बाल्यकालमा गाउँमा असार महिनामा रोपाइँ गरेको याद सधैँ आइरहन्छ । हामी कृषकका छोराछोरी हौँ । अध्ययनका क्रममा मेची महाकालीका युवा काठमाडौँ प्रवेश ग¥यौँ । उच्च शिक्षा हासिल ग¥यौँ । कोही जागिरको क्रममा उपत्यकालगायतका ठाउँमा बस्न पुग्यौँ भने कोही विदेशको भूमिमा जीवन व्यतीत गर्न पुग्यौँ । कृषि पेसा अपनाएका परिवारका हामी अर्ध कृषक बन्यौँ । असार महिनाको खेतको पाँगो र पानीसँग परिचित बन्न भुल्यौँ । हलगोरु जोतेर खेतमा धानको बिउ रोप्नबाट बन्चित भयौँ । आफ्नो खेतको अनाजमा भन्दा बजारमा किनेर अखाद्य चामलको भात खान बाध्य भयौँ । कोदाली चलाउने हात कलम चलाउँदा यदाकदा भ्रष्टाचारीको पगरी पनि भिर्याैं ।
वर्तमान समयमा यी कटुसत्य घटना सम्झेर उमेर ढल्केको अवस्थामा गाउँको मायाले निकै पोल्दो रहेछ । सहरमा अध्ययनका क्रममा रहँदा देशमा आर्थिक र सामाजिक परिवर्तन हुनु पर्छ भनी त्यसबेलाका हामी मेची महाकालीका लाखौँ युवा २०३५/३६ सालको विद्यार्थी आन्दोलन गर्दै २०४६ र २०६२/६३ सालको जनक्रान्तिमा सहभागी भयौँ । क्रान्ति सफल पा¥यौँ । व्रmान्तिमा होमिनेमध्ये कति जना सहिद भए भने कतिपय वर्षांैसम्म राजधानीलगायत धेरै ठाउँका कारागारमा थुनिए । व्यवस्था र शासनप्रणाली परिवर्तन भयो तर कार्यशैली परिवर्तन भएन । विदेशी मल स्वदेशी माटोमा मिसाएर धानखेती गर्न बाध्य भइरह्यौँ । जन्मभूमिको जमिन बाँझो हुँदा हामी सहर र विदेशमा बसी पछुतो मानिरहेछौँ । अब आआफ्नो पिता पुर्खाले आज्र्याको जमिनमा भावी सन्ततिलाई एक पटक पाइला टेकाउन र जौ तिलका दाना उमार्न उपदेश दिन पाए धन्य हुने थियो भन्ने लाग्न थालेको छ । यो पङ्क्तिकारको मात्र नभई हाम्रो पुस्ताका सबै जसोमा यही भावना प्रस्फुटित भइरहेको आभास हुन्छ ।
आज असार १५ गते । सरकारले यस दिनलाई धान दिवसका रूपमा मनाउन लागेको पनि धेरै भयो । आकाशे पानीको भरमा रोपाइँ हुने पहाडी खण्डका धेरै खेतमा रोपाइँ हुन नसकेका खबर पनि सञ्चार माध्यमले दिइरहेका छन् । देशका अन्य प्रदेश झैँ सुदूरपश्चिम प्रदेशमा पनि असार १५ को दिन किसानका लागि हर्षको दिन हो । पश्चिम तराईमा त्यहाँका भूमिपुत्रले थारू संस्कृतिका गीत गाउने, गोरुलाई सिँगारपटार गरी जोत्ने, आपसमा हिलो छ्याप्ने, मिठो परिकार बनाएर खाने प्रचलन कायम राखिएको छ । समतामूलक र समावेशी समाज भएकाले समयको परिवर्तनसँगै चौधरीहरूको रोपाइँ गर्ने खेतमा पहाडी मूलका कृषक पनि सम्मिलित भएररोपाइँ गर्ने, रामरमिता गर्ने चलन पनि दिनप्रति दिन बढ्दै गएको छ ।
यसै गरी पहाडी जिल्लामा असार महिना कृषकका लागि हर्षको महिना हो, साथै बेफुर्सदिलो महिना पनि हो । मानो रोपेर मुरी उमार्ने बेला भएकाले सबै जना सूर्योदयदेखि सूर्यास्तसम्म खेतमा व्यस्त हुन्छन् । घरमा बस्ने मानिस खाना पकाउन व्यस्त, रोपाहार रोप्नमा भने हली जोत्नमा व्यस्त देखिन्छन् । देउडा गीतका भाका महिलाले मात्र लय मिलाइ मिलाइ सामूहिक रूपमा गाउने गर्छन् । धानको बिउ रोप्दै, गीत गाउँदै गरेको दृश्यले मन पग्लिन्छ, काम गर्ने जाँगर थप बढेर आउँछ । मानाैँ खेतमा धानको बिउले हार्दिकतापूर्वक पूजा गरे जस्तो ।
रोप्न्यारी वाइचौण राम्णी हली राम्णा लूल
नम्माई त लम्वीझा पन कर्णालीका पूल ।
रोप्न्यारी र हलीको बिचको तुलना गीतले गरेको छ । सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानी कर्णाली पुलको लम्बाइ, पुलको बनोट र एउटा खम्बा (पिलर) मा निर्मित देखेर दर्शक आनन्द मानी अवलोकन गर्छन् । देउडा गीतका आँसुकविलाई अझै पुलको लम्बाइ पुगेन जस्तो लाग्छ । अनि गीतमा माथि उल्लेख गरे झैँ भावना पोख्छन् । वर्षामास र देउडा गीत सङ्गीतको सम्बन्ध धेरै गाढा छ । अधिकांश देउडा गीतका अजम्बरी भाका वर्षामासमा नै जन्मेका हुन् । यी गीतको सम्बन्ध माटोको सुवाससँग मगमगाएकाले देउडा गीत भन्नु नै माटोका गीत हुन् । अझ असार महिना त धान रोप्ने, कोदो सार्ने (रोप्ने) महिना भएकाले देउडा गीतका शब्द, शैली, संस्कृति र गीतका जरा खेतका मलिला फाँटमा हुन्छन् ।
बारीको खेतबगाई लैगो पारीका खोलाले
राधिकाको दर्शन होईझाऊ कृष्णका चोलाले ।
लय– ओ वाज झुम्य्रौली वाज
गीतले द्वापरयुगका राधाकृष्णको संवादलाई जोडेको छ । यमुना नदी बढेर राधाकृष्णको दर्शन नहुन पनि सक्छ, भेट होस् भन्ने चाहना राख्दै गीतकारले वर्षामा पहाडी खोलाले दिने दुःखका बारेमा चर्चा गर्न खोजेको देखिन्छ ।
खेतमा धानको बिउ राख्नुलाई पोखो राख्नु भनिन्छ । पोखो राख्ने खेतलाई ‘बेल्नाटो’ (ब्याड) भनिन्छ । बेल्नाटो बनाउँदा दियो बत्ती बालेर मङ्गल गाउने गर्छन् । ज्योतिषको सल्लाह अनुसार जोरबारमा मात्र पोखा निकाली खेतमा रोप्ने काम गर्छन् । यो चलन कतै कतै बिस्तारै हराउँदै गएको देखिन्छ । रोपाइँ गर्ने ठुला ठुला खेतलाई ‘जिउला’ भनिन्छ ।
बझाङ, बाजुरा, डोटी, अछाम, डडेलधुरा, दैलेख, जुम्लालगायतका जिल्लामा ‘मलिला जिउला’ धेरै नै छन् । ती ‘जिउला’ अन्नका भण्डार हुन् । असार महिनामा यी जिउलामा रोपाइँ गर्दा किसानले आफ्ना कुलदेवताको नाममा चामल पैसा छुट्याउने, सबैले दही अक्षता लगाउने, मिठो परिकार बाँडीचुडी खाने गर्छन् ।
पहाडी खण्डमा गोरुलाई ‘वल्ल’ भनिन्छ । जुन नेपाली खस भाषा हो । वल्ललाई मिठो खानेकुरा खुवाई सलाम गरेर मात्र हलीले जोत्ने गर्छ । सायद शिवजीका वाहन सम्झेर त्यसो गरेको प्राचीन संस्कार पनि हुन सक्छ या पशुप्रति गरेको माया पनि हुन सक्छ । गोरु जोतिसकेपछि सुरु हुन्छ रोपाइँ गर्ने काम । बायाँ हातमा बिउ दायाँ हातले छिटो छिटो रोप्ने काम गर्छन् महिला वर्गले । आहा क्या रमाइलो हुन्छ रोप्ने बेलाको त्यो क्षण । अझ देउडा गीतका मिठा मिठा भाका सामूहिक रूपमा गाउँदै जाँदाको बेला कसरी भुल्न सकिन्छ र ? आपसमा ठट्यौली बोली, भाषा, गीतका लाक्षणिक शब्द सुन्दाको रमाइलो शब्दमा उतार्न सकिन्न ।
गोरु बाख्रा चराउनखी सरकारी बन् छ कि
तम्रो पनि मेरो जसो हौसिया मन छ कि ?
हौसिया मन अर्थात् रमाइलो गर्ने मन छ कि ? गीत गाउने एउटा समूहले अर्को गीत गाउने समूहलाई गरेको साङ्गीतिक सोधाइ हो यो । असार महिनाका गीतले रैवार (खबर) बोकेको हुँदा नारी वर्गले रोपाइँ गर्दा गाएका गीत सुनौँ सुनौँ लाग्छन् । अरू बेला भन्दा रोपाइँ गर्ने बेलाका देउडा गीत बढी भावुक, बढी रसिक र बढी अर्थपूर्ण हुन्छन् । यतिसम्मकी लोग्ने मानिसले गरेका यौन हिंसासम्मका गीत पोख्ने गर्छन् असार महिनामा । विशेष गरी असारको १५ मा । कामको चटारोले थाकेको बेला शारीरिक सम्पर्क गर्न नरुचाउने महिला आआफ्नो लोग्नेले इच्छाविपरीत गरेको कार्यलाई बलात्कार सम्झन्छन् । यी र यस्तै विषय रोप्ने बेलाको ठुलो समूहमा गीतमार्फत व्यक्त गर्छन् आपसमा महिला ।
माटोसँगको नाता कृषकका लागि धेरै गहिरो हुन्छ । पानी परेको बेला त रोपाइँ कार्य सरल हुन्छ । पानी परेन र कुलोबाट पानी आउन छाडेको खण्डमा उनीहरू पानी माग्नका लागि आआफ्नो देवीदेवताका मन्दिरमा गएर धामी चलाई भाकलसम्म गर्छन् । देवताप्रतिको आस्था माटोप्रतिको मायाले होला सायद, यति गरिसकेपछि त्यसबेला पानी पनि पर्ने गर्छ । बझाङ तलकोटका छणाखेती देवता उदाहरण हुन् । प्रकृतिसँगको शक्ति देवीदेवताप्रतिको भक्ति र माटोसँगको मायाले होला किसानका जिउला समयमा नै रोपारोले हराभरा देखिन्छन् । रोपाइँ गरिसकेपछि जिउलाका बिचमा मुठीभरिको रोपारो राख्ने चलन छ । जसलाई ‘पोथारो’ भनिन्छ । अनि महिला वर्गले आआफ्नो कपालमा बचेको रोपारो राख्ने गर्छन् । कपालमा यसरी राखेको धानको बिउलाई ‘भूरुणी’ भनिन्छ । आआफ्नो शिरको भूरुणीले शोभा दिने गर्छन् । भूरुणी वर्षामासका महिलाको शिरको शोभा हो ।
झुन् झुन्या बरषु लाग्यो काट्या बाटो दर्की
यसाई दिन् गै झान्या हुन् कि आउन्या हुन् कि फर्की ।
रोपाइँको अन्त्यतिर आइपुग्दा काम सम्पन्न गरेको खुशीमा उनीहरू रमाउँछन् । त्यसै गरी असार महिनाको यी रमाइला दिन फेरि पनि फर्केर आउँछन् कि ? ऋतुहरू पनि यत्तिकै बितेर जान्छन् भनेर आपसमा सखीहरू गीति संवाद गर्ने गर्छन् ।
रोपाइँ कार्य सम्पन्न गरेपछि पहाडी चलन अनुसार ‘मैझाणो’ को कार्य हुन्छ । मैझाणो असार १५ सम्पन्न भयो, बाली रोप्ने काम सकेर अब शरद ऋतुमा बाली भित्र्याउनु पर्छ भन्ने सन्देश दिने किसानको सानो पर्व हो । यस दिनमा इष्टदेवताको दियो जलाई वल्ल (गोरु) लाई मिठो खानेकुरा खुवाइन्छ । हलिप्रथा त वर्तमानमा लागु छैन, तैपनि आआफ्ना भाग्या (मालिक) को काम गर्ने सहयोगीलाई आर्थिक सहायता गर्ने, एकजोर नयाँ लुगा कपडा दिने गरिन्छ । गाउँमा मीठो मसिनो परिकार आपसमा बाँडेर खाने चलन कायम छ । सुदूरपश्चिमका भूभागमा आपसमा देउडा गीत गाएर यस प्रकार असार १५ मनाइन्छ ।