• १२ असोज २०८१, शनिबार

ज्येष्ठ र अशक्त नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन समस्या

blog

शारिरीक अशक्त सेवाग्राही सामीदयाल चमारलाई प्रशासन कार्यालयको ढोका अगाडि सेवा प्रदान गर्दै कर्मचारी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असार ४ गते ।
 बाँकेको खजुरा गाउँपालिका वडा नं. २ एल गाउँका ६१ वर्षीय शेरबहादुर बुढा प्यारेलाइसिसको रोगी हुनुहुन्छ । उहाँ उठबस गर्न, हिँडडुल गर्न तथा बोल्नसमेत सक्नुहुन्न । शुक्रबार करिब १२ः३० बजे बुढा जिल्ला प्रशासन कार्यालय बाँकेको ढोका अगाडि भुईँमा सुतेको अवस्थामा हुनुहुन्थ्यो ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि बुढालाई उहाँकी श्रीमती र बुहारी मिलेर गाउँबाट अटो रिजर्भ गरेर जिल्ला प्रशासन कार्यालय बाँकेमा ल्याउनुभएको हो । “बुहारी र म मिलेर गाउँबाट बिहानै अटो बुक गरेर परिचयपत्र बनाउनका लागि श्रीमानलाई यहाँ लिएर आयौँ, श्रीमानलाई प्यारेलाइसिस रोग छ, हिँड्न, बस्न, उठ्न तथा बोल्नसमेत सक्नुहुन्न ।” बुढाकी श्रीमती चन्द्रकला बुढाले भन्नुभयो, “बुहारी कागजपत्र बोकेर कता कता दौडिरहेकी छे, म श्रीमानलाई समातेर यहिँ बसेको छु, अहिलेसम्म काम भएको छैन ।”

श्रीमानलाई ७–८ वर्ष अगाडि प्यारेलाइसिस भएको र बोल्नसमेत नसक्ने अवस्थामा पुग्नुभएको उहाँले बताउनुभयो । “७–८ वर्ष अगाडि प्यारेलाइसिस भयो, शरीर पुरै नचल्ने अवस्थामा पुग्यो, दिशापिसाब एकै ठाउँमा हुन्छ, म एक जना चौबिसै घण्टा धरालो बस्नुपर्छ, बोल्नसमेत सक्नुहुन्न ।” उहाँले भन्नुभयो, “प्यारेलाइसिस भएपछि सरकारले अपाङ्ग भत्ता दिन सुरु ग¥यो, भत्ताका लागि अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य गरायो, बनाउनका लागि विवरण भर्न र लिनका लागि आफैँ आउनुपर्ने भनेर भन्यो, यहाँ आउँदा भिडभाड मात्र छ, छिट्टै काम भएको छैन, सारै दुःख पाइयो ।”

उहाँले त्यति टाढाबाट जिल्ला प्रशासन आएर टोकनका लागि लाइन लाग्नुपर्ने, टोकन पाएपनि पालो कुर्नुपर्ने तथा समयमै पालो नपाउने गुनासो गर्नुभयो । सरकारले वडा कार्यालयबाटै परिचयपत्र बनाउने र पाउने व्यवस्था गरिदिए जनताले यस्तो सास्ती नपाउने उहाँले बताउनुभयो ।

अर्का सेवाग्राही पनि प्रशासन कार्यालयको ढोकाकै अगाडि भुईँमा सुतिरहनु भएको भेटिनुभयो । खजुरा गाउँपालिका वडा नं. ५ उढरापुरका ७० वर्षीय सामीदयाल चमारलाई उहाँकी बुहारीले परिचयपत्र बनाउनका लागि प्रशासन कार्यालय ल्याएर आउनुभएको हो । उहाँ पनि प्रेसरको दीर्घरोगी हुनुहुन्छ र भुईँमा बस्नसमेत सक्नुहुन्न ।

“ससुरालाई प्रेसर रोग छ, भुईँमा बस्न सक्नुहुन्न, सुताउनुपर्छ, हिँड्न सक्नुहुन्न, समातेर हिँडाउनुपर्छ, उहाँको परिचयपत्र बनाउनका लागि आएको, उहाँको नागरिकता पुरानो थियो केही बिग्रेको रहेछ, त्यो नागरिकताबाट भएन, अर्को नागरिकता (प्रतिलिपि) बनाउनुपर्ने भयो र नागरिकता बन्दैछ ।” चमारकी बुहारीले भन्नुभयो, “अब नागरिकता बनेपछि परिचयपत्र बनाउने हो ।”

वृद्धवृद्धा, अशक्त, गर्भवती तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई कसैले पनि नहेरेको र आफूले अत्यन्तै दुःख पाएको उहाँको गुनासो छ । चमारलाई सरकारले वृद्धभत्ता दिइरहेको र भत्ताका लागि परिचयपत्र अनिवार्य भएपछि बनाउन आएको उहाँले बताउनुभयो ।

बुढा र चमार मात्र होइन प्रशासक कार्यालयमा पछिल्लो केही दिनदेखि वृद्ध वृद्धा, अशक्त, महिला तथा शारीरिक अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूले परिचयपत्र बनाउनका लागि सास्ती भागिरहेको देख्न सकिन्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा आफैँले फोटो खिचाउनुपर्ने, बायोमेट्रिक गर्नुपर्ने र लिन पनि आफैँ आउनुपर्ने बाध्यताले गर्दा ज्येष्ठ तथा अशक्त नागरिक समस्यामा पर्ने गरेका छन् ।

सरकारले आर्थिक वर्ष ०८१/८२ देखि सामाजिक सुरक्षा भत्ता तथा पेन्सन पाउनका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरेपछि प्रशासन कार्यालयमा परिचयपत्र बनाउन विवरण सङ्कलन गर्नेहरूको भिडभाड बढिरहेको छ । सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयसँगै बाँके प्रशासनमा पछिल्लो केही दिनदेखि सेवाग्राहीको अत्यधिक भिड लाग्ने गरेको छ । आगामी आर्थिक वर्षदेखि परिचयपत्र बिना भत्ता रोकिने चिन्ताले जिल्लाका दूरदराजबाट वृद्धवृद्धा आउने गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता पाउनका लागि पुरानो नागरिकताका अक्षरहरू नबुझिने तथा सिस्टमले नलिने हुँदा नयाँ प्रतिलिपि बनाउनुपर्ने र नयाँ बनाएको प्रतिलिपिबाट मात्रै परिचयपत्रका लागि विवरण भर्न मिल्ने तथा विवरण सङ्कलन गर्न र परिचयपत्र लिन पनि आफै आउनुपर्ने हुनाले वृद्धवृद्धा तथा अशक्त नागरिकले दुःख पाउनुपरेको हो ।

बाँके प्रशासनको परिचयपत्र शाखाका कम्प्युटर अपरेटर यमबहादुर शाहीले पहिला पहिला दैनिक ८०–९० जनासम्म परिचयपत्रका लागि विवरण सङ्कलन गर्न आउने गरेतापनि हालभने दैनिक ३०० बढी सेवाग्राही विवरण सङ्कलनका लागि आउने गरेको बताउनुभयो ।

परिचयपत्र बनाउन आउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विभागले पाँच जना थप कर्मचारी जिल्लामा पठाएको उहाँले जानकारी दिनुभयो । पाँच जनामध्ये दुई जना इलाका प्रशासन कार्यालय कोहलपुर र एक जना जिल्लामा खटिइसकेको र एक जना नरैनापुर र एक जना जानकी गाउँपालिकामा खटिइने जानकारी दिनुभयो ।

बाँकेका प्रजिअ खगेन्द्रप्रसाद रिजालले सेवाग्राहीको अत्यधिक चापलाई कम गर्न र सेवाग्राहीलाई घर नजिकैबाट सेवा प्रदान गर्नका लागि जिल्लाका विभिन्न स्थानीय तहबाट सेवा प्रवाह गर्न लागेको जानकारी दिनुभयो । “भिड व्यवस्थापन र सेवाग्राहीलाई पाई पर्नेगरी अब तत्काल स्थानीय तहबाटै सेवा विस्तार गर्दैछौं ।” प्रजिअ रिजालले भन्नुभयो, “कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट गरी जिल्लामा पाँच वटा स्टेसनबाट सेवा प्रवाह गर्दैछौं ।”

उहाँका अनुसार हाल जिल्ला प्रशासन र इलाका प्रशासन कोहलपुरबाट गरिँदै आएको विवरण सङ्कलनको कार्य अब भने विस्तार गरी कोहलपुर नगरपालिकाको वडा नं. ११ को कार्यालय, जानकी र नरैनापुरको गाउँपालिका भवनबाटै सेवा प्रदान गरिनेछ । स्थानीय तहका स्टेसनबाट सेवा प्रदान गर्दा भिडभाड घट्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा बिहान ९ः३० देखि साँझ बजेसम्म सेवाग्राहीलाईलाई सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । गर्भवती महिला, वृद्धवृद्धा, शारीरिक अशक्त, शारीरिक अपाङ्गता, तथा ज्येष्ठ नागरिक र काखे बालबालिका भएका महिलाहरूलाई टोकन लिनुपर्ने, लाइन लाग्नु नपर्ने गरी सेवा प्रदान गरिरहेको उहाँको भनाइ छ ।

नेपालगन्जको अत्यधिक गर्मी, त्यसमाथि घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यताका कारण सेवाग्राही समस्यामा परेको बताउँछन् । घुम्ती टोली बनाएर गाउँगाउँमा गएर सेवा प्रदान गर्नुपर्ने उनीहरूको माग रहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बाँकेसहित देशका २८ जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सेवाग्राहीको भिड बढेको हो ।