• १८ जेठ २०८२, आइतबार

डिजिटल पत्रकारिता शिक्षाबारे संवाद

blog

क्यामेरा भवन बल्खुमा आयोजित कार्यक्रमका सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १६ गते । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार तथा पत्रकारिता विभागले एक दिवसीय सञ्चार शिक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा डिजिटल पत्रकारिता प्लेटफर्म र यसको महत्वबारे संवाद गरिएको हो । 

क्यामेरा भवन बल्खुमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले कुनै समय छापा, टेलिभिजन, रेडियोको समय भए पनि अहिले डिजिटल पत्रकारिताको समय आएको बताउनुभयो । उहाँले विश्वविद्यालयको कोर्सलाई परिमार्जनको खाँचो औल्याउनुभयो । पत्रकारितामा एआईले प्रभाव पारेको भन्दै त्यसको सकारात्मक सहयोग लिनुपर्ने चर्चा गर्नुभयो । 


आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्यालले कार्यक्रमले अहिलेको मिडिया ट्रेन्ड र डिजिटल शिक्षाबारे जानकारी गराउने विश्वास व्यक्त गर्नुभयो । पत्रकारितामा नयाँ प्रविधि भित्रिएसँगै चुनौती र अवसरहरु सँगसँगै आएकाले यस्तो छलफलको महत्व हुने उहाँले चर्चा गर्नुभयो । 

कार्यक्रममा डा. भानुभक्त आचार्यले दक्षिण एसियाको सञ्चार साक्षरताबारे प्रस्तुति गर्नुभएको थियो । अहिलेको युग नै प्रविधियुक्त भएकाले सोअनुसार ज्ञान लिने र साझेदारी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

कार्यक्रममा सहकायक डिन डा. बामदेव अधिकारी, बंगलादेशकी प्राध्यापक सिडा साडिया मेहाज्वीन, सहायक प्राध्यापक डा. शशी मरासिनी, डा. श्रीराम खनाल, मदन भण्डारी कलेज पत्रकारिता विभागका प्रमुख यमबहादुर दुरा, सेन्ट जेभियर्स कलेज विभागका प्रमुख चुनबहादुर गुरुङले प्रस्तुति गर्नुभएको थियो । 


सोहीअनुसार आमसञ्चार तथा पत्रकारिता विभागका सहायक प्राध्यापक डा. श्रीराम पौडेल, डा. घमराज लुइटेल, डा. ऋषिकेस दाहाल, डा. देवराज अर्याल, भारतका प्राध्यापक कुलभीन ट्रेहान लगायतले पत्रकारिता शिक्षासँग सम्बन्धित फरक फरक शीर्षकमा प्रस्तुति गर्नुभएको थियो । 

संवाद कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययरत विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो ।