• १८ जेठ २०८२, आइतबार

मौसमी चेतावनीप्रति सतर्कता

blog

‘पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध । दाउन्नेमा सडक भासियोः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध । कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न सुझाव । बाढीका कारण अवरुद्ध मेची राजमार्ग १२ घण्टापछि खुल्यो ।’ पछिल्ला दिनमा एकझर पानी पर्नेबित्तिकै देशभरबाट आएका समाचारका केही शीर्षक हुन् यी । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेका कारण सबै जसो प्रदेशमा धेरथोर पानी परिरहेको छ । 

नेपालको  पूर्वी भूभागबाट मनसुन सुरु भएको छ ।  मौसमविद् र विश्व मौसम विज्ञान सङ्गठनले समेत आगामी मनसुनमा नेपाल र नेपाललगायत दक्षिण एसियामा औसतभन्दा डेढ गुणा बढी वर्षा हुने पूर्वानुमान गरिसकेका छन् । दुई सातायता देशभर कतै हल्का त कतै भारी वर्षा भइरहेको छ, जुन मनसुनअघिको वर्षा हो । 

मनसुन अवधिमा जस्तै घनघोर पानी लगातार परेको छैन तर पनि पानी पर्नासाथै देशकै ‘लाइफलाइन’ मानिने मुख्य राजमार्ग अवरुद्ध हुन थालिहाल्छन् । सबैभन्दा धेरै गाडीको चाप रहने बुटवल–नारायणगढ सडकखण्डको दुम्कीबासदेखि बर्दघाटसम्मको दाउन्ने क्षेत्र सबैभन्दा जोखिममा छ । हल्का पानी पर्न थाल्दासमेत विस्तार कार्यले धुलाम्मे बाटो हिलो हुन थाल्दा साना ठुला सवारी चिप्लिन थाल्छन् । अलि ठुलो पानी पर्दा सडक बन्दै गर्नुपर्ने अवस्था छ भने पहिरो जानु र भासिनु त यो सडकको विशेषता नै भइहाल्यो । 

मध्यम वर्षा भएको दिन यो सडकखण्ड अवरुद्ध नभएको दिन नै हुँदैन । विनयी खोलाको पुल ओभरलोड ट्रकले भाँचेपछि नदीमा बनाइएको अस्थायी डाइभर्सन आगामी मनसुनमा खोला उर्लन थालेपछि स्वतः बन्द हुने हुँदा यस सडकको हाल के हुने हो यसै भन्न सकिन्न । यो राजमार्गको भर नभएपछि बुटवलबाट पाल्पा हुँदै कालीगण्डकी करिडोर भएर नवलपुरको गैँडाकोट आउने बाटोले अहिलेसम्म भरथेग गरेको छ । सुक्खा पहिरो खस्ने खण्डमा पानी पर्नेबित्तिकै बाटो अवरुद्ध हुने नियतिले मनसुनमा यो करिडोर पनि पश्चिम भेगबाट आउने सवारीका लागि दाउन्नेको गतिलो विकल्प बन्ने अवस्था छैन । 

सङ्घीय राजधानीलाई बाहिरी जिल्लासँग जोड्ने सबै जसो सडकखण्डलाई हालको प्री मनसुनी वर्षाले दिनहुँ जसो हैरान बनाएको छ । हेटौँडासँग काठमाडौँ जोड्ने कान्ति लोकपथ पानी पर्ना साथै बन्द हुने र पानी बन्द भएपछि जसोतसो सञ्चालनमा आउने क्रम चलिरहेको छ । काठमाडौँलाई जोड्ने प्रमुख राजमार्ग नौबिसे–मुग्लिन सडकखण्ड विस्तारको कामले गर्दा बाह्रैमास अस्थिर छ, जहाँ अलि ठुलो पानी पर्ना साथ कहाँ पहिरो खस्छ र कति बेला सवारी ठप्प हुन्छ भन्ने ठेगानै छैन । 

यो मार्गको अस्थिरता त गत वर्ष मनसुन सकिएपछि आएको दुई दिने घनघोर आरिघोप्टे वर्षाबाट झ्याप्ले खोलामा खसेको पहिरो र त्यसमा गाडी पुरिँदा भएको जनधनको क्षति सम्झे पुग्छ । फर्पिङ–दक्षिणकाली हुँदै हेटौँडा जोड्ने र चन्द्रागिरी–चित्लाङ हुँदै हेटौँडा जोड्ने बाटो पनि निर्बाध सञ्चालन हुने भनेकै मनसुन सुरु हुनुभन्दा अघिसम्म मात्रै हो । 

उपत्यकालाई पूर्वी क्षेत्रसँग जोड्ने छोटो र भरपर्दो मानिएको बिपी राजमार्ग आफैँ सङ्कटमा छ । गत वर्ष मनसुनपछिको दुईदिने वर्षाले बाटो नै बगाएपछि बनाइएको नदी किनारको बाटो हुँदै गुड्ने सवारीलाई आकाशमा कालो बादल मडारिँदा तर्सिनु पर्ने अवस्था छ । मनसुनी वर्षा हुँदा यो बाटो ठप्प नै हुन्छ । बचेखुचेको बाटो पनि बर्सातको बेला कुन बेला कता भत्किन्छ र सवारीको दशा के हुन्छ यसै भन्न सकिन्न । 

हेवा खोलाको पुल बगेका कारण पछिल्लो दुई वर्षदेखि मेची राजमार्ग पानी पर्दा जुनसुकै बेला ठप्प हुने र पुनः सञ्चालनमा आउने भइरहेको छ । प्रि मनसुनी वर्षाले समेत १२/१२ घण्टा अवरुद्ध हुने यो राजमार्गको दशा अबको मनसुनमा औसतभन्दा धेरै पानी पर्दा के होला भनेर जो कोहीले सहजै अनुमान गर्न सक्छ । 

देशभरका विभिन्न पहाडी भेग भएर बनाइएका धेरै जसो राजमार्ग हरेक बर्सातमा पानी पर्दा पहिरो गएर वा भासिएर अवरुद्ध हुनु र घाम लाग्दा चल्नु नियमितता नै हो । यसबारे स्थानीय बासिन्दादेखि सरकारसम्म सबै जानकार नै छन् तर दशकौँदेखि नयाँ हुन् वा पुराना सबै राजमार्गले भोग्नु परेको नियति आजपर्यन्त फेरिएको छैन । 

हरेक वर्ष मनसुन सुरु हुनुभन्दा अगाडि मौसम पूर्वानुमान महाशाखाले नेपालका लागि र विश्व मौसम विज्ञान सङ्गठनले विश्वका लागि मनसुनी अवधिमा पर्ने पानी र रेकर्ड हुने तापक्रमको अग्रिम प्रक्षेपण गर्छन् । तिनीहरूको पूर्वानुमान मिल्छ पनि, पूर्वजानकारी हुँदाहुँदै पनि बर्सेनि मनसुनी प्रकोपको क्षति कम गराउन नसक्नुका पछाडि हामी बेलैमा पाएको मौसमी चेतावनीप्रति संवेदनशील भएनौँ कि भन्नेतर्फ ध्यान दिन जरुरी छ । मौसमी चेतावनी, पूर्वानुमान वा प्रक्षेपणप्रति संवेदनशील भइएन भने के हुन्छ भन्ने गतिलो उदाहरण गत वर्षको दुईदिने वर्षाले दिइसकेको छ । जसले गत वर्ष असोजमा सँघारमै आइसकेको बडादसैँको तयारी गर्दै गर्दा देशैभरको जनजीवन अस्तव्यस्त बनाएको थियो । 

दसैँको मुखैमा २०८१ असोज ११ र १२ गते देशैभर भारी वर्षा हुने मौसम पूर्वानुमान अनुसार सरकारले पहिरोको उच्च जोखिममा रहेका हिमाली र पहाडी ४२ जिल्लामा रात्रि बस चलाउन रोक लगायो । यसका बाबजुद पूर्वानुमानको बेवास्ता गर्दै हिँडेका दर्जनौँ साना ठुला सवारीसाधन दुर्घटनामा परे ।

धादिङको झ्याप्लेखोलामा गाडी पुरिए, बिपी राजमार्ग भत्कियो, काठमाडौँ उपत्यका भित्रिने सबै राजमार्ग अवरुद्ध भए, दुई दिनको घनघोर वर्षाले २०० जनाभन्दा बढी मानिसको मृत्यु भयो, सबै जसो राजमार्ग तहसनहस भए, सयौँ संरचना ध्वस्त र जनजीवन अस्तव्यस्त बन्यो । 

दैनिक २० हजार सवारी ओहोर गर्ने पृथ्वी राजमार्गको काठमाडौँ–मुङलिन ११० किलोमिटर सडकखण्डमा ५०० भन्दा बढी ठाउँमा पहिरो खस्यो । देशभरका ५८ वटा सडक राजमार्ग ठप्प भए । सङ्घीय राजधानी छिर्ने सबै नाका ठप्प हुँदा दैनिक उपभोग्य अत्यावश्यक सामग्री भित्रिन सकेनन् । सरकारले ४१ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु प¥यो । 

उक्त घटनाले मौसम पूर्वानुमानको संवेदनशीलतासँगको खेलबाडसँगै देशैभरिका मुख्य र सहायक राजमार्ग, अहिलेसम्म बनेका पुल र सडक कत्तिको जोखिम आकलन गरेर बनाइएको रहेछ भन्ने पनि उदाङ्गो पारिदियो । गत वर्ष नै असार २८ गते चितवनको सिमलतालमा दुई वटा बस एकैसाथ नदीमा बेपत्ता भएको समाचार आउनुअघि देशैभर यो वर्षायाममा पहिलेभन्दा धेरै पानी पर्ने भन्ने मौसमविद्को चेतावनीलाई धेरैले गम्भीर रूपमा लिएका थिएनन् । जब एकाएक खासै जोखिम क्षेत्र भनेर मार्किङ नगरिएको ठाउँमा लगातारको पानीले लेदो थुप्रिएर दुई ठुला बस बगाएर त्रिशूलीमा डुबायो र ६० जनाभन्दा बढीको ज्यान गुम्यो तब हरेकका कान ठाडा भए । 

भइसकेका यस्ता घटना धेरै कुरा सिक्न सकिने गतिला पाठ हुन् । तिनीहरूले मौसमी चेतावनीसँगै अपनाउनुपर्ने सावधानी र प्रकोप आइसकेपछिको उद्धारसम्ममा के कसरी अघि बढ्नु पर्छ भन्ने विषयको मार्ग निर्देशन गर्छन् । 

यस वर्ष त अवस्था अझै भयावह देखिँदै छ । मनसुनी अवधिको जस्तो छनक दिने वर्षा र राजमार्ग ठप्प हुने काम प्रि मनसुनमा भइरहेको छ । मौसमविद्ले नेपालमा आगामी मनसुनमा औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिसकेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार, पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एलनिनो’ सहितको ‘इएनएसओ’ र हिन्द महासागरमा विकसित हुने ‘इओडी’ प्रणाली आगामी मनसुन अवधिभर सक्रिय रहने छ । जसका कारण आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन अवधिमा नेपालमा धेरै जसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । 

प्रदेशगत आधारमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तरी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । 

मधेश प्रदेशको पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । गत वर्षको र पछिल्ला मनसुनमा भन्दा यो वर्षको मनसुनमा पानी धेरै पर्छ । दुई/तीन दिनकै वर्षाले तहसनहस हुने हाम्रा पूर्वाधार धेरै पानी पर्ने भएपछि झनै बढी जोखिममा पर्ने छन् । यसको सानोतिनो कास्टिङ अहिलेको प्रि मनसुनका घटनाले समेत देखाइरहेका छन् । 

यसर्थ, मौसमी पूर्वानुमानका चेतावनीलाई सरकार र सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनु पर्छ । आगामी मनसुनको जोखिम आकलन गर्दै तत्कालका लागि उद्धार र राहत अनि दीर्घकालीन रूपमा भविष्यका विपत् जोखिम आकलन गरेर त्यसलाई थेग्न सक्ने बलिया, दिगो र दीर्घकालीन संरचना निर्माण वा पुनर्निर्माणमा सरकारको ध्यान जान जरुरी छ । 

क्षति भइसकेपछि क्षतिको लेखाजोखा गरेर पछुताउनुको विकल्प रहने छैन । निर्जीव मनसुन र प्राकृतिक प्रणालीको आवाज बेलैमा सुनौँ । आगामी मनसुनी प्रकोप व्यवस्थापनमा बेलैमा चनाखो रहौँ । यसतर्फ सर्वसाधारण, सम्बन्धित निकाय र सरकार सबैको ध्यान जानु आवश्यक छ ।