• १८ असार २०८१, मङ्गलबार

सामुदायिक पुस्तकालय सम्मेलनद्वारा घोषणापत्र जारी

blog

काठमाडौँ, असार १६ गते । सार्वजनिक तथा सामुदायिक पुस्तकालयको बागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय सङ्घको आयोजनामा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय लाजिम्पाटमा दुई दिनसम्म चलेको सो सम्मेलन शुक्रबार सम्पन्न भएको हो । सम्मेलनले सुजाता विष्टको अध्यक्षतामा सात सदस्यीय नेपाल सामुदायिक पुस्तकालय सङ्घको बागमती प्रदेशस्तरीय समिति तथा काठमाडौँ  उपत्यका सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा गोविन्दप्रसाद पोखरेल अध्यक्षतामा सात सदस्यीय सल्लाहकार समितिको गठन गर्दै १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । 

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका सदस्य सचिव यादवचन्द्र निरौलाले सम्मेलनले पुस्तकालयको क्षेत्रमा नयाँ बाटो पहिचान गर्न सक्षम भएको बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय सङ्घको आयोजनामा यसभन्दाअगाडि छ वटा प्रदेशमा सम्पन्न भइसकेको छ । 

सम्मेलनबाट पारित १५ बुँदे काठमाडौँ घोषणापत्रमा प्रदेश सरकारको पुस्तकालय हेर्ने मन्त्रालयमा पुस्तकालय विज्ञान समूहको कम्तीमा अधिकृत सरहको र स्थानीय तहमा राजपत्र अङ्कित प्रथम श्रेणी वा सोसरहको कर्मचारीको अनिवार्य व्यवस्था गर्न माग गरेको छ । साथै सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालन गर्न पुस्तकालय तथा सूचना विज्ञान विषयमा कम्तीमा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको कर्मचारी अनिवार्य राख्न हरेक स्थानीय तहसँग माग गरिएको छ । यस्तै पुस्तकालय ऐन बनाउन, पठन संस्कृतिको विकास गर्न, पुस्तकालयका लागि अन्तरपुस्ता ज्ञान आदानप्रदान गर्नेलगायत कुरा घोषणापत्रमा उल्लेख गरिएको सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।