• १२ साउन २०८१, शनिबार

पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत

blog

पोखरा, वैशाख १५ गते । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौको लगानी पनि गरेका थिए । तर दुःखद पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो ।

यो महामारीले विश्वलाई नै असर गर्‍यो र सबै क्षेत्र तहसनहस भए भने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । यस क्षेत्रमा लगानी गरेका व्यवसायी पनि निराश हुन पुगे । विभिन्न चरणमा देखापरेको कोभिड–१९ यतिबेला खोपको सहजतासँगै निष्क्रिय हुँदै गएपछि पर्यटन क्षेत्र केही चलायमान हुन थालेको छ । यसैक्रममा नेपाल सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेपछि यहाँको पर्यटन क्षेत्र उत्साहित भएको छ । आन्तरिक पर्यटकको चहलपहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुग्ने विश्वास लिई यहाँका पर्यटन व्यवसायीले सरकारको यो निर्णयको स्वागत गरेका छन् ।
   
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुँदै आएको अवस्थामा हालै सरकारले गरेको साप्ताहिक बिदाको निर्णय स्वागतयोग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय नेपाली समाजमा देश घुम्ने बानीको विकास भएको छ । यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्नेछ ।” उहाँले विश्वका करिब एक सय बढी देशहरूमा यस खालको अभ्यास भएको जनाउँदै नेपालमा पनि यसले सकारात्मक नतिजा दिनेमा आफू आशावादी भएको बताउनुभयो ।

कोभिडपछि धेरै पर्यटकले मानसिक र शारीरिक स्फूर्तिका लागि प्राकृतिक र शान्त स्थानहरूको खोजी गर्दै घुमघाममा निस्कने प्रचलन बढिरहेको जनाउँदै यो विदाले घुम्न चाहनेहरूका लागि थप उत्साह प्रदान गर्ने उहाँको भनाइ छ । पोखरा आन्तरिक पर्यटकको रोजाइको सहर पनि भएकाले बिदासँगै आन्तरिक पर्यटक र विशेषगरी पारिवारिक घुमघामका लागि पोखरा आउने पर्यटक बढ्न सक्ने उहाँको अनुमान छ ।

पोखरा होटल सङ्घ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि सरकारको निर्णयले पर्यटन क्षेत्रका व्यवसायीलाई उत्साह थपेको बताउनुभयो । उहाँले कोभिड पछाडि आन्तरिक पर्यटकका कारण नै पोखराको पर्यटन क्षेत्र चलायमान बन्दै गएको र अझ दुई दिन बिदाले पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय शैक्षिक भ्रमणका लागि पोखरामा स्कुल र कलेजका विद्यार्थी, सहकारीकर्मीलगायत विभिन्न क्षेत्रबाट पोखरा आउनेको सङ्ख्या बढिरहेको छ । कार्यालयको काममा व्यस्त हुनेहरूलाई दुई दिनको ‘रिफ्रेसमेन्ट’का लागि घुम्ने अवसर प्रदान गरेको छ ।” सरकारले बिदासँगै देशभित्र घुमघाम गर्नका लागि पनि कर्मचारीहरूलाई प्रेरित गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

उहाँका अनुसार पोखराको लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन् । यहाँका होटलको क्षमता ४० हजार बढी बेड सङ्ख्या छ । पर्यटकीय होटलमा करिब रु चार खर्ब लगानी छ । पोखरामा पर्यटकको बसाइ औसत दुई दिन छ ।

त्यस्तै नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले देशदर्शन कार्यक्रम तथा हप्तामा दुई दिन बिदा दिने निर्णयले पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । आफूहरुले निकै पहिलेदेखि उठाइरहेको हप्तामा दुई दिन बिदालाई सरकारले सम्बोधन गरेको भन्दै यसलाई सकारात्मकरूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिदाले घुम्ने संस्कृतिमा विकास गर्छ, नाट्टाले यस विषयमा धेरै पहिलेदेखि नै विभिन्न फोरममा कुरा राख्दै आएको थियो, अहिले सरकारबाट निर्णय भएको छ र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन सकियो भने पर्यटन क्षेत्र थप चलायमान हुन्छ ।”

गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल गण्डकीका अध्यक्ष उदय सुवेदीले सार्वजनिक बिदाले नेपालको ग्रामीण पर्यटनमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । कामको चटारोबीच घुम्न निस्कँदा रमणीय प्राकृतिक स्थानको खोजी हुने त्यस ठाउँहरूमा रहेका घरवास (होमस्टे)मा पर्यटकको आगमन वृद्धि हुने उहाँको भनाइ छ ।  त्यसैगरी छोटा पदयात्रा प्रवर्धनमा पनि यस बिदाले सघाउ पु¥याउन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पोखराका विभिन्न १२ पर्यटनसम्बद्ध सङ्घसंस्थाको छाता सङ्गठन पोखरा पर्यटन परिषद्ले पनि यस निर्णयको स्वागत गर्दै विज्ञप्ति जारी गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९.३० बजेदेखि साँझ ५.३० बजेसम्म कार्यालय समय कायम रहने निर्णण गरेको हो । यो बिदाका समयमा सरकारी कर्मचारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारी पनि पोखरा घुम्न आउलान् भन्ने आशामा पोखराका पर्यटन व्यवसायी देखिन्छन् ।