विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस १२ गते । सप्तरी प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ तोपा बजारबाट शुक्रबार ब्राउनसुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले प्र.१-०४-००१ ज ००४५ नम्बरको गाडी चेक जाँच गर्नेक्रममा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ चुम्मा डाडा घर भई हाल विराटनगर महानगरपालिका ४ जामुनगाछी बस्ने ३२ वर्षीय अनुरोध निरौलाको साथबाट २०५.८ ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
निरौलासँगै गाडी चालक विराटनगर १७ रानीटोल बस्ने ३७ वर्षीय रजप आलम र सोही ठाउँका वडा नम्बर ४ जामुन गाछी बस्ने २१ वर्षीय निकेश कुमार शर्मालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
पक्राउ पर्नुभएको तीनैजना उपर लागुऔषध कारोबार ऐन अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।