• १८ असार २०८१, मङ्गलबार

हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्ने बढ्दै

blog

मानसरोवर कैलाशको दर्शनका लागि सिमकोट विमानस्थलमा जहाज । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार १४ गते । हिल्साबाट चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ । कोरोनाको अवधिमा बन्द रहेको हिल्सा नाका चीनले गत वर्षबाट सञ्चालनमा ल्याएपछि मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । 

गत वैशाख १५ गते यता सिमकोट हुँदै हिल्साबाट चीनको ताक्लाकोटबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या हालसम्म ११९ जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । केरुङ नाकाबाट आउनुभएको ४५ जना पर्यटकहरू हिल्साबाट सिमकोट हुँदै नेपालगन्जतर्फ लागेका थिए । 

गत वर्षबाट हिल्सा नाका चीनले दुई तर्फी खोले पनि जम्मा १७ जना पर्यटकहरूले हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गर्नुभएको थियो । उहाँले गतवर्ष भन्दा पाँच गुण बढीले मानसरोवर कैलाशको दर्शन गरिसकेको र यो क्रममा अझै बढ्ने पर्यटन व्यवसायी गोर्ख लामाले बताउनुभयो । उहाँले अझै धेरै समूह आउने तयारी रहेको बताउँदै यस वर्ष पर्यटक आगमन वृद्धि हुने बताउनुभयो । 

भारतीय धार्मिक पर्यटकहरूलाई हिल्सा नाकाबाट प्रवेश नदिएको कारण एनआए र अन्य देशका पर्यटकहरू आएका छन् । २०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट ३१ हजारभन्दा बढी भारतीय लगायतका धार्मिक पर्यटकहरूले हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । पर्यटकहरू आउन थालेपछि सीता, तारा र समिट एयरका जहाजले दैनिक उडान भर्न थालेका छन् भने सिमकोटबाट हिल्सासम्म पर्यटक ओसार्नका लागि सिम्रिक एयरको हेलिकोप्टर सिमकोट विमानस्थलमा नाइट स्टे रहँदै आएको छ । 

यता नेपाली भूमि नाम्खा गाउँपालिका-६ को लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नेको सङ्ख्या पनि दैनिक बढ्दै गएको छ ।