• २० असार २०८१, बिहिबार

गिरिजाप्रसादकाे जन्मजयन्तीमा ऐतिहासिक फोटो प्रदर्शनी : प्रधानमन्त्रीद्वारा अवलोकन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ऐतिहासिक फोटो प्रदर्शनी अवलोकन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असार १८ गते । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ ।

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।


फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवलोकन गरिसक्नुभएको छ । फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबै पूर्वप्रधानमन्त्रीहरु आउनुहुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अटाइएको उहाँले बताउनुभयो ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।


यसैगरी, समुन्नतिको दोस्रो जग भन्ने शीर्षकमा छलफल काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ । कार्यक्रममा ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकमा फोटो पत्रकार गोपाल चित्रकार, मीनरत्न बज्राचार्य, विकास रौनियार, चन्द्रशेखर कार्की, प्रकाश माथेमा, विकास कार्की लगायतका फोटोपत्रकारहरुले पनि बोल्ने कार्यक्रम रहेको प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।