्दा नभए त्यो विकासको सिद्धान्तमा नै बाधक हो । प्रशासनिक स्टार्टअपको अवधारणा विश्वभरि नै फैलिएको छ, जसबाट नेपालको निजामती सेवा अञ्जान छैन । क्षमता विकासका आफ्नै र संस्थागत अवसरहरूले अमूक कर्मचारीलाई सदाचारिताको द्योतक, जनताको कर्मचारी, सुधारको उदाहरण र समर्पणको प्रतीक बनाउन सकिन्छ । प्रशासनिक नेतृत्व यसका लागि पहिलो उदाहरण बन्नु पर्छ, लुते होइन । एक पटक राष्ट्रप्रति बिल क्लिन्टनले भनेका थिए, “मलाई हुन्छ भन्ने मात्र होइन, हुन्न भन्न सक्ने ल्याकतको कर्मचारी चाहिएको छ’ । हुन्छ भन्न टाउको हल्लाए भइहाल्यो, हुन्न भन्न त सोचविचार गर्नु पर्छ । त्यसो गर्न निजामती सेवा सद्गुणहरूको सङ्गम हो । किनकि ऊ योग्यता प्रणालीबाट छानिएको, योग्यता प्रणालीमा नै जीवनभर प्रशासित भएर वृत्तिसेवा साथ राष्ट्रसेवामा रहने अवसरमा छ । 

  

Author

गोपीनाथ मैनाली