मीना कंडेल
कावासोती, असार १८ गते । पूर्वी नवलपरासीका किसान रैथाने बालीमा आकर्षित भएका छन् । कावासोतीमा अवस्थित सामुदायिक बिउँ बैङ्कले रैथाने बालीको संरक्षण गर्दै आएपछि पछिल्लो समयमा रैथाने बालीमा किसानको आकर्षण बढ्न थालेको हो ।
स्थानीय दानबहादुर महत्तोले रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न नपर्ने, उत्पादन कम भए पनि मूल्य धेरै पाइने, यस्ता प्रजातिबाट पोषण धेरै प्राप्त हुने र प्रतिकूल वातावरण समेत सहन सक्ने हुनाले अहिले क्रमशः किसान रैथाने प्रजातिका बालीतर्फ आकर्षण बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ”पहिला किसानहरूले मुख्य रूपले वर्षभरि खान र घर खर्च टार्न बेच्न समेत हुने गरी धेरै फल्ने उन्नत धान लगाए पनि पर्यटकीय क्षेत्रको विकाससँगै किसानले रैथाने बाली खोज्न थालेका छन् ।”
सामुदायिक बिउँ बैङ्क नेपालका अध्यक्ष पार्वती भण्डारीले लोप हुँदै जान थालेको अवस्थामा कावासोती–१४, त्रिभुवनटारमा रहेको बिउँ बैङ्कमा धानका मात्रै विभिन्न ४५ प्रजाति रहेको बताउनुभयो । कनक जिरा, बकुल्ले अनदी, मगर अनदी, थापा चिनी, आम ज्योति, पहेँले धान, घिउपुरी, झिनुवा, आँप झोते, चमेली, मिठाइ, छ्याङा, कालो नुनिया, बासमती, दूधराज, वार, सावित्री लगायतका धानको बीउ बैङ्कमा संरक्षण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
स्थानीय बजारमा चाडबाड र मेला पर्वका बेला घरायसी प्रयोजन र पाहुनाको स्वागतमा अनदीको चिचर, झिनुवाको खाजा दिने चलन पुरानै भएकाले यहाँका किसानले झिनुवा र अनदीको रैथाने बाली लगाउन लागेका मान बहादुर महत्तोले बताउनुभयो ।
यस वर्ष अघिल्लो वर्षकोभन्दा ५० प्रतिशत बढी रैथाने प्रजातिको धानको बिउँ बिक्री भएको छ । बिउँ बैङ्कमा रैथाने जातका अतिरिक्त सावित्री, सावाँ, वार लगायतका कतिपय उन्नत जातका धानको बिउँ पनि उपभोक्ताको माग अनुसार बिक्री वितरणका निमित्त राखिएको छ ।
सामूहिक प्रयासमा बीउ बैङ्क सञ्चालन गर्दै आएको यस संस्थाले दलहन, तेलहन तथा लहरे बाली बिरुवा, कोदो, फापर, धान, आलस, केराउ, तिल लगायत रैथाने बाली संरक्षण तथा बिउँ साटासाट कार्य पनि गर्दै आएको छ । बिउँ बैङ्कको दिगो सञ्चालनार्थ स्थानीय पालिका तथा जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट व्यवस्थापकीय तथा प्राविधिक सहयोग छ ।
कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालले बीउ बैङ्कले पछिल्लो समय विकासे प्रजातिभन्दा रैथाने बालीमा किसानको आकर्षण बढेको बताउनुभयो । खाँदा अत्यन्त मिठो र वर्षामा मात्र लगाइने सेतो अनदी र घ्यूपुरी हिउँदमा पनि उत्पादन हुन थालेपछि स्थानीय किसानहरू पनि उत्साहित बनेका छन् । स्थानीय जातका बालीमा रोगको प्रकोप कम देखिने र उत्पादनसमेत राम्रो हुँदै आएको कृषकको भनाइ छ ।
सामुदायिक बिउँ बैङ्कमा ९५३ घरपरिवार आबद्ध छन् । बिउँ बैङ्कमा रहेका रैथाने प्रजातिका बिउँ लिएर खेती गर्ने गरेका छन् । साथै स्थानीय प्रजातिको बिउँ उत्पादनमा समेत सहयोग गर्दै आएका छन् ।