• १४ असार २०८१, शुक्रबार

बाह्रबिसे नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

blog

बाह्रबिसे नगरपालिकाको १५ औं नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै प्रमुख बालकृष्ण बस्नेत । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, असार ८ गते । 
बाह्रबिसे नगरपालिकाले २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । नगरप्रमुख बालकृष्ण बस्नेतद्वारा प्रस्तुत १५ औँ नीति तथा तथा कार्यक्रमले स्थानीय जनताका घरदैलोमा स्थानीय सरकार रहेको प्रत्याभूति दिने गरी काम सञ्चालनमा रहेको बताउनुभएको छ ।

नगरका सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, कक्षा ८ सम्म दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल सञ्चालनार्थ आवश्यक कार्यहरू अघि बढिरहेको नगरप्रमुख बस्नेतले कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

कृषि तथा पशुपालन तर्फ नौ वटै वडामा एक वडा एक फलफूल तथा तरकारी पकेट कार्यक्रम गर्ने, हिमाली आलु, उत्पादन, ट्राउट माछापालन प्रोत्साहन, चौँरी संरक्षण, कृषकको उत्पादनलाई नगरले सङ्कलन गरी बिक्री वितरण, रैथाने बालीअन्तर्गत कोदो, जौ, फापर, भटमास, मास, घैया संरक्षण र प्रवर्द्धनमा गर्ने प्रमुख बस्नेतले नीति तथा कार्यक्रममा समेट्नु भएको छ ।

बालमैत्री स्थानीय शासन अवलम्बन, क्षमादेवी पदमार्ग, महिला, बालबालिका, अपाङ्गता भएका नागरिकहरूमा विशेष कार्यक्रम, मनसुनजन्य विपद् व्यवस्थापन र विपद्बाट घरबास विहीन परिवारलाई आवास पुनर्निर्माण, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, न्यायमा सरल, सहज पहुँच पुग्ने कार्यक्रम, दलित समुदायको ज्ञान, सीप, पेसालाई आधुनिकीकरण र उद्योगको रूपमा विकास प्रोत्साहन, ज्येष्ठ नागरिकका ज्ञान, सीप अनुभव पुस्तान्तरण सम्मान, स्थानीय स्तरका खेलकुद प्रोत्साहन, बाँझो जमिनमा एकीकृत कृषि प्रणालीमार्फत सामूहिक खेती खेतीको विकास, बाह्रबिसे बजारमा सिसिटिभी जडान, चिया, कफि, अ‍ैलैची, सुन्तला उत्पादनका लागि कृषकलाई उत्प्रेरणा कार्यक्रम, स्थानीय सडक निर्माणमा ढलानमा पलामे डण्डीको प्रयोगलाई निरुत्साहित योजना, पर्यटकीय स्थलको पहिचान र पर्यटक आगमनका कार्यहरू, पारदर्शी र सुशासनमैत्री सेवा प्रवाह, फोहोरमैला बिर्सन केन्द्र, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण लगायतका कार्य गर्ने गरी नीति तथा कार्यक्रममा समेटिएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै, उपप्रमुख मञ्जु तामाङले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको उपलब्धिको समीक्षा गर्नुहुँदै आ.व. २०८१/०८२ को बजेट वक्तव्य प्रस्तुत गर्नु भएको छ । आगामी बजेटको शैक्षिक, स्वास्थ्य र आर्थिक विकास, कृषि पशुपालन, पर्यटन, लघु, घरेलु उद्योग प्रवर्द्धन, अधुरा योजनाहरू सम्पन्न गर्ने, सार्वजनिक सेवा तथा क्षमता विकास, युवा तथा खेलकुद, लक्षित वर्ग उत्थानमा बजेटको प्राथमिक क्षेत्र रहेको उपप्रमुख तामाङले बताउनुभएको छ ।

२०८१/०८२ का लागि सङ्घीय वित्तीय समानीकरण अनुदान १३ करोड ४३ लाख, सङ्घीय शर्सत पुँजीगत २३ करोड ६१ लाख ५९ हजार, सङ्घीय शर्सत पुँजीगत ९६ लाख, सङ्घीय राजस्व बाँडफाँट नौ करोड ९१ लाख, प्रदेश समानीकरण अनुदान एक करोड ४० लाख ५९ हजार तीन सय, प्रदेश शर्सत तीन करोड १८ लाख १२ हजार, सङ्घीय विशेष अनुदान ८० लाख, मध्यभोटेकोशी प्रभावित क्षेत्र विकास कार्यक्रम एक करोड ६ लाख, आन्तरिक राजस्व एक करोड ९७ लाख, जम्मा आयतर्फ ६२ करोड ५५ लाख तीन सय रुपियाँको अनुमानित आयको उपमेयर तामाङले बजेट प्रस्तुत गर्नु भएको छ ।