• १३ साउन २०८१, आइतबार

उम्मेदवारी फिर्ता गरेर बुटवलमा गठबन्धनलाई समर्थन

blog

उम्मेदवारी फिर्ता गरेर सिद्धार्थनगरमा गठबन्धनलाई समर्थन गर्दै उम्मेदवार। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख १६ गते।
सिद्धार्थनगर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट प्रमुखको पदमा उम्मेदवारी दिएका मनिषकुमार जोशीले उम्मेदवारी फिर्ता लिनुभएको छ।

यस्तै, नेपाली कांग्रेसबाट उप-प्रमुखको उम्मेदवार पल्लवी न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यससँगै भैरहवामा प्रमुख र उप-प्रमुखमा गठबन्धन एक भएर जाने पक्का भएको छ। गठबन्धनकातर्फबाट कांग्रेसका ईश्तियाक अहमद खान प्रमुखमा र माओवादी केन्द्रबाट कमला थापा उप-प्रमुखमा संयुक्तरुपमा जानु हुने भएको छ। वडामा भने दुवै पार्टी मैत्रीपूर्ण तरिकाले प्रतिस्प्रर्धामा जानेछन्। 

उम्मेदवारी फिर्ता लिने शुक्रबार (आज) दिन भएकाले उप-प्रमुख पदका अर्का उम्मेदवार राष्ट्रिय जनमोर्चाका दुर्गादेवी शर्माले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वडा नम्बर ४ का सदस्य बद्री थारु, नेकपा माओवादी केन्द्र तर्फबाट वडा नम्बर ७ बाट सदस्य पदका उम्मेदवार मुना देवकोटा र नेकपा माओवादी केन्द्रकै वडा नम्बर १० की महिला वडा सदस्यका उम्मेदवार बसीरुन निशाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ। रुपन्देहीमा सत्तारुढ गठबन्धनबाट प्रमुख र उपप्रमुखमा परेका अधिकांश उम्मेदवारी फिर्ता भएको छ।

बुटवलमा गठबन्धनभित्रका माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

बुटवल उपमहानगरमा प्रमुख पदमा जसपाका सुरज हितान, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पोखरेल तथा स्वतन्त्र उम्मेदवार रुद्रप्रसाद शर्मा र जस्मिन पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको हो।

उपप्रमुखमा बुटवलबाट जसपाकी सम्झना पौडेल, राष्ट्रिय जनमोर्चाकी रेणुकुमारी सिंह क्षेत्री, विवेकशील साझाकी कल्पना भण्डारी र स्वतन्त्रकी रचना श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभयो। यो समाचार तयार पार्दासम्म २७ जनाले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।