• १९ जेठ २०८२, सोमबार

दिखुवा खोलामा मोटरेबल पुलको शिलान्यास

blog

दिखुवा खोला मोटरेबल पुलको शिलान्यास गर्नुहुँदै भौतिक पूर्वाधार एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राई।

राजकुमार भट्टराई

खोटाङ, जेठ १७ गते। खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ। दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने पक्का भएको हो। दिखुवा खोलामा मोटरेबल पुल निर्माणको लागि जेठ १७ गते शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गर्नुभएको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान आवतजावत ठप्प हुने गरेको छ। दिखुवा खोलामा मोटरेबल पुल निर्माण गरेर सडकको स्तरोन्नति गर्ने हो भने दिक्तेलबाट पूर्वी तराईका जिल्ला आवजावत गर्न छोटो र सहज हुने छ। 

प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय गाईघाटको साझेदारीमा दिखुवा खोलामा  मोटरेबल पुल बन्न लागेको हो। पुल निर्माणका लागि करिब पाँच करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको अनुमान छ। 

ट्रष्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग एकाइ इटहरीले उपलब्ध गराउने छ। उक्त पुलका लागि करिब दुई करोड बढीको स्टिल ट्रस्ट तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग एकाइ इटहरीका प्रमुख सूर्यनारायण चौधरीले बताउनुभयो। 

केही महिना भित्र टेन्डर फाइनल गरेर बाँकी पुल निर्माणको काम सुरु हुने मन्त्रालका प्रदेश सचिव अशोककुमार साहले बताउनुभयो। गत फागुनबाट दिखुवा खोलामा पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्री राईले पहल सुरु गर्नुभएको थियो। 

कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटर गरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ। निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ। 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको घर्तीभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभिरसम्म ट्रयाक खोलिएको छ। घर्तीभिरमा ठुलो चट्टान भएकाले हाल जोड्ने काम भइरहेको छ। निर्माणाधीन सडकलाई विकल्पका रूपमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको छ। सिधा सडक यहि वर्ष जोडिने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभएको छ। 

दिखुवा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने स्थानीय व्यवसायी बताउँछन्।