• १९ असार २०८१, बुधबार

स्थानीय उत्पादन प्रवर्द्धन गर्न कोसेली घर सञ्चालन

blog

बेनीको कालिपुलमा सञ्चालनमा आएको कोसेली घर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असार १७ गते । म्याग्दीको स्थानीय उत्पादनको बजारीकरण गर्न बेनीको कालिपुल बसपार्कमा कोसेली घर सञ्चालनमा आएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घ र महिला उद्यमी विकास समितिको संरक्षणमा कालिपुलस्थित पर्यटक सूचना केन्द्रको भवनमा कोसेली घर सञ्चालन गरिएको हो । 

सोमबार कोशेली घरको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । म्याग्दी र मुस्ताङको भ्रमणमा आएका पर्यटकहरुलाई कोसेली घरबाट स्थानीय उत्पादन बिक्री गर्न सहज हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "जिल्लामा उत्पादन हुने टिमुर, भागो, कृषि उपज, अल्लोबाट निर्मित कपडाहरु कोसेली घरबाट पर्यटकको हातमा पुग्ने छन् । जसले स्थानीय उद्यमीलाई प्रोत्साहन मिल्नेछ ।" पर्यटक सूचना केन्द्र र कोसेली घर सञ्चालनका लागि बेनी नगरपालिकाले प्रोत्साहन गर्ने उहाँको भनाइ थियो । 

बेनी नगरपालिका उपप्रमुख ज्योती लामिछानेले कोसेली घरले ग्रामीण महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बिक्री वितरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । कोसेली घर स्थापनाले महिला उद्यमशीलतामा वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

जिल्लामा उत्पादन भएका कृषि उपज र हस्तकलाका सामग्रीहरु सहज रुपमा पर्यटकका हातमा पुगोस् भनेर कालिपुल बसपार्कमा कोसेली घर सञ्चालन गर्न सङ्घले सहयोग गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । कोसेली घर सञ्चालनको जिम्मेवारी महिला उद्यमी दिलु घतानेले लिनुभएको छ । 

कोसेली घरमा ढाकाका उत्पादनहरु साडी, कुर्तासुरुवाल, ब्याग,अल्लोबाट निर्मित कपडाहरु, पूजाका लागि प्रयोग हुने दुना टपरी, धूप बत्ती, उनबाट बनेका कपडा, बाँसका मुढा, हातले बुनेका ढाकाका टोपी, विभिन्न प्रकारका अर्गानिक अचार, टिमुर, खादासहितका सामग्री र स्थानीय कृषि उत्पादनहरु राखिएको कोसेली घर सञ्चालक दिलु घतानेले जानकारी दिनुभयो । बाँसबाट निर्मित सामग्रीहरु र विभिन्न जातजातिका भेषभूषाका सामग्रीहरु कोसेली घरमा बिक्रीका लागि राखिएका छन् । पर्यटकले कोसेली घरबाट सुपथ मूल्यमा सामाग्रीहरु खरिद गर्न सक्ने उहाँले बताउनुभयो । 

कोसेली घर सञ्चालनमा आएपछि पर्यटकहरुलाई एकै ठाउँबाट स्थानीय उत्पादनका सामग्रीहरु खरिद गर्न सहज हुने महिला उद्यमी विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले बताउनुभयो । जिल्लामा उत्पादन भएका स्थानीय सामग्रीहरु अन्तरिक र विदेशी पर्यटकहरुले म्याग्दीको चिनो स्वरुप लैजान पाउने वातावरण कोसेली घरले सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले बताउनुभयो ।