• १९ असार २०८१, बुधबार

काँग्रेस कार्यालय तोडफोडमा संलग्न रहेको आशङ्कामा दुई जना नियन्त्रणमा

blog

बाबुराम देवकोटा
सिन्धुलीमाढी, वैशाख १६ गते ।
सिन्धुलीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित काँग्रेसको सम्पर्क कार्यालय तोडफोडमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । यता काँग्रेसले तोडफोडमा नेकपा एमालेका कार्यकर्ताको संलग्नता रहको आरोप लगाएको छ ।

सडकमा हिँड्दै गरेका तोडफोडमा संलग्न शङ्कास्पद दुधौली नगरपालिका–१ र ४ का गरी दुई जनालाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार तोडफोडमा ती व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ भने प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

उक्त तोडफोडबाट काँग्रेसका सात जना कार्यकर्ता घाइते भएका छन् भने निर्वाचनको प्रचारमा प्रयोग गरिएका करिब एक दर्जन सवारी साधानमा क्षति पुगेको काँग्रेसका वडाध्यक्षका उम्मेदवार जितबहादुर भुजेलले जानकारी दिनुभयो ।

घाइते हुनेमा कमल भुजेल, रंजित कुँवर, सन्तोष भुजेल, पेशल भुजेल, सरोज धामी, मण्डु थापा र दिनेश धामी रहनुभएको छ । उहाँहरुको स्थानीय पोलिक्लिनिकमा उपचार गरी थप उपचारका लागि सिन्धुली पठाइएको भुजेलले जानकारी दिनुभयो ।

तोडफोडबाट निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका ना७ख ८८७० नम्बरको ट्रिपर, बोलेरो गाडी, आठ वटा मोटरसाइकलमा क्षति पुगेको छ ।