• १७ असार २०८१, सोमबार

सर्लाहीमा भारी वर्षा

अधिकांश क्षेत्र जलमग्न, पूर्व–पश्चिम राजमार्गमा बाढी

blog

भारी वर्षापछि जलमग्न लालबन्दी –५ स्थित रेल्वे क्षेत्र । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार १४ गते । शुक्रबार बिहान भएको भारी वर्षापछि सर्लाहीको अधिकांश क्षेत्र जलमग्न भएको छ । बिहान २ बजेदेखि ९ बजेसम्म लगातार परेको पानीपछि दर्जनौँ बस्ती डुबानमा परेका छन् । पानीको निकास नदि सडक निर्माण गरिँदा अधिकांश ठाउँमा डुबानको समस्या देखिएको हो । 

सडकमै बाढी बग्दा आउजाउ नै प्रभावित बनेको स्थानीयले बताएका छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्गको विभिन्न स्थानको लच्कामा बाढी आउँदा सवारी ओहोरदोहोर गर्न समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

ट्राफिक प्रहरी निरीक्षक मदन थापाले नवलपुरस्थित बागवानी केन्द्र अगाडि र हरिवनस्थित बजारमा रहेको लच्कामा बाढी आइरहेकाले पालैपालो सवारी वारपार गराइरहेको जानकारी दिनुभयो । जिल्लाका भित्री सडकमा पनि बाढी आउँदा मोटरसाइकसहितका साना सवारी ओहोरदोहोरमा समस्या भइरहेको स्थानीयले बताएका छन् । 

भारी वर्षापछि जिल्लाको बागमती, बाँके, कालिन्जोर, लखन्देही, फूलजोरलगायतका खोलामा बाढी आइरहेको छ । लालबन्दी नगरपालिका –३ का वडाध्यक्ष वुद्धदेव चौधरीका अनुसार लालबन्दी नगरपालिका –३, जब्दी र ईश्वरपुर नगरपालिका –८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलबाट पैदल र मोटरसाइकलबाहेक अन्य सवारी आउजाउ बन्द भएको छ । 

जब्दीतर्फ पुल छेरको सडक बगाएपछि पुलबाट आवतजावत बन्द भएको वडाध्यक्ष चौधरीले बताउनुभयो । शुक्रबार बिहान जिल्लाको उत्तरी भेगमा सात घण्टासम्म भारी वर्षा भए पनि सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगमा भने सामान्य वर्षा भएको स्थानीयले बताएका छन् ।