• ११ मंसिर २०८१, मङ्गलबार

हालसम्म ९.८ प्रतिशत रोपाइँ, राष्ट्रिय धान दिवस चितवनमा

blog

काठमाडौँ, असार १४ गते । असार १२ सम्म देशभरि ९.८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत धान रोपाइँ भएको छ भने सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र भएको छ । 

गत वर्ष असार १० सम्म सुदूरपश्चिम प्रदेशमा २२.६ प्रतिशत मात्र रोपाइँ भएको थियो भने मधेश प्रदेशमा २.९ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष कर्णाली प्रदेशमा २३.९ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा १८.३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ८.८ प्रतिशत र गण्डकी प्रदेशमा ८.३ प्रतिशत रोपाइँ भएको छ । कोशीमा ५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । 

यस वर्ष कुल १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने विभागले जनाएको छ । त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । गत वर्ष यतिबेला ८.७५ प्रतिशत मात्र रोपाइँ भएको थियो । 

सरकारले यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भनी मूल नाराका असार १५ गते २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन गइरहेको छ । 

यस पटकको धान दिवसको मुख्य कार्यक्रम चितवनको बछौलीमा हुने कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले बताउनुभयो । विभागले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा धान दिवस चितवनमा मनाउने जानकारी गराएको छ । 

यसअघि प्रत्येक धान दिवस काठमाडौँमै मनाउँदै आएको थियो । कृषिमन्त्री साहको विशेष पहलमा यस पटकको धान दिवस उपत्यकाबाहिर मनाउन लागिएको हो । जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं विकास तथा उपलब्ध प्रविधिको प्रचार गरी त्यसको अवलम्बन गर्न यस पटकको नाराले सन्देश दिएको महानिर्देशक घिमिरे बताउनुभयो । 

धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि रहेको बताउँदै महानिर्देशक घिमिरेले धानमा अन्तर्निहित विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्नका लागि २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको बताउनुभयो । 

चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो । आगामी आवमा धान उत्पादनमा वृद्धि हुने अनुमान कृषि मन्त्रालयले गरेको छ । धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले जनाएको छ ।  

धान उत्पादनमा वृद्धि भएपछि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो । आव २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षभन्दा आठ हजार आठ सय हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएको थियो तैपनि धान उत्पादन वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ । 

नेपाललाई खानका लागि मात्र ६८ लाख ७० हजार मेट्रिक टन धान चाहिन्छ । त्यसबाहेक बिउ, रक्सी, दानालगायत अन्य प्रयोजनका लागि छुट्टै ११ लाख मेट्रिक टन धानको आवश्यकता पर्छ अर्थात् नेपाललाई ७९ लाख ७० हजार मेट्रिक टन धानको आवश्यकता छ । यो हिसाब गर्दा २३ लाख ७९ हजार मेट्रिक टन धानको अभाव रहेको कृषि मन्त्रालयले जनाएको छ । 

तत्कालका लागि ६८ लाख ७० हजार मेट्रिक टन धान उत्पादन गर्न सकियो भने आयात गर्नु नपर्ने कृषि मन्त्रालयको दाबी रहेको छ । खानका लागि मात्र १३ लाख मेट्रिक टन धानको आवश्यकता छ, जसलाई चैते धानबाट पुर्‍याउन सकिने योजना कृषि मन्त्रालयले बनाएको छ । 

नार्कले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो । २०७४ सालमा नार्कले चैतमा किसानलाई चैते–५ जातको धान लगाउन सकिने सिफारिस गरेको थियो । त्यही बेलादेखि चैते धानमा सरकारले लगानी गर्न सुरु गरेको देखिन्छ । चैते–५ जातको धानको दाना मसिनो, धेरै फल्ने, रोग र किरा कम लाग्ने भनेर प्रमाणित गरेपछि किसानले यो धान लगाउन सुरु गरेका थिए । अहिले किरा कम लाग्ने, मोटो दाना भएको चैते–४ जातको धान पनि आइसकेको छ । यो जात पनि किसानले मन पराउन थालेका छन् । 

बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेका नयाँ नयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ । हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरिएको छ । हाल नेपालमा एक लाख ५० हजार हेक्टरमा चैते धान खेती हुन्छ ।