• १८ असार २०८१, मङ्गलबार

संस्थान नेतृत्वद्वारा जेठो विद्यालयको निरीक्षण

blog

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई गोरखापत्र संस्थानको प्रकाशन हस्तान्तरण गर्नुहुदै कार्यकारी अध्यक्ष र महाप्रबन्धक ।

नगेन्द्रकुमार कर्ण

महोत्तरी, असार १५ गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष नेतृत्वको टोली शनिबार महोत्तरी सदरमुकाममा रहेको प्रसिद्ध जलेश्वरनाथ मन्दिरको दर्शन गरी नेपालकै जेठो मानिने विद्यालयको अवलोकन गर्नुभएको छ । 

कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईसहितका टोली मटिहानीमा रहेको नेपालकै पहिलो राजकीय संस्कृत माध्यमिक विद्यालयमा पुगेर विद्यालय बारेमा जानकारी लिनुका साथै विद्यालयको अवलोकन गर्नुभयो ।  

विद्यालयका बटुकहरुले उहाँहरुलाई रुद्रीपाठले स्वागत गर्नुका साथै विद्यालयका प्राचार्य ईश्वरी पौडेलले विद्यालयको अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले नेपालकै जेठो पत्रिका गोरखापत्रको टिमलाई जेठो विद्यालयमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । 


सो अवसरमा गोरखापत्र संस्थान टोलीको तर्फबाट महाप्रबन्धक लालबहादुर ऐरीले स्वागतका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरुले नेपालको प्रसिद्ध मठको रुपमा रहेको लक्ष्मीनारायण मठको पनि अवलोकन गर्नुभयो ।  

टोलीलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मायाको चिनो, गमछासहित स्वागत गर्नुका साथै मटिहानीको वर्तमान स्थितिबारेमा जानकारी गराउनुभएको थियो । गोरखापत्र टोलीले नगरप्रमुख मण्डल र प्राचार्य पौडेललाई गोरखापत्रको पहिलो अंक र पुस्तक मायाको चिनोको रुपमा हस्तान्तरण गर्नुभयो ।