• १८ असार २०८१, मङ्गलबार

तीन दिनदेखि गाउँ नै अन्धकार

blog

हावाहुरीले हरिवन १ मा ढलेको बिजुलीको पोल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार १६ गते । चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ बिलन्दी र बेलडाँडाका स्थानीय तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । 

गएको बिहीबार राति भएको भीषण वर्षापछि हरिवन १ र ८ को सिमाना फेदीमा बिजुलीको पोल ढलेर तार लत्रिएका कारण चुरेपाखामा पर्ने बिलन्दी र बेलडाँडाका करिब १५० घरधुरी अन्धकारमा बस्नुपरेको हो । बेलडाँडाका स्थानीय अशमान थिङले तीन दिनदेखि बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्नुपरेको गुनासो गर्नुभयो । 

बिजुली बत्ती नहुँदा स्थानीयलाई मोबाइल चार्ज गर्नसमेत समस्या परेको वडाध्यक्ष टमबहादुर घिसिङले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले बारम्बार पानी परिरहँदा बिग्रिएको लाइन सुचारु गर्न समस्या भएको जनाएको छ । 

वितरण केन्द्र प्रमुख त्रिभुवन यादवले हरिवन १ को विद्युत् सुचारु गर्न आज (आइतबार) प्राविधिक खटिने बताउनुभएको छ । उहाँले बिजुलीको पोल ढलेको मर्मत सम्भारका लागि ठेकेदारमार्फत काम भइरहेको जानकारी दिनुभयो । 

लालबन्दी वितरण केन्द्र अन्तर्गत नै पर्ने लालबन्दी वडा नं. १३ पत्थरकोट र वडा नं. १४ नारायण खोला क्षेत्रमा पनि बत्ती अवरुद्ध भएको छ । यस्तै शनिवार राति हावाहुरी र चट्याङसहित पानी परेपछि जिल्लाको मलङ्गवा वितरण केन्द्र अन्तर्गतको गडहिया डुमरिया क्षेत्रमा पनि विद्युत् अवरुद्ध हुन पुगेको छ ।