फडिन्द्र अधिकारी
लेखनाथ, असार १२ गते । भीमनिधि तिवारीको ‘सहनशीला सुशीला’ नाटक २००७ सालमै टिकट काटेर हेरेका पोखरेलीमाझ चाँडै ‘जिउँदो लास’ नाटक मञ्चन हुँदै छ । २०७४ सालमा खुलेको पोखरा थिएटरले विजय मल्लको चर्चित नाटक ‘साउन लाग्दै’ मञ्चन गर्ने तयारी गरेको छ । युवा नाटककार केदार पौडेलले ‘सपना डिलक्स कोच’ नाटक भर्खरै लेखिसक्नुभएको छ । उहाँ चाँडै यो नाटक मञ्चनको तयारीमा हुनुहुन्छ । ‘धनीरामको गोरु’ नाटक मञ्चन गरेका कलाकार शबु पाठकको समूह अहिले विभिन्न सम्मेलन, कार्यक्रममा सचेतनामूलक नाटक देखाइरहेको छ । अर्थात पछिल्लो दशकमा पोखरामा नाटक मञ्चनको क्रम बढेको छ ।
कुनै समय टोल टोलमा नाटक मञ्चन हुने पोखरामा दर्जनौँ नाटकका संस्था थिए । अहिले नाटकको सम्भावनालाई मूल्याङ्कन गरी कलाकार अनुप बराल पोखरामा नयाँ थिएटर बनाउँदै हुनुहुन्छ । ‘हंसध्वनि थिएटर’ मा नाटक मञ्चन र नाटक प्रशिक्षण सञ्चालन गर्ने उहाँको योजना छ । विसं १९९५ मा बडाहाकिम धनशमशेर राणाको पहलबाट उहाँकै दरबारमा नाटकहरू देखाइएको थियो । दरबारबाट सुरु भएको पोखरेली नाटकको मञ्चन अहिले व्यवस्थित नाटकघरसम्म आइपुगेको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तन नाटकघरको सात वर्षको अवधिमा थिएटर आफैँले दर्जनभन्दा बढी नाटक मञ्चन गरेको बताउनुहुन्छ । यो अवधिमा थिएटरमा एउटा अन्तर्राष्ट्रिय नाटक महोत्सव भएको छ भने एक राष्ट्रिय नाटक महोत्सवसँगै भएको छ ।
नियमित रूपमा रङ्गमञ्चको प्रशिक्षणसमेत दिँदै आएको पोखरा थिएटरले पाँच वटा विद्यालय नाटक महोत्सव आयोजना गरेको छ । पछिल्लो समय पुराना कलाकारसमेत रङ्गमञ्चमा फर्किनुभएको छ । सरुभक्तले अढाई दशकपछि परिवर्तनसँग मिलेर नयाँ नाटक ‘बाकस’ निर्देशन गर्नुभयो भने प्रकाश घिमिरेको निर्देशनमा चार वटा नाटक मञ्चन भएका छन् ।
पोखराको नाटक ३० को दशकमा निकै उन्नत थियो । ३० को दशकपछि अहिले पोखरेली नाटक निकै सक्रिय देखिएको छ । पछिल्लो दशकमा पोखरेली नाटकलाई पुनर्जागरण गर्ने श्रेय भने नाटककार/निर्देशक कृष्ण उदासीलाई जान्छ । उहाँको लेखन तथा निर्देशनमा ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ मञ्चन भएपछि पोखरामा युथ क्रियसन थिएटर, इन्द्रेणी थिएटर, पोखरा थिएटर जस्ता समूह सक्रिय बनेका हुन् ।
समय र प्रविधि परिवर्तन भए पनि रङ्गकर्मीको अवस्थामा भने खासै भिन्नता आएको छैन । रङ्गमञ्चमा अभिनय गर्ने कलाकारले खाजा खर्चबाहेक पारिश्रमिक पाउने अवस्था छैन । पोखरा थिएटरका अध्यक्ष परिवर्तन भन्नुहुन्छ, “हामीले नाटकमा आउँदा जाँदा लाग्ने गाडीभाडा, खाजा खर्चबाहेक कलाकारलाई पारिश्रमिक दिन सकेका छैनौँ । थिएटर नै अरू विभिन्न स्रोतबाट टिकाउनुपरेको छ ।” नाटककार उदासीको विचार भने उहाँको भन्दा फरक छ । “त्यो बेला कलाकार, निर्देशक, लेखकलाई पैसा दिइँदैनथ्यो, अहिले पनि खासै दिइन्न । प्राविधिकलाई भने पैसा दिइन्थ्यो,” उहाँ भन्नुहुन्छ, “यो व्यावसायिक कुरा मात्र होइन, सांस्कृतिक धरोहर हो । नाटकको संरक्षण र प्रवर्धन गर्नु सबैको दायित्व हो ।”