संस्कृतमा आषाढ महिना भनेर चिनिने असारलाई हामी ऋतुचक्र अनुसार तेस्रो महिनाका रूपमा लिन्छौँ । असारको शाब्दिक अर्थ सार नभएको हुन्छ तर नेपाली लोकजीवनमा भने असारलाई सारयुक्त महिना मानिन्छ । त्यसैले हाम्रो जस्तो कृषिप्रधान देशमा असारको निकै महत्व छ । असार सुनौलो भविष्य बोकेको महिना हो । असारमा रोपेर मङ्सिरमा अन्न भित्र्याउन पाइने भएका कारण यस महिनालाई विशेष मानिन्छ । आर्यइरानेली भाषामा असार शब्दले इरान देशको लोरेस्टान जिल्लाको एउटा कृषिप्रधान गाउँलाई पनि बुझाउँछ ।
जब असार महिनासँगै मनसुन सुरु हुन्छ तब नेपाली ग्रामीण क्षेत्रमा कृषकहरू रोपाइँ गर्न व्यस्त हुन्छन् । असारलाई मानो छरेर मुरी उमार्ने समयका रूपमा लिइन्छ । ऋतुचक्र अनुसार साउन भदौलाई वर्षा मानिए पनि असारलाई नै खेतीपाती र वर्षायाम मानिन्छ । असार महिनाभित्र अनेकौँ विविधता पाइन्छन् । रोपाइँ, बेठी, असारे गीत, असारे फूल, असार १५, दही चिउरा आदिको जीवन्त मिश्रण यस महिनामा नै पाउन सकिन्छ ।
त्यस्तै, असार महिनाको १५ गतेलाई विशेष महत्वका रूपमा असार १५ भनेर धूमधामका साथ मनाइन्छ । यस दिन रोपाइँ गरी दही चिउरा खाएर नाचगान गरी मनाउने चलन छ । असार १५ का दिन रोपाइँ गर्दै हिलो खेल्ने र असारे गीत पनि गाउने गरिन्छ । असार पन्ध्रलाई स्थानीय स्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा नै धान दिवसका रूपमा मनाइन थालिएको छ । त्यस्तै, असार १५ दही चिउरा भन्ने लोकोक्ति लोकमा परापूर्वकालदेखि चलिआएको हो । आयुर्वेदमा दही सेवनलाई स्वास्थ्यको दृष्टिले उपयुक्त मानिन्छ । त्यस्तै ग्रामीण भेगमा दही चिउरा खाने चाडका रूपमा पनि यो दिन प्रचलित छ । दही चिउरा खानु स्वास्थ्यका दृष्टिले पनि ज्यादै महत्वपूर्ण रहेको छ । पाचनशक्ति बढाउन, कब्जियत हटाउन, छाला नरम पार्न, पेट सफा राख्न शीतलता प्रदान गर्न वा ताकत प्रदान गर्न दही सेवन गर्नु ज्यादै राम्रो मानिन्छ । त्यसैले असार पन्ध्रमा दही चिउरा सेवन गर्ने परम्परा परापूर्वकालदेखि चलिआएको हो ।
असार मासमा खेत रोप्दा गाइने गीत नै असारे गीत हो । खेतका आलीमा बसेर खाजा खाँदै होस् वा घुम ओडेर बिउ रोप्दै मुक्त कण्ठबाट प्रवाहित हुने सुरिलो भाका नै असारे गीत हो । यस बेला लहरै आलीमा बसेर खाजा खाँदाको रौनक नै अर्कै देखिन्छ । त्यसो त असारमा हिलोसँग पौँठेजोरी खेल्दै छुपुछुपु धान रोप्ने खेतालाहरूको खाजा पनि खेतमै ल्याइदिने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ । सामान्यतया जलखाईमा गहुँको पिठोको बाक्लो रोटी र अचार हुन्छ भने पहाडतिर अर्नीका रूपमा दही चिउरा, तरकारी वा दाल, भात, तरकारी, अचार दिइन्छ । दही चिउरा, केरा, आँपलगायत परिकारले यस दिनलाई अझ विशेष बनाउने भएकाले नै होला असार पन्ध्रध्र लाई दही चिउरा खाने दिन पनि भनिन्छ । आफ्नै घरमा भएको दुहुनो गाई या भैँसीको दुध आफँैले जमाएको दही र आफ्नै घरको ढिकी वा ओखलमा कुटेको धानको चिउरा भए त अरू के नै चाहियो र ?
लोक जीवनमा असार मासमा मात्र गुञ्जने सुमधुर लोकभाका असारे गीतलाई पूर्वी नेपालमा रसिया भनिन्छ । काठमाडौँ उपत्यकामा गाइने यस गीतलाई गण्डकी प्रदेशतिर काँठेभाका भनिन्छ । त्यस्तै, पूर्वी नेपालमा गुञ्जने असारे गीतमा विविध लय पाइन्छन् । असारमा मात्र गाइने यो गीत कर्मगीतको एउटा सुन्दर उदाहरण हो । रोपाइँको बेला यो गीत गाउँघरतिर रनवन घनक्क घन्कने गरी गुञ्जन्छ । असारे गीत व्याकरणीय र सङ्गीत विज्ञानका आधारमा समेत ज्यादै खारिएको र उत्कृष्ट पाइन्छ । यसमा लोकजीवन र रीतिरिवाजसँगको सामीप्यका साथसाथै हास्य, करुण रसको सहज अनुभूति पनि पाउन सकिन्छ । असारे गीतमा वास्तवमै जीवन र जगत्सँगै साइनो गाँसिएका कारण मिलन, विछोड, प्रकृति वर्णन, व्यङ्ग्य आदिलाई पनि लयबद्ध रूपमा जीवन्तता दिइएको पाइन्छ । असारे गीतका भाकामा गीतका फाँकीहरू १६–१६ अक्षरका हुन्छन् र हरेक एक पाउका १० अक्षरमा विश्राम लिई लामो स्वरमा लेग्रो तानी गाइन्छ । नेपालको पूर्वी भेगमा प्रचलित असारे गीतको लय एकै प्रकारको देखिन्न । यो गीत गाउँदा अन्त्यमा अनुप्रास मिलेको हुनु पर्छ । लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बिचमा अनुप्रासका टुक्का मिलाई अन्तिम फाँकी गीत भन्ने चलन छ ।
न भित्र खोक्रो न बाहिर बोक्रो गुलियो कसार
पूर्वको ढोका खोलेर हेर्दा लागेछ असार ।
असारे मासको दबदबे हिलो छि ! मलाई घिनलाग्यो
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो,
बेलौती काँचो, ख्याल हैन साँचो, छ बिस रिन लाग्यो ।
सिरि पशुपति सिरि गुजेश्वरी, उही माथि आर्जेघाट
बालाजोवनको हातको माला सुक्यो कहिले होला भेटघाट
तेञ्जिङ शेर्पा, हिमाल चढ्यो भन्छन्, कहिले होला भेटघाट ।
असारे गीत झरीमा रुझेर वा हिलोमाथि खेलेर हली, बाउसे, रोपाहार जोसुकैले पनि सुरिलो भाकामा गाउँछन् । आपसमा रमाइलो गरी गीत गाउनु, हिलो खेल्नु रोपाइँको क्रममा देखिने रौनकता हो । असारे गीत नेपाली ग्रामीण जनजीवनमा परम्परागत रूपमा व्यवहृत हँुदै आएको भए पनि वर्तमान समयमा सङ्कटमा परेको छ । त्यसैले, यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।
असार मासमा घर वरपर फुल्ने फूल नै असारे फूल हो, जुन फूल ग्रामीण क्षेत्रतिर बारीका डिलमा र सहरी क्षेत्रमा पनि पार्क र नर्सरीतिर फुलेका देख्न सक्छौँ । असारे फूल यही बेला ढकमक्क फुल्ने गर्छ । असारमा मात्र फुल्ने भएका कारण यसलाई असारे भनिएको हो । जब यो फूल फुल्न थाल्छ तब असार मास शुभारम्भ भएको प्रतीत हुन्छ । रोपाइँको अवसरमा रोपारहरूको निधारमा रातो टीका र चुल्ठोमा असारे फूल सिउरिएको देखिन्छ ।
हाम्रो जस्तो कृषिप्रधान देशमा कृषिलाई आधाुनिकीकरण गर्न नसकेका कारण खाद्यान्न आयात न्यूनीकरण हुन सकेको छैन । उक्त आयात न्यूनीकरणका लागि अब कृषिलाई उच्च प्राथमिकता दिएर नीति निर्माण गर्नुपर्ने देखिन्छ । त्यस्तै, नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएको छ, जसका कारण धान उत्पादनमा समेत ह्रास आएको देखिन्छ । पर्याप्त पानी परेन भने झन् कृषकलाई असार खल्लो बन्न पुग्छ । पर्याप्त पानी भएमा रोपाइँ गर्दाको मज्जा नै अर्कै हुन्छ । नेपाल जस्तो जलस्रोतको धनी देशमा पनि असारमा खेत रोप्न ज्यादै सास्ती भएको पाइन्छ । सिँचाइको राम्रो प्रबन्ध हुन नसक्दा कृषिप्रधान र जलस्रोतको धनी देशले अझै पनि खाद्यान्न आयात गर्नु परेको छ र आकाशे खेतीमा भर पर्नु परेको छ । हाम्रो श्रमशक्ति खेर गइरहेको अवस्था छ । त्यसको समुचित उपयोग गर्न राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । यदि सिँचाइको व्यवस्था गर्ने हो भने पक्कै पनि खाद्यान्नका लागि अरूको मुख ताक्नु पर्दैन । असार १५ मा स्वदेश, विदेश जता भए पनि नेपालीले दही चिउरा खाने गर्छन् । यस दिनले अप्रत्यक्ष रूपमा दही चिउरासँगै कृषिकर्ममा हाम्रो आत्मनिर्भरता र माटो खोस्रने साहसको माग गरेको प्रतीत हुन्छ । कृषि अब जीवन धान्ने परिपाटीको होइन, व्यावसायिक बन्नु पर्छ ।
नेपाली माटोमा परम्परादेखि खेती हुँदै आएका धानका जातमा मन्सुली, मार्सी, बासमती, घैया, बगडी आदि छन् । यीबाहेक पछिल्लो समयमा आएर थुप्रै नयाँ जातका धानका बिउ पनि खेती हुन थालेका छन् । त्यसैले, रैथाने जातका बिउको संरक्षण गर्दै उत्पादनमा वृद्धि गर्नेतर्फ कृषक पनि सचेत हुनु पर्छ । हामी चामल आयात होइन, निर्यात गर्ने उच्चकोटीको देश भनेर चिनिनु पर्छ ।
कामको खोजीमा युवा बिदेसिनु परिरहेको वर्तमान परिप्रेक्ष्यमा कृषिलाई राज्यले प्रमुख प्राथमिकता दिनु पर्छ । अनि स्वदेशमा नै रोजगारी सिर्जना हुन्छ र बिदेसिने युवाको दर पनि न्यून हुन पुग्छ । यदि दिनहुँ बिदेसिने युवालाई सिपमूलक तालिम दिएर कृषि पेसामा आकर्षित गर्न सकिएमा बिदेसिने युवाको दर न्यून गर्न सकिन्छ । परनिर्भरता पनि केही हदसम्म कम गर्न सकिन्छ । खेतबारी बाँझै छन् । कृषि उपजमा हामी आयातमा भर पर्नु परेको छ, जसका कारण असार अझै लोकजीवनमा ठुलो चाड बन्न सकेको छैन । हाम्रा उर्वर भूमि दिनप्रतिदिन बाँझो हुँदै छन् । स्वदेशी श्रम र सिप विदेशमा पोखिने क्रमलाई अन्त्य गर्दै युवालाई परिचालन गरी स्वदेशमा नै उनीहरूको श्रम र सिपलाई व्यवस्थापन गर्न सक्नु पर्छ । कृषिमा युवा सहभागिता बढाएर कृषिप्रधान देशको अर्थ सान्दर्भिक बनाउन सकिन्छ ।
त्यसो त वैदिक कालदेखि नै असार महिनाको विशेष महत्व रहेको पाइन्छ । असारको सामाजिक, सांस्कृतिक, जैविक, प्राकृतिक एवं आर्थिक महìव मात्र नभई साहित्यिक महìव पनि उत्तिकै रहेको पाइन्छ । आषाढस्य प्रथम दिवशे भनेर मेघदूत काव्यमा कालिदाशले आषाढको वर्णन गरेको पाइन्छ भने यसलाई आधार बनाएर विभिन्न कविता, गीत आदि साहित्य रचना गर्ने काम पनि भएको पाइन्छ ।