• १० मंसिर २०८१, सोमबार

प्रजातन्त्रका अजर शिखर

blog

तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मलाई भन्नुभयो, “शोभाकर, लौ काठमाडौँमा भएका जति सबैलाई बोलाऊ ।” उपलब्ध जति सबैलाई मैले ‘आकस्मिक बैठक’ मा आउनका लागि खबर गरेँ । अन्योलग्रस्त समय अनि छोटो खबरको छोटो समयमा पनि त्यसबेला कांग्रेसका सबै जसो नेता आउनुभयो । केही बेर राजाको कदमबारे सामान्य बहस भएपछि अन्तिममा गिरिजाबाबुले भन्नुभयो, “संसद् पुनस्र्थापना हाम्रो बटमलाइन हो । अब हामी सबै दलसँग मिलेर राजाविरुद्ध आन्दोलनमा जानु पर्छ ।”

२०५९ पुस १९ गते राजा ज्ञानेन्द्रले सारा शासनसत्ता आफ्नो हातमा लिनुभएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाएर ज्ञानेन्द्र आफैँ मन्त्रीपरिषद्को अध्यक्ष हुनुभएको थियो अनि केही ‘कुलीन पञ्च’ हरूलाई अधिकारविहीन बनाएर नाम मात्रैका मन्त्रीहरू बनाइएको थियो । 

शेरबहादुर देउवाजी भर्खर नयाँ पार्टी ‘नेपाली कांग्रेस प्रजातान्त्रिक’ बनाएर निस्किनुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अरू सबै राजनीतिक दल त्यो अन्योलको बादलभित्रै अलमलिइरहेका थिए । अब के हुन्छ, कसो हुन्छ केही भन्न सक्ने अवस्था थिएन । के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा कुनै पनि दलले केही निर्णय लिन सकेका थिएनन् । न पार्टीभित्रै आन्तरिक छलफल हुन सकेको थियो न त अन्तरपार्टी संवाद । सङ्कटकालपछिका कैयौँ दिन यस्तै अन्योल र मौन बितिरहेका थिए । 

गिरिजाबाबुमा मैले एउटा अजिबको तत्परता देखिरहेको थिएँ । अरू दल केही पनि नबोलेका बेला उहाँले आफ्ना पार्टीका नेताहरूलाई बोलाएर ‘दलीय सहकार्य र संसद् पुनस्र्थापनाको एजेन्डा सार्वजनिक गर्नुभएको थियो । गिरिजाबाबुले संसद् पुनस्र्थापना हुन्छ भनेपछि बैठक सकेर एक हुल कांग्रेसका नेताहरू मलाई घेर्न आइपुगे । अनि उनीहरूले भने, “अवस्था यस्तो छ, गिरिजाबाबुले कसरी संसद् पुनस्र्थापना हुन्छ भन्नुभयो ।” उनीहरू यतिमा मात्रै रोकिएनन् बरु अधिकांशले मलाई अगाडि सुझाव पनि दिए, “शोभाकरजी गिरिजाबाबुलाई अलि राम्रो ‘साइकियाट्रिक्स’ लाई देखाउनुस्, यो हाम्रो सल्लाह हो ।” आखिरमा त्यही भयो, जो गिरिजाबाबुले भन्नुभएको थियो । कांग्रेसका अरू नेता जस्तो मलाई त्यसबेला ‘अचम्म’ भने लागेको थिएन । किनकि गिरिजाबाबुले जे भन्नुहुन्छ त्यो सोचेर भन्नुहुन्छ र गरेरै छोड्नुहुन्छ । मैले मेरो व्यक्तिगत अनि राजनीतिक जीवनमा उहाँ जस्तो दृढ र आफ्नो सङ्कल्पमा ‘एकलव्य’ राजनेता अहिलेसम्म भोगेकै छैन ।  

नेपाली राजनीतिमा कोइराला परिवारको आफ्नै इतिहास छ । राजनीतिक इतिहासका ती पानामा राष्ट्र अनि जनता र प्रजातन्त्रप्रति कोइराला परिवारको सङ्घर्ष, त्याग, समर्पण र बलिदानका कैयौँ कथा छन् । इतिहासका ती त्यस्ता जिउँदा अक्षर र शब्द हुन्, जसले नेपाली राजनीतिलाई सधैँ अग्रदिशा दिएको छ । देशका हरेक सङ्घर्ष अनि परिवर्तनका मोडहरूमा कोइराला परिवारका अजर पाइला सधैँ देशको राजनीति पछ्याउने पदचाप बनेका छन् । त्यसमध्येका एक गिरिजाबाबु पनि हुनुहुन्थ्यो । 

२०५८ मङ्सिर ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले देशमा सङ्कटकाल लगाएपछि राजा र गिरिजाबाबुबिचको आन्तरिक लडाइँ सतहमै आएको थियो । दुई शक्ति केन्द्रबिचका कैयौँ वैमनस्य एकै पटक छताछुल्ल भएका थिए । ती धेरै राजनीतिक थिए कतिपय पारिवारिक । एक प्रकारले इतिहासको कुनै कालखण्डमा ‘दरबार’ अनि कोइराला परिवार अलग अलग ‘शक्तिस्तम्भ’ रहे । यी दुईबिच सधैँ एक प्रकारको टक्कर रहिरह्यो ।  दरबार हत्याकाण्डपछि नेपालको राजकीय राजनीतिको विरासतमा एक प्रकारले ‘शाही कुण्डली’ को पात्रो फेरिएकै हो । त्यसमा पनि राजा ज्ञानेन्द्रको माथमा पलाएको शक्तिको उधुम महìवाकाङ्क्षा आखिरमा त्यो विरासत अन्त्य अनि देशको व्यवस्था परिवर्तनको एउटा ‘मुहूर्त’ बनिदियो । २४० वर्षदेखि जिउँदो इतिहासको अन्तिम पानामा राजा ज्ञानेन्द्र सिङ्गो विरासतलाई नै धुमिल बनाउँदै बाहिरिनुभयो । 

इतिहासतिर फर्कौं, २०१२ सालमा कांग्रेसले जिल्ला सभापतिहरूको निर्वाचन गरेको थियो । त्यसबेला नै गिरिजाबाबु मोरङ जिल्लाको सभापति हुनुभयो । वीरगन्जमा भएको पार्टीको केन्द्रीय महाधिवेशनले ‘प्रजातन्त्र, राष्ट्रियता र समाजवाद’ लाई अघि बढाउनका लागि जिल्ला नेतृत्व चुनेको थियो । २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा बिपीले गिरिजाप्रसादलाई सोध्नुभएको थियो, ‘चुनाव लड्ने कि पार्टीको सङ्गठन गर्ने ?” राय बुझ्न खोज्दा गिरिजाबाबुले सङ्गठन नै रोज्नुभएको थियो । बिपी चुनाव लड्नुभयो अनि प्रजातान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । 

राजाका लोभीपापी आँखा फेरि चम्किन थाले । २०१७ साल पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी देशको शासनसत्ता फेरि हातमा लिए । त्यसपछि ३० वर्ष देशमा निरङ्कुश पञ्चायतले शासन ग¥यो राजालाई नै ‘मुखिया’ मानेर । सारा राजनीतिक अधिकारहरू खोसेका राजाले त्यसबेला सबैभन्दा बढी दलका नेताहरूलाई जेल हालेका थिए । कसैलाई घरभित्रै नजरबन्दमा राखेका थिए । त्यो बेला गिरिजाबाबु मात्रै होइन, उहाँकी धर्मपत्नी सुषमा र नाबालिका छोरी सुजातालाई पनि थुनामा राखिएको थियो । 

राजाले जेल हालेपछि उहाँले जेलभित्रै आमरण अनशन गर्नुभएको थियो । भारतका महात्मा गान्धीको जीवन र सिद्धान्तबाट प्रभावित हुनुभएका गिरिजाबाबु कलिलै उमेरदेखि आफ्नो सङ्कल्पमा यतिसम्म हठी हुनुहुन्थ्यो कि त्यसका लागि उहाँले ज्यान मात्रै होइन, सबै दाउमा राख्नुहुन्थ्यो । अन्ततः उहाँलाई २१ दिनपछि जेलमुक्त गरिएको थियो । गिरिजाबाबु त निस्किनुभयो तर बिपी तथा गणेशमानहरू जेलभित्रै हुनुहुन्थ्यो । कांग्रेसका धेरै नेता भारतमा निर्वासित जीवन बिताइरहेका थिए । त्यसबेला गिरिजाबाबुले बिपीहरूलाई जेलमुक्त गराउन तथा निर्वासित जीवन बिताइरहेकालाई देश फर्काउनका लागि धेरै प्रयत्न गर्नुभएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेदेखि उहाँले राजाको त्यो कदमविरुद्ध धेरै कदम चाल्नुभयो । त्यसको करिब आठ वर्षपछि अर्थात् २०२५ सालमा जेलमुक्त भएपछि गणेशमान सिंहले भन्नुभएको थियो, “सामान्य नेता मात्रै होलान् भनेको त गिरिजा यत्रो कुशल वार्ताकार अनि राजनीतिमा यति परिपक्व होलान् भन्ने त मलाई लागेकै थिएन ।” 

लामो समय भारतमै निर्वासित जीवन बिताइरहनुभएका बिपी कोइरालाले २०३३ सालमा देश फर्किने निर्णय लिनुभएको थियो । देश फर्केर ‘मेलमिलाप’ को नीति अपनाएर प्रजातन्त्र फर्काउने उहाँको चाहना थियो, त्यही नीति लिएर उहाँ नेपाल फर्किनुभयो । गिरिजाप्रसाद भने भारतमै बस्नुभयो । त्यो बिपीकै निर्देशन थियो ‘परिआयो भने अर्को आन्दोलनको पनि तयारी गर्नु पर्छ’ भनेर त्यसको व्यवस्थापनका लागि बिपीले गिरिजाबाबुलाई भारतमै छोडेर आफू मात्रै फर्किनुभएको थियो । त्यसबेला भारतीय नेता सँगसँगै अन्तर्राष्ट्रिय समर्थन जुटाउँदै नेपालमा राजालाई दबाब सिर्जना गर्न गिरिजाबाबुले खेल्नुभएको भूमिका सदा स्मरणीय छ । 

२०३४ सालमा नेपाली कांग्रेसमा महामन्त्रीको जिम्मेवारी लिएर उहाँले पार्टीको सङ्गठनलाई निकै सक्रिय बनाउनुभयो । निर्वासित रहेकै बेला उहाँले पार्टीको आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन बलियो बनाइसक्नुभएको थियो । २०३७ साल वैशाखमा उहाँ नेपाल फर्किएर फेरि देशभरि पार्टी र सङ्गठनलाई अझ सुदृढ अनि बलियो बनाउने अभियान छेड्नुभयो ।

जीवनको अन्तिम क्षणमा बिपी कोइरालाले आफ्ना नजिकका मित्रसँग भन्नुभएको थियो, “कृष्णप्रसाद भट्टराईको जस्तो नीति, गणेशमानको जस्तो त्याग अनि गिरिजाजस्तो सङ्गठक भए कांग्रेसकै नेतृत्वमा नेपालमा प्रजातन्त्र चाँडै नै आउने छ ।” २०३९ सालमा स्वर्गीय हुनुभएका जननायक बिपीले भने जस्तै २०४६ सालको जनआन्दोलनले ३० बर्से पञ्चायत ढालेको थियो र देशमा फेरि प्रजातन्त्रको उज्यालो छरिएको थियो । त्यसको कमान्डर गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद नै हुनुहुन्थ्यो । 

२०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपालमा प्रजातान्त्रिक संविधान जारी भयो । त्यसपछि २०४८ सालमा भएको आमनिर्वाचनमा गिरिजाप्रसाद कोइराला मोरङ र सुनसरीबाट अत्यधिक मतका साथ विजयी हुनुभयो र कांग्रेसको संसदीय दलको नेता पनि बन्नुभयो । त्यसपछि २०४८ जेठ १२ गते उहाँ देशको प्रधानमन्त्री बन्नुभयो । ३० बर्से पञ्चायतपछि प्रजातान्त्रिक चुनावबाट जितेर प्रधानमन्त्री बन्ने सौभाग्य गिरिजाबाबुको थियो । 

प्रजातान्त्रिक कालमा देशको राजनीति सबैले अपेक्षा गरेजस्तो स्थिर भने हुन सकेन । पार्टी पार्टी अनि पार्टीभित्रै पनि आन्तरिक कलह बढिरहेको थियो । दलहरू पनि एकआपसमा मिल्न सकिरहेका थिएनन् । अन्ततः दलीय कलहकै बिचमा २०५२ सालमा माओवादीले सशस्त्र द्वन्द्व थाल्यो ।

२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड देशमा अर्को उथलपुथलको एउटा टर्निङ प्वाइन्ट बनिदियो । ज्ञानेन्द्र शाहले सत्ता र शक्ति आफ्नो हातमा लिनासाथ माओवादीले आफ्नो युद्धको गति अझ तेज र विस्तार गरिरहेको थियो । २०५८ मङ्सिर ८ गते दाङमा सैनिक ब्यारेकमाथि आक्रमण गरेर माओवादीले दरबारविरुद्ध सिधा धावा बोलेको थियो । मङ्सिर ११ गते तत्कालीन देउवाको सरकारले सङ्कटकाल घोषणा ग¥यो । त्यसबाट कांग्रेसभित्रको आन्तरिक कलह झन् उत्कर्षमा पुग्यो । सङ्कटकाल थप गर्ने विषयमा भएको आन्तरिक मतभेदले प्रतिनिधि सभा विघटन मात्रै भएन बरु कांग्रेसको बाटो नै फाट्यो । शेरबहादुर देउवाले नयाँ पार्टी बनाउनुभयो । राजनीतिक घटनाक्रम यत्तिमै सीमित रहेन । 

राजा ज्ञानेन्द्रले सङ्कटकाल घोषणा गरेपछि अन्योलपूर्ण अवस्थामै गिरिजाबाबुले ‘राजतन्त्र’ जान्छ भनिसक्नुभएको थियो । त्यसका लागि उहाँले मूलधारमा रहेका संसदीय दलहरू मात्रै होइन, जङ्गलमा युद्ध गरिरहेको माओवादीसँग समेत भित्री सहमति गरिसक्नुभएको थियो । संसदबिना सरकार र व्यवस्था प्रजातान्त्रिक नहुने भन्दै संसद् पुनस्र्थापनालाई बटमलाइन बनाएर गिरिजाबाबु सबै राजनीतिक दलको साथ लिँदै २०६० वैशाख अन्तिमतिर आफैँ सडकमा ओर्लिनुभयो । यो आन्दोलनलाई सबै राजनीतिक दल र माओवादीको पनि नैतिक समर्थन थियो । 

२०६२ सालको अन्तिमतिर आन्दोलनको उत्कर्षमा त माओवादी पनि अरू दलसँगै मिसिएर सडक आन्दोलनमा आइसकेको थियो । माओवादीसहित सारा राजनीतिक दल अनि लाखौँ जनताले दरबार घेर्न थालेपछि २०६३ वैशाख ८ गते राजा ज्ञानेन्द्रले एउटा शाही घोषणा गर्नुभयो तर आन्दोलन त्यत्तिकैमा रोकिएन । बरु दलहरूले अझ सशक्त आन्दोलनको घोषणा गरे । यो घोषणामा राजा ज्ञानेन्द्रले आफूले सत्ता छोडेको घोषणा गर्नुभएन, सात दललाई प्रधानमन्त्रीका लागि आह्वान गर्न आउनु मात्रै भन्ने सन्देश दिनुभएको थियो ।  अन्ततः वैशाख ११ गते राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरिदिनुभयो । संसद् पुनस्र्थापना भयो । त्यसमा सबै दलले सललाह गरेर माओवादीलाई पनि संसद्मा भित्र्याउने सहमति भइसकेको थियो । आखिरमा गिरिजाबाबुले आफ्नो अठोट पूरा गरेरै छोड्नुभयो । उहाँकै पहलमा १२ बुँदे सम्झौता भएर माओवादी शान्ति प्रव्रिmयामा आयो । 

गिरिजाबाबु जति बाँच्नुभयो, पूर्ण राजनीतिक जीवन नै बाँच्नुभयो । व्यक्तिगत जीवनलाई उहाँले राष्ट्र र प्रजातन्त्रकै लागि समर्पित गर्नुभयो । अनि त्यसकै खातिर बाँच्नुभयो । सङ्घर्ष, प्रजातन्त्र अनि राजनीति नै उहाँको जीवन सिद्धान्त बने । उहाँको पछाडि फर्केर नहेर्ने बानी अन्ततः मुलुककै लागि हितकर बन्यो । क्रान्तिपुरुष गिरिजाबाबुको सयौँ जन्मजयन्तीका अवसरमा श्रद्धासुमन व्यक्त गर्दछु । 

Author

डा. शोभाकर पराजुली